धादिङ - ‘पेटभरि पानीसमेत खान पाइन्न। बिरामी भएका बेला त पैंचो गरेर पानी खानुपर्छ। लुगा धुन, सरसफाइ गर्न पानी पाउनु त हाम्रा लागि निकै परको कुरा हो’, बेनिघाट रोराङ गाउँपालिका–२, बु्रसबाङकी फूलमाया चेपाङको दुखेसो हो यो।
समुद्री सतहबाट एक हजार आठ सय ४५ मिटर उचाइमा पर्ने विकट गाउँ बु्रसबाङमा पुर्खादेखि बस्दै आएका चेपाङ समुदायले स्वच्छ पिउने पानीसमेत पाएका छैनन्। पानीको जोहो गर्न दुई, तीन घन्टा ओरालो र उकालो हिँड्नुपर्ने उनीहरूको पुस्तैनी बाध्यता गणतन्त्रकालमा पनि यथावत छ। वर्षको चार महिना आफूले फलाएको अन्न र बाँकी आठ महिना गिठा, भ्याकुर, सिस्नु खाएर जिउनुपर्ने बाध्यता पनि छँदैछ। खेती गर्न जमिन भए पनि सिँचाइ अभावमा उब्जनी हुँदैन। चेपाङ बस्तीमा स्वास्थ्यचौकी, विद्यालय, शौचालय र बाटोको सुविधा पनि छैन। वर्षौंदेखि अभावको नियति झेल्दैै आएका ब्रुसबाङका चेपाङ समस्याबाट मुक्ति मिल्ने भए थातथलो छाड्न राजी छन्।
‘हामीले त पढ्न पाएनौं, अब आउने पिँढीका लागि केही बन्दोबस्त मिलाउनुपर्छ’, फूलमायाले भनिन्, ‘पिउने पानी, विद्यालय, स्वास्थ्यचौकी, शौचालयसहित पक्की घरको बन्दोबस्त मिलाइदिए हामी थातथलो छाड्न तयार छौं।’ दक्षिणी धादिङमा महाभारत पर्वत श्रृंखलामा रहेको ब्रुसबाङका ३६ परिवार चेपाङ समुदायले बस्ती सारिदिन माग गरेका छन्। यो बस्तीमा पानी निकै महँगो छ। खानेपानी समस्या समाधान हुने अवस्था नदेखेपछि पुख्यौली बस्ती सारिदिन उनीहरूले जिल्लाका सरोकारवालासँग हारगुहार गर्दै आएका छन्।
खानेपानी समस्याले बालबालिकाको शिक्षादीक्षा, खेतीपाती र पशुपालनमासमेत बाधा परेको छ। बालबालिकालाई पौस्टिक आहार तर परैको कुरा हो। गाउँका कसैले पनि स्वास्थ्यचौकीमा बच्चा जन्माएका छैनन्, घरमै जन्माउँछन्। बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध, त्यसपछि साग सिस्नु। यही हो चेपाङ बालबालिकाको आहार।
ब्रुसबाङका चेपाङ समुदायको मुख्य आवश्यकता अन्नभन्दा पनि पानी हो। खानेपानीको जोहोका लागि दिनहुँ झेल्नुपरेको दुःख सम्झँदै सुमिलाल चेपाङले पनि खानेपानी र जीविकोपार्जनका अवसर हुने हो भने पुख्यौली थातथलो छाड्न तयार रहेको बताए। ‘हामीलाई सबैभन्दा पहिले त खानेपानीको खाँचो छ, त्यसपछि खाद्यान्न, सरसफाइ तथा जीविकोपार्जनका अन्य कुरा चाहिन्छ’, उनले भने, ‘यी सुविधा हामीले अहिलेसम्म पाएनौं। त्यसैले भावी पुस्ताको सुखका लागि हामी बस्ती सर्न तयार भएका हौं।’
ब्रुसबाङकावासीका समस्या धेरैले सुने पनि समाधानका लागि खासै पहल भएको छैन। मानव भएर बाँच्न चाहिने न्यूनतम पूर्वाधारको व्यवस्था गरिदिन सांसदलगायत सरकारका विभिन्न निकायको ध्यानाकर्षण गराए पनि सम्बोधन नभएपछि पुख्र्यौली बस्ती छाड्नुपर्ने बाध्यता आएको उनीहरूको गुनासो छ।
फियान नेपालले चेपाङ समुदायको समस्या सम्बोधन गर्न आयोजना गरेको सरोकारवाला बैठकमा ब्रुसबाङमा कुनै पनि प्रविधिले पानी र सडक बनाउन नसकिने निष्कर्ष आएपछि बस्ती नै सार्नुपर्ने प्रतिनिधिसभाका सांसद भूमि त्रिपाठीले बताए। ‘बु्रसबाङका चेपाङ लामो समयदेखि पिउने पानीसमेत नपाएर आकुलव्याकुल छन्,’ सांसद त्रिपाठीले भने, ‘बस्ती स्थानान्तरण नै समस्याको उपयुक्त निकास हो।’
ब्रुसवाङसम्म पुग्न मलेखु बजारदेखि १ दिन पैदल हिँड्नुपर्छ। खानेपानी समस्या समाधान गर्न तत्कालीन स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेका थिए। तर सम्भाव्यता अध्ययनले गाउँमा कतैबाट पनि खानेपानी लैजान नसकिने देखाएपछि सो रकम अन्य काममा खर्च गरियो। त्यसपछि पनि विभिन्न संघसंस्थाले खानेपानी समस्यमा समाधानका लागि प्रयास गरे पनि सफलता मिलेन।
ब्रुसबाङका चेपाङ समुदायलाई दसैंसम्ममा त्यहाँबाट अन्यत्र सार्ने तयारी छ। गाउँपालिकाले ताल्तीनजिकै एकीकृत नमुनाबस्ती बनाएर उनीहरूलाई सार्ने तयारी गरेको छ। बु्रसबाङमा आधारभूत विकासका पूर्वाधार निर्माणका लागि करोडौं खर्च हुने र समय पनि धेरै लाग्ने भएकाले बस्ती नै सुरक्षित स्थानमा सारेर सबैखाले पूर्वाधार उपलब्ध गराउन स्थानीय तथा सरोकारवाला सहमत छन्।
गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले दसैंअघि नै चेपाङ समुदायलाई नयाँ स्थानमा सार्ने तयारी भइरहेको बताए। ‘गाउँपालिकाले जग्गा खरिद प्रक्रिया असार मसान्तसम्म टुंगो लगाउनेछ’, डल्लाकोटीले भने, ‘शौचालयसहितका घर, खानेपानी, विद्यालय, स्वास्थ्य, सडक, बिजुलीलगायत सुविधा भएको नयाँ बु्रसबाङ निर्माण गर्नेछौं।’
प्रकाशित: २१ जेष्ठ २०७६ ०१:१४ मंगलबार