९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

अजयको कर्म

तीन दिन अघि उनले फेसबुकमा दुईटा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘पढ्न नमान्दा धेरैपटक सम्झाएर जीवनलाई सानैदेखि पढायौं, आर्थिक अवस्था कमजोर परिवारका जीवनलाई छात्रावासमा निःशुल्क राख्यौं। तर, एसइईको चार परिक्षा दिएपछि परिक्षै दिन मन लागेन रे उनलाई ! फेरि भागेर घर आएछन्, त्यही भएर लिन घरमै आएको।’

यसको भाव थियो, विद्यार्थीले मात्रै मेहनत गर्दैन, शिक्षकहरूको पनि उत्तिकै मिहिनेत हुन्छ। त्यसैले त विद्यार्थीले स्कुल छाड्दा उनी दौडिएर घरमै पुग्छन्, अनि लिएर आउँछन्। केही दिनअघि एसईईको परिक्षा नै छाडेर भागेका जीवन नामका विद्यार्थीलाई उनले त्यसै गरे। नगरून पनि किन ? एसइईसम्म पु¥याउन उनले दिनरात नभनी मिहिनेत गराएका हुन्छन्। विद्यार्थीका आमाबुबाको भन्दा उनलाई बढी चिन्ता हुन्छ। त्यसैले स्कुल नआउने विद्यार्थीलाई खोजीखोजी विद्यालय ल्याएर सम्झाउँछन्, अनि पढ्नलाई उत्साही बनाउँछन्।

अलि पहिला पनि उनले फेसबुकमा एउटा तस्बिर पोष्ट गरेका थिए। त्यो तस्बिर थियो–घरबाट स्कुल जान हिँडे पनि दिनभर बाग्मतीमा गएर खेल्ने विद्यार्थीको। क्याप्सनमा लेखिएको थियो–‘समय निकालेर विद्यार्थी नियाल्दै गएको थिएँ, बाग्मतीमा खेलिरहेको देखेँ। केही मलाई देख्दै भागे भने केहीलाई समाएर सम्झाउँदै स्कुल ल्याएँ। अभिभावक रोजीरोटीका लागि बिहानै काममा निस्कन्छन्। छोराछोरी विद्यालय गयौं भनेर दिनभर खेलेर फर्किन्छन्।’

समता स्कुल भनेपछि संस्थापक उत्तम संजेललाई चिन्छन् धेरैले। समताको त्यो चिनारीमा अजय अधिकारी जस्ता पर्दाभित्रका व्यक्तिको पनि ठूलै हात छ।

उनले सामाजिक संजाल सार्वजनिक गरेका यस्तै क्रियाकलाप नियाल्दा थाहा हुन्छ, उनी विद्यार्थीप्रति कति समर्पित छन् भनेर। उनी अर्थात् अजय अधिकारी ‘सुशिल’। उनी मासिक सय रुपैयाँ लिएर नर्सरीदेखि मास्र्टससम्म अध्ययन गराउने समता स्कुलका प्रिन्सिपल हुन्। तर, अजय आफूलाई समता विद्यालयको प्रिन्सिपल भनेर चिनाउँदैनन्। उनी कलाकार हुन्। उनी यही परिचयबाट बढी चिनिन चाहन्छन्।

कलाकार उनको दोस्रो पाटो हो। पहिलो पाटो त समता स्कुल नै हो। समता स्कुलमा अध्ययन गर्न पुगेका विद्यार्थीलाई कसरी असल बनाउने भनेर सोचमग्न हुन्छन्। उनी बिहान ५ः४५ बजेबाट स्कुललाई समय दिन्छन्। बेलुकाको १० बजिसक्दा समताकै प्रांगणमा डुलिरहेका भेटिन्छन्। ‘स्कुलमा सामाजिक भावले काम गरेको हुँ,’ उनले भने, ‘त्यसैले त बिहान ५ः३० देखि बेलुका ११ बजेसम्म खट्न सकेको छु।’  अजयको निन्द्रा ५ बजे नै खुल्छ।  ५ः४५ मा त उनी कलेज र कक्षा १० का विद्यार्थीलाई एसेम्बली गराउन प्रांगणमा ओर्लिसकेका हुन्छन्। त्यसपछि सुरु हुन्छ दैनिकी। बिहानभर कक्षा १० र कलेजलाई हेर्नु, त्यसपछि स्कुललाई र बेलुकाचाहिँ एसइई तयारी गराउनु।

‘यति नखटे त रिजल्ट बिग्रिहाल्छ नि,’ उनी भन्छन्, ‘त्यसै समताले राम्रो नतिजा ल्याएको छैनन् नि।’ हो पनि समताबाट जति विद्यार्थी एसइईमा सामेल हुन्छन्, ती  सबैले उत्कृष्ट नतिजा ल्याउँछन्। यस पटक पनि उनैले एसइई तयारी गराएका समता स्कुल काठमाडौंबाट मात्रै ५ सय ५२ विद्यार्थी छन्। तीमध्ये अधिकांशले ए प्लस, ए ल्याउने विश्वास उनको छ। वि प्लस र विचाहिँ कमै विद्यार्थीले मात्रै ल्याउने अनुमान गर्छन् उनी। किनकि, यी विद्यार्थीको मिहिनेतमा अजयको पनि कर्म जोडिएको छ।  

समता स्कुल भनेपछि संस्थापक उत्तम संजेललाई चिन्छन् धेरैले। तर, समताको त्यो चिनारीमा अजय जस्ता पर्दाभित्रका व्यक्तिको पनि ठूलै हात छ। ‘समता संजेल सरले स्थापना गर्नुभएको हो, हामीले त सामाजिक भावले काम गरेका मात्रै हौं,’ अजयले भने, ‘त्यसैले उहाँको छेउमा हाम्रो योगदान नगन्य छ। समता जसरी देशविदेशमा फैलिएको छ, त्यो सबै संजेल सरकै देन हो।’ आफू राम्रो व्यवस्थापक बनेर नर्सरीदेखि मास्र्टससम्म हेरिरहेको उनी बताउँछन्। समता यस्तो विद्यालय हो, जहाँ हजारौं विद्यार्थी पढ्न पुग्छन्। धेरै जसोचाहिँ मजदुरका छोराछोरी हुन्छन्। हरेक विद्यार्थी राम्रो बन्नुमा अजयको मिहिनेत जोडिएको छ। त्यसैले त स्कुल छाडेर गएका विद्यार्थीहरू अजयले देखाएको बाटोप्रति धन्यवाद व्यक्त गर्न आइरहन्छन्।

‘मैले विद्यार्थीलाई नाम कमाउने, पैसा कमाउनेभन्दा पनि असल कसरी बन्ने भनेर बढी सिकाउँछु,’ उनले भने, ‘गलत बाटोमा जाँदै गरेको विद्यार्थीलाई असल बाटोमा फर्काउने प्रयास पनि गर्दछु।’ त्यसरी फर्किएका विद्यार्थी अजयको त्यो गुण सम्झिदै आउँछन्। कोही शब्दको धन्यवाद लिएर आउँछन्, कोही उपहार  सामग्री। स्कुल आउन नमान्ने विद्यार्थीलाई उनी घरमै गएर पनि ल्याउँछन्। अहिले त कतिपय विद्यार्थीका आमाबुबा नै सर छोरो वा छोरी स्कुल आउन मानेन भन्दै आउँछन्। उनी घरमा गएपछि खुसी भएर स्कुल आउन मान्छन्, स्कुल आउन नमान्ने विद्यार्थी पनि। स्कुलमै पनि फुर्सद मिलाएर उनी विद्यार्थीकै सेवामा तल्लीन हुन्छन्। हरेक आइतबार नङ काटिदिने तालिका छ उनको। शनिबार फुर्सद मिलेमा स–साना विद्यार्थीलाई नुहाइदिन्छन् पनि। यी सबै कार्यको फेसबुकमा तस्बिर पनि हाल्छन्। उनी भन्छन्, ‘देखाउन होइन्, प्रेरणा मिलोस् भनेर त्यस्ता तस्बिर सार्वजनिक गर्दछु।’

विद्यार्थीका समस्या पनि समाधानमा लाग्छन्। समतामा मासिक सय रुपैयाँ शुल्क लाग्छ। यो शुल्क पनि कति विद्यार्थीको लागि महँगो हुन्छ, त्यस्तो अवस्थामा विद्यार्थीले विद्यालय नछोडोस् भनेर विकल्प खोजिदिन्छन्। विकल्प नभएमा कतिपय विद्यार्थीको शुल्क त उनै अजयले आफैं तिरिदिन्छन्। ‘विद्यार्थीहरू च्यातिएको कपडा लगाएर आउँछन्, किन च्यातिएको लगाएको भन्दा अरू छैनन् भन्ने जवाफ दिन्छन्,’ उनले भने, ‘त्यस्ता विद्यार्थीको परिवारको अवस्था बुझ्छुु, कमजोर आर्थिक अवस्थाकै कारण समस्या भएको पाएमा आवश्यक कपडा, स्टेसनरी सामग्री पनि किनिदिन्छु।’

उनी समाजसेवामा तल्लीन छन्। कलाकारितामा पनि उत्तिकै केन्द्रित छन्। ‘कलाबाट चिनियोस् भन्ने चाहान्छु,’ उनले भने, ‘त्यसैले फुर्सद मिल्यो कि  कलालाई समय दिन्छु।’ ०६९ सालमा पहिलो एल्बम ‘रहर’ सार्वजनिक गरेका उनले आधा दर्जन बढी एल्बम बजारमा ल्याइसकेका छन्। सर्ट मुभी पनि बनाउँछन्।
उनका सर्ट मुभीमा पनि सामाजिक सन्देश पाइन्छ। यो अलवा उनी केही चर्चितै फिल्ममा पनि देखिएका छन्। उनी गीत लेख्छन्। संगीत भर्छन्, गाउँछन्। म्युजिक भिडियोमा खेल्छन्। म्युजिक भिडियो निर्देशन गर्छन्। यति मात्र होइन्, नाटक पनि बनाएका छन् उनले। उनको कला सन्देशमुलक हुन्छन्।

‘मलाई मन प¥यो हाम्रै नेपाल’ राष्ट्रको कुरा उल्लेख गरेर गाएका छन्। ‘घाँसको भारी’ आमालाई सम्झेका छन्। ‘पढ्न आऊ भनेर’ बालबालिकाको लागि स्कुल जान प्रेरित गरेका छन्। ‘पानी नखाई बस्नै पर्दैन’ उनलाई ‘युर्टन’ गराउने गीत हो। गायिका कोमल वली र अजयले गाएको गीतमा म्युजिक भिडियो समेत अजय र वलीकै छ। तिजमा श्रीमतीलाई पानी नखाई व्रत नबस्न अनुरोध गर्दै गाएको गीत तिजका बेला चर्चामा आउँछ।

त्यसैगरी दसैंतिहारलाई सम्बोधन हुनेगरी गाएको गीत पनि युट्युवमा चर्चामै पाइन्छ। अजयले भन्छन्, ‘जतिले मेरो कला सुन्छन्, हेर्छन् सबैले मन पराएका छन्।’ अजयका सांगीतिक एलबम बाहेक भोगेँ, देखेँ अनि लेखेँ किताव पनि बजारमा छ। झण्डै ५० हारहारी गीत गाइसकेका उनले आधा दर्जन बढी म्युजिक भिडियो तथा विज्ञापनमा खेलेका छन्। हाँस्य क्षेत्रमा पनि उनले उपस्थिति जनाएका छन्। सामाजिक संजालमा पनि चर्चित छन्। सबै प्रकारको काम र भेटघाट  सामाजिक संजालमा पोष्ट गर्छन्।

शिक्षा, समाजसेवा र कलाकारिताका पोष्ट बढी छन् उनको फेसबुकमा। उनले प्लस–टू अध्ययनपछि समता स्कुलको जिम्मेवारी सम्हाल्न थालेका हुन्। ०६६ सालदेखि समताको जिम्मेवारी सम्हालेका अजय चाहिँ ३० वर्ष पनि पुगेका छैनन्। उनलाई साथ दिने चाहिँ उनकी श्रीमती लक्ष्मी पनि छिन्। लक्ष्मी पनि अजयको जति नै समय समतामा दिन्छिन्।

काठमाडौँकै मध्यमस्तरको परिवारमा जन्मेका उनलाई घरबाट डाक्टर पढ्न दबाब थियो। अजयका दाइ अहिले डाक्टर बनेका छन्। ‘म डाक्टर नभएर के भयो र ? मैले पढाएका मेरा विद्यार्थीहरू डाक्टर, इन्जिनियर, नर्स, आर्मी, पुलिस, पत्रकार, व्यवसायी सबै भएका छन,’ उनले भने, ‘म त सामाजिक कर्म गरेर असल मान्छे बन्न चाहान्छु।’

प्रकाशित: १६ चैत्र २०७५ ०४:४५ शनिबार

फेसबुक कर्म