८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागीमा परी दुई बालिकासहित तीन जनाको मृत्यु

लहान– शनिबार दिउँसो सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परी दुई बालिका र एक महिलाको मृत्यु भएको छ।  धनगढीमाई नगरपालिका–१४ अमिलटार स्थित दीपक धमलाको घरमा भएको आगलागीमा परी उनकी ६ वर्षिया छोरी दीक्षा धमला र छिमेकी नित्यराज पोखरेलकी ७ वर्षिया छोरी रितु पोखरेलको मृत्यु भएको हो। 

धनगढीमाई नगरपालिकाको यो दुर्गम वडामा सवारीसाधन पुग्ने बाटो जिर्ण छ। बाटोको असुविधाका कारण बारुणयन्त्र पुग्न नसकेपछि स्थानीय र सुरक्षाकर्मीले करिब दुई घण्टापछि दिउँसो ४ बजे आगो नियन्त्रण गरको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए। आगलागी २ बजे सुरु भएको थियो। 

बच्चाहरु घरभित्र सुतेकोले आगलागीमा घेरिएर जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

चुरे पहाडको खोंचको यो वडामा पातलो बस्ती छ। छिटफुट बस्ती भएकोले दीपकको घरबाहेकको घरमा आगो फैलिनबाट जोगिएको थियो। आगलागीको कारण खुल्न सकेको छैन्। 

यता सिरहाकै कल्याणपुर नगरपालिका–७ भेडिया निवासी ५० वर्षीया बनारसी देवी सदायको चुलोको आगो साडीमा सल्केर मृत्यु भएको छ। 

प्रहरीको अनुसार शुक्रबार राति बनारसीले परालले खाना पकाउँदै गर्दा साडीमा आगो सल्केर उनी गम्भीर घाइते भएकी थिइन। घाइते उनलाई कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आगलागीमा उनको फुसको घर पनि जलेर नष्ट भएको छ। 

प्रकाशित: ९ चैत्र २०७५ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App