२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अख्तियारको छानबिनमाथि आशंका

काठमाडौं - लिखित परीक्षाको नतिजा प्रकासनमा अनियमितता भएको भन्दै अख्तियारले थालेको छानबिन किनारा नलाग्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अन्तरर्वार्ता सुरु गरेको छ। आयोगद्वारा प्रकासित विज्ञापन नम्बर १८/२०७३/२०७४ अन्तर्गत भएको परीक्षाको नतिजामा त्रिवि पदाधिकारीहरूकै आफन्त तथा नातेदारहरूको नाम प्रकासित भएको तथ्य सार्वजनिक भइसकेको छ।

अख्तियारले परीक्षामा सहभागी सबै परीक्षार्थीको आवश्यक कागजात छानबिनका लागि लगेको छ। तर छानबिनको किनारा नलाग्दै सेवा आयोगले शाखा अधिकृतबाहेक सबै पदका लागि अन्तर्वार्ता सुरु गर्नु र यसतर्फ अख्तियारले कुनै चासो नदिनुलाई त्रिविका विद्यार्थी तथा शिक्षकले शंकाको दृष्टिले हेरेका छन्। उनीहरूले अख्तियारको छानबिन प्रक्रियाप्रति प्रश्नसमेत उठाएका छन्।

हाल सेवा आयोगले प्रकासित गरेको नतिजामा अनियमिमता भएकोले सेवा आयोग खारेजी हुनुपर्ने, पदाधिकारीले राजिनामा दिनु र्ने र विश्वविद्यालयमा भइरहेको अनियमितता तत्काल रोक्नुपर्ने माग राख्दै माओवादी वैद्यनिकट क्रान्तिकारी विद्यार्थी संगठनले पाँच दिनदेखि त्रिविमै रिले अनसन जारी राखेको छ।

संगठनका महासचिव पेशल दहालले अख्तियारले सबै परीक्षार्थीको फाइल छानबिनको लागि लगिसके पनि अन्तर्वार्ता नरोकिएकोमा आक्रोश पोखे। ‘एकातिर अख्तियारले फाइल लागेको छ, अर्कोतर्फ सेवा आयोगले लेखा अधिकृतदेखि सबै पदको अन्तर्वार्ता सुरु गरेकोमा अख्तियारको छानबिनमा समेत हाम्रो आशंका छ,’ महासचिव दहालले नागरिकसँग भने‘सेवा आयोगको अध्यक्षकी छोरी र अन्य पदाधिकारीका नातेदारहरू नै परीक्षामा सफल भएका छन्। यो त्रिविको ठूलो अनियमितता हो।’ उनले त्रिविका पदाधिकारीले राजिनामा नदिएसम्म र आयोग खारेज नभएसम्म आन्दोलन जारी रहने बताउँदै अबका दिनमा थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए।

सेवा आयोगको नतिजाप्रति विरोध जनाउँदै त्रिवि प्रगतिशील प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष हेमराज न्यौपानेले आयोगले प्रकासित गरेको नतिजामा त्रिवि नियमको समेत ठाडो उल्लंघन भएको बताए। ‘जेठ १ देखि ५ गतेसम्मको शाखा अधिकृतको अन्तर्वार्ता मात्र रोकिएको छ। अख्तियारले चार हजार पाँच सय परीक्षक्षार्थीका सबै कागजात छानबिनका लागि लगेको छ,’ न्यौपापनेले भने ‘तर आयोगले जेठ ६ गतेदेखि नै लेखा अधिकृतदेखि सबै पदमा अन्तर्वार्ता लिइरहेको छ। यसले छानबिनमाथि नै प्रश्न उब्जाएको छ।’ उनले अख्तियारले छानबिनको किनारा नलाउँदै आयोगले हतारमा अन्तर्वार्ता लिनु बेठिक रहेको टिप्पणी गरेका छन्। अन्तर्वार्ता जेठ २९ गतेसम्म चल्ने आयोगले तालिका सार्वजनिक गरेको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले अख्तियारले सेवा आयोगबाट छानबिनका लागि आवश्यक सबै कागजात ल्याएर प्राथमिकतासाथ अध्ययन गरिरहेको बताए। ‘सबै कागजात गहनतासाथ अध्ययन र छानबिन भइरहेको छ,’ कोइरालाले भने, ‘सत्य–तथ्य छिटै बाहिर आउनेछ।’         

प्रकाशित: ११ जेष्ठ २०७६ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App