१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सरकारीमा विद्यार्थी चाप बढ्दै, निजीमा घट्दै

काठमाडौ - त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविमा पुग्दा आफ्ना नानीहरुलाई निजी विद्यालयबाट छुटाएर भर्ना गराउन आउनेहरुको उल्लेख्य भीड देखियो।

विगतमा छात्रवृत्तिको प्रलोभनले मात्र निजी स्कुलबाट सरकारी स्कुलमा छोराछोरी भर्ना गराउने परम्परा तोड्दै यस वर्ष भने कक्षा १ देखि कक्षा ९ सम्मकै विद्यार्थीहरुलाई नयाँ भर्नाका लागि विश्वनिकेतन मावि पुगेका थिए।

यस वर्ष विश्वनिकेतन माविले कक्षा १ देखि कक्षा ९ सम्मको कुल ५ सय सिटमा भर्ना खुलाएको थियो। ५ सय सिटको लागि ९ सय विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए। विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार परीक्षा दिने ९ सय विद्यार्थीमध्यै ७ सय निजी विद्यालयबाट आएका थिए। ‘निजी स्कुलबाट विश्वनिकेतनमा आउने विद्यार्थीको चाप विगतमा भन्दा बढेको छ,’ उनले भने।

स्कुलका भेटिएकी एक सरकारी कर्मचारी आफ्नो छोरीको विश्वनिकेतनमा कक्षा ६ को प्रवेश परीक्षामा नाम ननिस्केपछि चिन्तित देखिइन्। ‘छोरीले प्रवेश परिक्षामा त राम्रै गरेकी थिई तर नाम निस्केनछ। छोरीलाई यहीँ बढाउने पाए हुन्थ्यो खै के गर्ने गर्र्ने,’ उनले दुविधा ओकलिन्। उनकी छोरीले राजधानीको नाम चलेकै निजी विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेकी रहिछिन् तर विश्वनिकेतनमा नाम ननिस्किँदा आमालाई चिन्ता भएको थियो। उनी प्रधानाध्यापकलाई भर्नाको लागि अनुरोध गर्दै थिइन् भने प्रधानाध्यापक भने सिट अभावमा भर्ना गर्न असमर्थ भएको बताइरहेका थिए।

निजी विद्यालयहरुको महँगो शुल्क र सरकारी विद्यालयहरुको बढ्दै गएको स्तरीय शिक्षाका कारण निजीबाट सरकारी विद्यालयमा आउने विद्यार्थीहरुको अकर्षण बढिरहेको विश्वनिकेतनको यो दृश्यले देखाउँछ। यसका साथै सरकारी तलब खानेहरुको नानीहरु सरकारीमै पढाउनुपर्ने वाध्यकारी शिक्षा नीतिका कारण यस शैक्षिक सत्रदेखि सरकारी विद्यालयहरुमा नानीहरुको भर्ना ह्वात्तै बढेको हो।

स्कुलमा आप्mना नानी कक्षा ७ मा भर्ना गराउन आएका विश्वनाथ यादवले गर्वसाथ छोरीलाई विश्वनिकेतनमा भर्ना गराए। यादव आपूm निजी कलेजको शिक्षक भएकाले आफूलाई सरकारी र निजी शिक्षाको अन्तर रामरी थाहा भएको बताए।

‘विश्वनिकेतनको शैक्षिक स्तर राम्रो भएकोले नै मैले छोरीलाई निजीबाट यहाँ भर्ना गराएको हुँ,’ २३ वर्षदेखि अध्यापनमा सलंग्न यादवले नागरिकसँग भने, ‘सरकारी शिक्षकहरु सय प्रतिशत क्षमतावान् छन्। भौतिक पूर्वाधार यथेष्ट छ। त्यस्तोमा चुस्त व्यवस्थापन र नियमित कक्षा हुने सरकारी स्कुल स्तरीय हुँदै गएका छन्।’ जेठी छोरीले पनि उत्कृष्ट नतिाजामा विश्वनिकेतनबाटै मावि शिक्षा उत्तीर्ण गरेको यादवले सुनाए।

प्याबसन र एनप्याबसनले विज्ञप्ती जारी गर्दै सरकारी शिक्षा नीति प्रति असन्तुष्टी जनाएको छ। यो वर्ष निजी विद्यालयबाट १५ प्रतिशत विद्यार्थी सरकारीमा गएपछि निजी विद्यालय सञ्चालक सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धामा आउने हो भने स्वास्थ्य प्रतिस्पर्धामा आउनुपर्ने राग अलापिरहेका छन्।

उनले निजी विद्यालयहरुले अभिभावको डाढै सेक्ने गरी शुल्क वृद्धि गरिरहेको र सरकारीले सस्तोमा स्तरीय शिक्षा दिएकाले सरकारी स्कुलमा भर्ना गरेको बताए। काठमाडौं उपत्यकाका सरकारी विद्यालयहरु निजीसँग प्रतिस्पर्धामा उछिन्ने स्थितिमा पुगेकाले नै नयाँ भर्ना सरकारी स्कुलमा गराउन अभिभावकहरुको घुइँचो लागेको प्रिन्सिपल कँडेल बताउँछन्। निजी विद्यालय भिएस निकेतन, लिटिलएन्ल, बर्नहर्ट, रोजवड, जुविल्यान्ड, लिभरपुललगायत थुप्रै निजी विद्यालयहरुबाट अभिभावकहरुले नानी निकालेर उपत्यकाका रत्नराज्य, निलवाराही, विश्वनिकेतन, ज्ञानोदयलगायतका सरकारी स्कुलमा भर्ना गराउन नेताहरुलाई भनसुनसम्म गर्न थालेका छन्।

‘भौतिक पूर्वाधार तथा चुस्त प्रशासन कायम भएपछि हाम्रोमा विद्यार्थी भर्नाको चाप बढेको हो,’ कँडेलले नागरिकसँग भने, ‘सरकारी विद्यालयहरुको शैक्षिक स्तर राम्रो हँुदै विद्यार्थी आउँछन् नै।’ सरकारी स्कुलले सस्तोमा स्तरीय शिक्षा दिइरहेको उनी बताउँछन्।

एकातिर सरकारीमा विद्यार्थी चाप बढ्दै गएको छ भने निजीमा विद्यार्थी घटेको निजी विद्यालयहरुको छाता संगठनले प्रेस विज्ञप्ती जारी गरेरै जनाएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन) र राष्ट्रिय निजी तथा अवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याबसन)ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सरकारी नीति प्रति असन्तुष्टि जाहेर गरेका छन्। प्याबसनका अध्यक्ष टीकाराम पुरीले सरकारी विद्यालयका शिक्षकहरुले निजी प्रति नकरात्मक भ्रम छरेर विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् भने उनले सरकारले कार्यान्वयनमा ल्याएको सरकारी कर्मचारीको नानी अनिवार्य सरकारीमा पढाउने शिक्षा नीतिको विरोध गरेका छन्।

‘यस वर्ष सरकारी शिक्षा नीतिका कारण निजी विद्यालयहरुबाट १५ प्रतिशत विद्यार्थीहरु सरकारीमा भर्ना भए,’ अध्यक्ष पुरीले बताए, ‘सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धामै आउने हो भने स्वास्थ्य प्रतिस्पर्धा गर्नुपर्छ।’ उनले थपे, ‘निजी स्कुल प्रति नकरात्मक भ्रम फैलाएर शिक्षालाई अस्वस्थय बनायो।’ उनले निजीमा यस वर्ष विद्यार्थी भर्नामा आकर्षण घटेको गुनासो गरेका छन्।

प्रकाशित: १८ वैशाख २०७६ ००:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App