धादिङ– २५ बर्षदेखि कृषि पेशा गर्दै आएका धादिङ सिद्धलेक गाउँपालिका–४ सुविटारका रामशरण त्रिपाठी आधुनिक उपकरणको प्रयोगले खुशी छन्। पुस्तौंदेखि मौसम अनुसारको तरकारी तथा खाद्यान्न बाली लगाउनु, गोडमेल गर्नु र बजारसम्म लैजानु उनको परिवारको पुख्यौली पेशा हो।
पहिला घरपरिवार तथा छिमेकीहरुसँग आलोपालो गरेर गोरुले जोतेर खेती लगाउने उनले अहिले खेती लगाउन ट्याक्टर किनेका छन्। ‘गाउँमा गोरु पाइन छाड्यो, काम गर्ने मान्छे पनि पाइदैन’ उनले नागरिकसँग भने ‘अहिले नयाँ–नयाँ आधुनिक उपकरणहरु आइरहेका छन्, त्यसको प्रयोगले सजिलो पनि भएको छ।’
त्रिपाठीले सात रोपनी खेतबारीमा गोलभेडा, घिउसिमि, काँक्रो, घिरौंलालगायतका तरकारी लगाउने गरेका छन्। उनले धान, गहुँ, मकै जस्ता खाद्यान्न बाली पनि लगाउने गरेका छन्। परम्परागत कुटो, कोदालो, गोरुलगायतको प्रयोगमार्फत कृषि पेशा गर्दै आएका उनले समयअनुकूल आधुनिक प्रविधितर्फ उन्मुख हुनुपर्ने बताउँछन्। ‘लागत कम गरी उत्पादन बढाउन कृषि बालीमा उन्नत एवम् नवीनतम प्रविधिको प्रयोगप्रति हामी जस्ता किसान आकर्षित भएका छौँ’ उनले भने ‘कम लागतमा कम जनशक्तिको प्रयोग हुने भएका कारण अनुदानमा ट्याक्टर किनेका छौँ, अब जमिन बाँझो राख्नु नपर्ला।’
तरकारी तथा खाद्यान्नका लागि धादिङ पकेट क्षेत्रको रुपमा लिइन्छ। राजमार्ग आसपासमा पर्ने सलाङ, जोगिमारा, बेनिघाट, धुषा, गजुरी, नौबिसे, केवलपुरलगायतका ठाउँहरु तरकारी खेतीको लागि उर्भर भूमिको रुपमा चिनिन्छ। यहाँ उत्पादन भएको तरकारी काठमाडौँको कालीमाटी, पोखरा, नारायणघाटलगायतका ठाउँहरुमा बिक्रिका लागि लैजाने गरिएको छ। गाउँमा गोरु नपाउने र कामदारको अभावका कारण पहिलेको तुलनामा उत्पादन कम भएको किसानहरु बताउँछन्।
किसानहरुलाई खेतीयोग्य जमिन बाँझो नराख्न आग्रह गर्दै स्थानीय तहहरुले पनि आधुनिक उपकरणहरु अनुदानमा प्रदान गर्दै आइरहेका छन्। कृषिमा आधुनिक उपकरणको प्रयोग भइरहँदा बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरका किसान हरिबहादुर चेपाङले पनि खेत जोत्नका लागि ५० प्रतिशत अनुदानमा ट्याक्टर किनेका छन्। ‘चार हल गोरुले जोत्ने खेत ट्याक्टरले एकै घण्टामा जोतेर बाली लगाउन लागि तयार पार्छ’ उनले भने ‘गाउँमा गोरु नपाएर झन्झट व्यहोर्नुपर्ने समस्या पनि नहुने, खेताला पनि कम लाग्ने, समयको पनि बचत हुने भएका कारण ट्याक्टर किनेको हुँ।’ कृषि औजारको सहज उपलब्धताले किसानलाई कृषि पेशा अँगाल्न थप हौसला दिएको छ।
गाउँदेखि शहरका अधिकांश क्षेत्रमा कृषिको आधुनिकीकरण र व्यावसायिकता विकासका लागि यन्त्र–उपकरण र नयाँ प्रविधिको प्रयोग बढ्दै गएको छ। यसबाट पछिल्लो समय नेपाली किसान कृषिका नवीनतम प्रविधिसँग अभ्यस्त हुन थालेको समेत बुझ्न सकिन्छ। कृषिमा यन्त्रीकरणको अपरिहार्यता महसुस गरी सरकारले २०७१ मा कृषि यन्त्रीकरण प्रवर्द्धन नीति नै जारी गरिसकेको छ। यो नीतिले भौगोलिक उपयुक्तता, साना किसानमैत्री, महिला किसानमैत्री र वातावरणमैत्री कृषि यन्त्रलाई प्राथमिकतामा राखेको छ।
गोरखाको गण्डकी गाउँपालिकासहित धादिङको बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिकालाई समेटेर धादिङको विशालटारमा तरकारी जोन कार्यालय स्थापना गरिएको छ। कार्यालयले व्यवसायी कृषि खेतीतर्फ उन्मुख रहेका किसानहरुलाई कृषि औजार, बीउहरु प्रदान गर्दै आएको छ। ९३ जना किसानलाई मिनि टेलर, २७ जनालाई गोड्ने मेशिन, ९ जनालाई खाल्डो खन्ने मेशिन, एक सय ८ जनालाई स्प्रेयरलगायतका औजारहरु अनुदानमा वितरण गरेका छन्। किसानलाई समय– समयमा खेती गर्ने तरिका बारेमा तालिमहरु पनि प्रदान गर्दै आइरहेको छ।
समग्र कृषिक्षेत्रमा ट्याक्टरको सबैभन्दा बढी प्रयोग भइरहेको छ। खनजोत गर्नेदेखि बाली काट्ने उपकरणसम्म ट्याक्टर जडान गरी प्रयोग भइरहेका छन्। त्यसैले, केही वर्षयता ट्याक्टरको माग निरन्तर बढ्दै गइरहेको तरकारी जोन धादिङका बरिष्ठ कृषि अधिकृत केशवराज काफ्लेले नागरिकलाई बताए।
‘आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएपछि परम्परागत हलो, कोदालोलगायत उपकरण छाडेर आधुनिक उपकरणको माग बढेको छ’ काफ्लेले भने ‘कृषि जोन कार्यालयले पनि किसानहरुलाई लक्षित गरेर ५० प्रतिशत अनुदानमा मिनि टेलर, डिजिटल काँटा, प्लास्टिक पोखरी, खाल्डो खन्ने मेशिन, गेट भल्प, पानी तान्ने मोटरलगायतका कृषि औजारहरु प्रदान गर्दै आइरहेका छौँ।’
प्रकाशित: ८ वैशाख २०७६ ११:११ आइतबार