२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

छाउ बार्दैनन् थारू महिला

टीकापुर - सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी व्याप्त छ । कैयौं महिलाले महिनावारीको समयमा छाउ बारेका कारण अकालमा ज्यान गुमाउने गरेका छन् । छाउपडीको असर तराईका कैलाली र कञ्चनपुर जिल्लाका पहाडी बस्तीमा समेत परेको छ । ग्रामीण क्षेत्रमा मात्र होइन, सहरबजारमा बस्दै आएकाहरूले समेत छाउपडी प्रथालाई मान्दै आएका छन् ।

पहाडी समुदायमा छाउपडीले गाँजेको बेला सँगैको थारू समुदायमा भने छाउ बार्ने चलन छैन । अर्थात यस समुदायका महिला महिनाबारी भएको बेला अरूबेला जस्तो सामान्य अवस्थामा रहने गरेका छन् । उनीहरूमध्ये अधिकांशलाई यसबारे थाहा नै छैन ।

अहिले जनचेतनाका कारण थारू महिला महिनावारी भएको बेला पूजास्थलमा समेत जान थालेका छन् । उनीहरूमा महिनावारी हुनु र देवताको पूजापाठमा कुनै सम्बन्ध नरहेको सोचको विकास भएको छ ।

टीकापुर नगरपालिका–३ घियापुछ्रेकी ४७ वर्षीया बलरानी चौधरीलाई अहिलेसम्म छाउबारे जानकारी छैन । उनका दुई सन्तान छन् । उनले महिनावारीको समयमा छाउ बार्ने कुरा आफ्ना लागि अनौठो भएको बताइन् । उनले यो बेलामा सरसफाइमा भने ध्यान दिने गरेकी छिन् ।

थारू समुदायका महिला महिनाबारी भएको बेलामा घरभित्रका सबै कामकाज गर्छन् । उनीहरूलाई के गर्ने के नगर्ने भन्नेबारे कुनै रोकावट हुँदैन । टीकापुर नगरपालिका–४ छेगरखैलाकी ४५ वर्षीया हीरा चौधरी १३ वर्षको उमेरदेखि महिनाबारी भएको भए पनि अहिलेसम्म नबारेको बताउँछिन् । ‘हाम्रो समुदायमा छाउ बार्ने चलनै छैन,’ उनले भनिन्, ‘हामी महिनावारी भएको बेला सरसफाइ भने दैनिक गर्छौं, घरका सबै कोठामा जान्छौं र खाना पनि पकाउँछौं ।’
महिनावारी भएको बेला पूजाकोठामा जान नहुने विश्वास भने यस समुदायमा पनि छ । उनीहरू महिनावारी भएको बेला पूजाकोठामा जाँदैनन् र छोयो भने देउता रिसाउँछन् भन्ने जनविश्वास रहेको छ । जानकी गाउँपालिका–७ गोलौरीकी २७ वर्षीया राधा महतोले थारू समुदायमा समान व्यवहार कायम रहेको बताउँदै छाउपडीका नाममा छुवाछुतको समस्या नभएको बताइन् । उनले देउता रिसाउँछन् भन्ने मान्यताका कारण देउताको घरमा, पूजा कोठामा नजाने बाहेक थारु महिलाहरुले महिनावारी नबार्ने बताइन् । ‘पूर्खाको चलनका कारण देवताकोमा जाँदैनौं’–उनले भनिन्–‘अन्य ठाउँमा, घरमा, कोठामा जान रोकटोक हुँदैन ।’ अहिले जनचेतनाका कारण थारू महिला महिनावारी भएको बेला पूजास्थलमा समेत जान थालेका छन् । उनीहरूमा महिनावारी हुनु र देवताको पूजापाठमा कुनै सम्बन्ध नरहेको सोचको विकास भएको छ । ‘यो कुरा पनि पहाडी समुदायको संगतले सिकेको देखिन्छ,’ महिला अधिकारका क्षेत्रमा क्रियाशील पत्रकार उन्नति चौधरी भन्छिन्, ‘छाउपडीको थारू महिलासँग कुनै साइनो सम्बन्ध नै छैन ।’

उनले थारू महिलालाई हेरेर अन्य समुदायका महिलाले समेत छाउपडीबारे सोच बदल्नुपर्ने बताइन् ।
छाउपडी मान्न नपरे पनि थारू महिलाको जीवनस्तर आम महिलाको भन्दा फरक छैन । अन्य कुनै अन्धविश्वासका नाममा थारू महिलासमेत प्रताडित छन् । थारू महिला सबैखाले कुप्रथा अन्त्यका लागि पहल हुनुपर्ने बताउँछन् ।

प्रकाशित: २६ असार २०७६ ०४:२६ बिहीबार

सुदूरपश्चिम छाउपडी थारू_महिला