४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ओपिडी सेवा ठप्प भएपछि बिरामी मर्कामा

विराटनगर - चिकित्सकको आन्दोलनका कारण विराटनगरस्थित कोसी अञ्चल अस्पतालको बहिरंग (ओपिडी) सेवा ठप्प भएको छ। चिकित्सक समायोजनको विषयमा असन्तुष्टि जनाउँदै अञ्चल अस्पतालमा कार्यरत चिकित्सक आन्दोलित भएपछि ओपिडी सेवा ठप्प भएको हो। अस्पतालको ओपिडी सेवा ठप्प भएपछि यहाँ उपचारका लागि आउने बिरामी मर्कामा परेका छन्।

सरकारी अस्पताल बन्द भएकाले बिरामीहरू निजी अस्पतालमा उपचारका लागि जान बाध्य भएका छन्। कोसी अञ्चल अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले ओपिडी सेवा लिँदै आएका छन्। यता अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले सरकारले समायोजन गरेजसरी चिकित्सकलाई पनि समायोजन गर्दा समस्या निम्तिएको बताए। अञ्चल अस्पताल केन्द्रमातहत र यहाँका विशेषज्ञ चिकित्सक प्रदेशमातहत हुँदा अन्योल उत्पन्न भएको उनको भनाइ छ।

‘संघमातहत रहेको कोसी अञ्चल अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरू प्रदेशमातहतका छन्,’ उनले भने, ‘अब संघमातहतको अस्पतालमा कार्यरत प्रदेशमातहतका विशेषज्ञ डाक्टर काम गर्न कहाँ जाने ?’ डाक्टरहरूले उठाउँदै आएको माग सम्बोधन नभई समस्या समाधान हुने अवस्था नरहेको उनले स्पष्ट पारे। पोखरेलका अनुसार देशका अन्य अस्पतालमा चिकित्सकको आन्दोलनका कारण तीन दिनदेखि नै ओपिडी सेवा ठप्प भए पनि कोसी अञ्चल अस्पतालमा भने आंशिक रूपमा ओपिडी सेवासमेत मंगलबारसम्म सञ्चालनमा थियो। अस्पताल विकास समितिबाट नियुक्त भएका र करारमा कार्यरत चिकित्सकले ओपिडी सेवा सञ्चालन गरिरहेका थिए। तर बुधबार आन्दोलनरत चिकित्सकले ओपिडी सेवा सञ्चालनमा समेत अवरोध गरेपछि सेवा पूर्ण रूपमा ठप्प भएको छ। ओपिडीबाहेकका इमर्जेन्सी सेवा, वार्ड र इन्डोर सेवा भने सञ्चालनमा रहेको मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले बताए।

बुधबार पनि एक सय ५० जना बिरामीले ओपिडी सेवाका लागि पुर्जा लिएका थिए। तर आन्दोलनरत डाक्टरहरूले अवरोध गरेका कारण ओपिडी सेवा रोकिएको उनले जानकारी दिए। उनले भने, ‘कोसी अञ्चल अस्पतालमा बुधबारदेखि मात्रै ओपिडी सेवा पूर्ण रूपमा ठप्प भएको हो।’ उनका अनुसार कोसी अञ्चल अस्पतालमा हाल ६७ जना चिकित्सक कार्यरत छन्। जसमा ३० जना स्थायी, १५ जना करार र २२ जना अस्पताल विकास समितबाट नियुक्त रहेको मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले बताए।

प्रकाशित: २८ चैत्र २०७५ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App