बनेपा - दुर्लभ वन्यजन्तुमध्ये सालक (प्यांगोलिन) प्रजातिको संरक्षणमा दुई वर्षदेखि सक्रिय पनौती–११ बल्थलीका स्थानीय ‘सालक संरक्षित वडा’ बनाउने तयारीमा जुटेका छन्। आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक (चाइनिज प्यांगोलिन) र तामे सालक (इन्डियन प्यांगोलिन) नेपालमा मात्र पाइन्छ। नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो। अर्को पुस्ताले पनि कालो सालक देख्न पाओस् भनेर बल्थलीवासीले यसको संरक्षण थालेका हुन्।
‘हामीले कार्यक्रम सुरु नगर्दासम्म वनपाखामा सालक भेटिनासाथ यसको खबटा काम लाग्छ भन्दै गाउँलेले मारिहाल्थे। तर अहिले भेटिहाले पनि खबर गर्न थालेका छन्,’ समुदायमा आधारित सालक चोरीसिकार नियन्त्रण समितिका संयोजक विष्णुप्रसाद हुमागाईंले भने। समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइका वनजंगलमा सालक पाइने गरेको छ। अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने, मानवलाई हानि नगर्ने र इकोसिस्टमलाई चुस्त बनाउने जीव भएकै कारण यसको संरक्षणमा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले सघाउँदै आएको हो। मुख्य आहारा धमिरा भएको सालकले कमिलालगायत अन्य साना कीरा पनि खाने गर्छ। एउटा सालकले एक वर्षमा सरदर सात करोड धमिरालगायत कीराफट्यांग्रा खाने विज्ञहरूको भनाइ छ। हाल बल्थलीको पहाडी भूभाग र पाँचखालको सामुदायिक वनमा सालक संरक्षणको काम भइरहेको छ।
एक बेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको जन्मदर धेरै कम छ। जन्मिएका बच्चामा पनि ३० प्रतिशत मात्र बाँच्ने भएकाले प्राकृतिक रूपमै यसको संख्या घटेको विज्ञहरूको भनाइ छ।
‘मानिसलाई हानिनोक्सानी गर्ने कीराधमिरा प्राकृतिक रूपमै नियन्त्रण गर्ने भएकाले सालकलाई मानव समुदायका लागि हितकारी मानिन्छ। अझ बालीनालीमा लाग्ने धमिरा तथा कीराफट्यांग्रा खाई कीराको प्रकोप कम हुने र प्राकृतिक रूपमा जमिनको उर्वराशक्ति बढाउने भएकाले यसलाई कृषकको मित्रका रूपमा पनि लिने गरिन्छ,’ डिभिजनल वन अधिकृत बद्रीकुमार कार्कीले भने।
मानव र वन्यजन्तुलाई क्षति नगर्ने गुणैगुणले भरिएको जनावर सालक अन्यत्रका वनमा समेत दिनानुदिन संकटमा पर्न थालेकाले बल्थली र पाँचखालमा नमुनाका रूपमा सञ्चालित संरक्षण कार्यक्रमलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको कार्कीको भनाइ छ। ‘प्रदेश मन्त्रालयबाट प्राप्त सीमित बजेटले हाललाई दुई स्थानमा मात्र संरक्षणको काम गर्न सकिएको छ। बजेट आए आगामी कार्यक्रममा जिल्लाका सबैतिर जाने योजना छ,’ उनले थपे।
संरक्षण समितिले साविकको बल्थली गाविसमा रहेका १५ मध्ये आठवटा सामुदायिक वनमा सालक संरक्षणको कार्यक्रम जारी राखेको छ। यी समूहमा विश्वविद्यालयका विद्यार्थी तथा अनुसन्धानकर्तालाई सालकको अध्ययन गर्न लगाइन्छ। ‘काठमाडौं विश्वविद्यालयका विद्यार्थीको सहयोगमा अध्ययन गर्दै जाँदा अघिल्लो वर्षको तुलनामा चालू वर्षमा सालकको संख्या घटेको पायौं,’ उनले भने।
अध्ययनका क्रममा आठवटा सामुदायिक वन र आवादीबीचका क्षेत्रमा सालकका दुलाको अवलोकन गरिएको थियो। सो क्रममा पुराना दुलाको संख्या तीन सय २३ र नयाँको संख्या दुई सय १९ वटा मात्र भेटिएको हुमागाईंको भनाइ छ। बालीनालीमा बढ्दो विषादीको प्रयोगले कमिला, धमिराजस्ता सालकका मुख्य आहारामा कमी आएको छ। अर्कातर्फ वनजंगलमा हुने आगलागी तथा डढेलाले पनि सालकको संख्या घट्दै गएको पाइएको छ।
सालक संरक्षणको अभियान चलेकाले पनि पछिल्ला वर्षमा मानवीयभन्दा पनि प्राकृतिक कारणले सालकको संख्या घटिरहेको हुनसक्ने सहायक वन अधिकृत हेमबहादुर थापाको तर्क छ। जलवायु परिवर्तनलगायत कारणले सालकको आहारामा कमी आइरहेको छ। अर्कातिर एक बेतमा एउटा मात्र बच्चा जन्माउने सालकको बच्चाको जन्मदर धेरै कम छ। जन्मिएका बच्चामा पनि ३० प्रतिशत मात्र बाँच्ने भएकाले प्राकृतिक रूपमै यसको संख्या घटेको विज्ञहरूको भनाइ छ।
सालक पाइने क्षेत्रका बासिन्दाले कानुनको जानकारी नहुँदा झोलामा जिउँदै सालक बोकेर या खबटा लिएर हिँड्दा पक्राउ पर्ने क्रम बढेकाले संरक्षणसँगै कानुनको समेत जानकारी दिन थालिएको थापाको भनाइ छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार सालक मार्ने, खरिदबिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ। यसैबीच नेपालमा हालसम्म १२ जिल्लामा मात्र पाइने भनिएको सालक ४३ वटा जिल्लामा भेटिएको तथ्य सार्वजनिक भएको छ। वन तथा भूसंरक्षण मन्त्रालयमातहत ‘हरियो वन’ कार्यक्रमको सहयोगमा साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रले गरेको ‘राष्ट्रिय सालक सर्वेक्षण’ले यो तथ्य देखाएको हो।
प्रकाशित: ३ श्रावण २०७६ ०२:२८ शुक्रबार