१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीपहिराेले प्रदेश १ मा १६ काे ज्यान

विराटनगर - लगातारको वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। शुक्रबार र शनिबार दुई दिनमा प्रदेश १ मा मात्र कम्तीमा १५ जनाको मृत्यु भइसकेको छ भने १० जना बेपत्ता छन्। शनिबार रातिसम्म सप्तरी, धनुषा, सिरहा र महोत्तरीमा भने कुनै मानवीय क्षति भएको छैन। तर खोलानदीको बहाव बढ्दै जाँदा जोखिम भने निकै बढेको छ।

दमक संवाददाताका अनुसार झापामा बाढीले बगाएर मृत्यु हुनेको संख्या तीन पुगेको छ। शनिबार शिवसताक्षी नगरपालिका–१० का नौ वर्षीय सौगात न्यौपानेको बनियानी खोलाले बगाएर मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बालक शिवसताक्षी–५ सालमारास्थित फुपू निर्मला पौडेलको घरमा गएका बेला खोला छेउमा खेल्दै गर्दा चिप्लिएर खोलामा बगेका थिए। शुक्रबार दमकमा बेपत्ता भएकी संखुवासभा चैनपुर नगरपालिका–७ की ६ वर्षीया बालिका एलिजा न्यौपानेको शव शनिबार भेटिएको छ।

दमक नगरपालिका–१० स्थित मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी उनी शुक्रबार कल्भर्टको पानीमा डुबेर हराएकी थिइन्। त्यस्तै कमल गाउँपालिका–२ र शिवसताक्षी नगरपालिका–३ भएर बग्ने कमल खोलाको बाढीले बगाएर ल्याएको अवस्थामा शुक्रबार इलाम चुलाचुली गाउँपालिका–१ का ५० वर्षीय अञ्चल लावतीको शव फेला परेको थियो। भद्रपुर नगरपालिका–९ प्रणामीनगरस्थित हडिया खोला तर्ने क्रममा शुक्रबारदेखि बेपत्ता मेचीनगर नगरपालिका–१४ मजदुर बस्तीका ४५ वर्षीय सुफल हस्दा सतार अझै फेला परेका छैनन्।

भोजपुर संवाददाताका अनुसार रामप्रसाद राई गाउँपालिका–५ स्थित मानेभन्ज्याङमा पहिरोले घर पुरिएर एकै परिवारका आमा र दुई छोरा गरी तीनजनाको ज्यान गएको छ। शनिबार बिहान साढे ७ बजेतिर ४० वर्षीया मानकुमारी राई, उनका छोराहरू १७ वर्षीय शिवकुमार र १५ वर्षीय शक्तिकुमारको घटनास्थलमै मृत्यु भएको वडा सदस्य तथा छिमेकी जगत चौहानले बताए। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मानेभन्ज्याङ प्रहरी चौकीबाट परिचालित टोलीले घटनास्थलको सर्जिमिन मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अघि बढाएको छ। लगातारको वर्षाका कारण पहिरो जाँदा र घर पुरिँदा जिल्लामा मृत्यु हुनेको संख्या योसहित पाँच पुगेको छ।

इलाम संवाददाताका अनुसार तीन दिनयताको अविरल वर्षापछि बर्धरे खोलामा आएको बाढीले इलामको माई नगरपालिकाका तीन बालिकालाई बगाएको छ। स्कुलबाट घर फर्कने क्रममा माई–१ की १५ वर्षीया सुनीता साउदेन, त्यही वडा र उमेरका अन्य दुई बालिका आकृति लिम्बू र निशा सुनुवारलाई शनिबार बिहान ९ बजेतिर खोलाले बगाएको प्रहरीले जनाएको छ। माई–६ महमाईस्थित गोतामे स्कुलमा शुक्रबार परीक्षा सकेर शनिबार घर फर्केने क्रममा खोला तर्दा तीनैजना बगेका हुन्। सुनसरीका विभिन्न स्थानबाट शनिबार दुई सय ७७ घरपरिवार विस्थापित भएका छन्। उनीहरू नजिकैको विद्यालय र सरकारी कार्यालयमा आश्रय लिएर बसेका छन्। वर्र्षाले गर्दा सबैभन्दा बढी बर्जु गाउँपालिका क्षेत्रबाट विस्थापित भएका छन्।

लोहन्द्रा खोलामा आएको बाढीले बगाएर शनिबार मोरङमा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कटहरी गाउँपालिका–४ की शोभा सोरेन र जहदा गाउँपालिका–५ का आदर्श पोद्दार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। अविरल वर्षापछिको बाढीले बगाएर हालसम्म मोरङमा बेपत्ता हुनेको संख्या तीन पुगेको प्रहरीको भनाइ छ। बिहीबार मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित गेउरिया खोला तर्नेक्रममा मोटरसाइकलसहित एक युवा बेपत्ता भएका थिए। खोलाले बगाएर बेपत्ता भएकाहरूको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता राजकुमार खिउ“जूले जानकारी दिए। प्रहरीका अनुसार जिल्लामा हालसम्म ४ हजार २ सय ३७ जना विस्थापित भएका छन्। निरन्तर वर्षा भइरहेका कारण विस्थापितको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ। बाढीका कारण मोरङमा हजारभन्दा बढी घर डुबानमा परेका छन्।

दुई दिनअघि इटहरीमा पानीमा डुबेर बेपत्ता भएका एक युवाको शनिबार बिहान शव फेला परेको छ। उदयपुर घर भई इटहरी–५ मा ग्रिल फ्याक्ट्रीमा काम गर्दै आएका ३४ वर्षीय सागर थापा बिहीबार दिउँसो स्थानीय खोल्सामा डुबेर बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीरचन्द्र खरेलका अनुसार उनी डुबेको स्थानभन्दा सय मिटर दुरीमा शनिबार बिहान शव फेला परेको हो। उनी डुबेर बेपत्ता भएलगतैदेखि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।

सिरहा संवाददाताका अनुसार बुधबारदेखिको अविरल वर्षाले कमला नदीको पूर्वी बाँध भत्काउँदा सिरहाको सारश्वर, बेल्हा, गमहरिया, कठ्खोल्वा औरही गाउँपालिकाको कमलपुर, लहान नगरपालिका–१ स्थित मुसहरी टोल कल्याणपुर नगरपालिकाको पाँच हजार घर डुबानमा परेका छन्। महोत्तरीका पनि हजारौं घरपरिवार डुबानको समस्यामा परेका छन्। सप्तरीस्थित नागरिककर्मीका अनुसार सप्तकोसी, खाँडो, महुली, त्रियुगा र बलान नदीमा आएको भीषण बाढीले जिल्लामा दुई हजार बढी घर डुबानमा परेको छ भने घरबाटै बाढी बग्न थालेपछि १ हजार १ सय परिवार विस्थापित भएका छन्। भलुवाही खोलाको बाढीले राजविराज नगरपालिका–१२ का १५ घर बगाएको छ। बिहुल नदीमा आएको बाढीले बोदेबर्साइन नगरपालिकास्थित महनौरी गाउँका २० घर बगाएको छ भने खड्ग नगरपालिका–८ स्थित बिसनपुर मानराजा सडकमा कटान गरेको छ।

प्रकाशित: २९ असार २०७६ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App