नुवाकोट – लिखु गाउँपालिका खानीगाउँ ढिकुरेका सञ्जय तामाङ रोजगारीका लागि मलेसिया गएका थिए। मलेसियामा पाँच वर्ष ड्राइभिङ पेसा गरेर गाउँ फर्किएका तामाङ अहिले आफूजस्तै युवाहरूसँग मिलेर सामूहिक तरकारी खेती गरिरहेका छन्।
आफ्नै गाउँमा केही गरौँ र स्वरोजगार बनौँ भन्ने उद्देश्यसहित सामूहिक तरकारी खेतीमा लागेको उनले बताए। ‘हामी युवा कामको खोजीमा विदेश जाने गरेका छौँ,’ उनले भने, ‘विदेश जानुको सट्टा आफ्नै ठाउँमा उत्पादनशील क्षेत्रमा लगानी ग¥यौं भने प्रतिफल राम्रो निस्कँदो रहेछ भन्ने महसुस भएको छ।’
सञ्जयजस्तै १८ युवा मिलेर जिल्लाकै पञ्चकन्या गाउँपालिका–२ मा बिजी माइन्ड मल्टिप्रपोज प्रालि नाम दिई सामूहिक तरकारी खेती सुरु गरेका हुन्। ती युवाहरूले ५१ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्। उनीहरूले झण्डै एक करोड रुपैयाँ लगानीबाट तरकारी खेती सुरु गरेका हुन्।
बिजी माइन्ड मल्टिप्रपोज प्रालि अध्यक्ष पवन धमलाका अनुसार परम्परागत कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक तरकारी खेती प्रणालीलाई प्राथमिकतामा राखिएको छ। ‘लगानी डुब्छ कि भन्ने डर पनि छ तर, हामीले रोग कीराबाट कसरी जोगाउने भनेर कृषि प्राविधिकहरूसँग सल्लाह लिइरहेका छौँ।’
वार्षिकरूपमा प्रतिरोपनी १० हजार रुपैयाँ तिर्ने गरी उनीहरूले जग्गा भाडामा लिएका हुन्। टनेलमा रामतोरी, घिरौँला, गोलभेँडा, भन्टा, काउली, बन्दालगायतका तरकारी लगाएका छन्।
शिक्षक, पत्रकार, विदेशबाट फर्केका युवालगायत विभिन्न पेसा व्यवसायमा लागेकाहरू यसमा आवद्ध छन्। लगानीकर्ताहरूले तरकारी खेतीमा पूरै समय दिन नभ्याउने भएकाले अहिले १५ जनालाई रोजगारीसमेत दिइएको छ।
प्रकाशित: २० असार २०७६ १०:२८ शुक्रबार