१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिंजावासी भन्छन्– ‘अब पनि सडक नबने चुप लागेर बस्दैनौं’

नाग्म–गमगढी सडकको सिंजा गाउँपालिका खण्डमा हिलोमा गाडी

जुम्ला– कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ। वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई निकै सकस हुने गरेको छ। सडकमा गाडी गुड्दैनन्। यात्रुले उत्रेर धकेल्नुपर्ने अवस्था छ। 

ठेकेदारको चरम लापरबाहीका कारण सिंजा क्षेत्रमा पर्ने रारा जाने बाटो उच्च जोखिममा रहेको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताए। उनले भने, ‘बाटोको अवस्था दयनीय छ। ठेकेदारले स्तरउन्नति गर्ने नाममा गरिरहेको कामको सरोकारवाला निकायले चासो देखाएका छैनन्।’

वर्षा लाग्नुअघि नै स्तरउन्नतिको काम नसकिए यो सडक बन्द हुने निश्चित छ। सडक बन्द भए र सवारी चल्न नसके स्थानीय यस बाटो भएर पुगिने तीन वटै गाउँपालिकामा यातायात सम्पर्कविच्छेद हुने देखिएको स्थानीयले बताएका छन्। साथै चाँडोभन्दा चाँडो सडकको स्तरोन्नति नगरे आफूहरु चुप लागेर नबस्ने स्थानीयले चेतावनीसमेत दिएका छन्। 

नेपाली भाषाको उद्गमस्थल सिंजा र नेपालको सबैभन्दा ठूलो ताल रारा जोड्ने सडकको अवस्था नाजुक हुँदासमेत कसैको ध्यान पुग्न नसेकेको भन्दै स्थानीय चिन्तित बन्न थालेका छन्। सिंजा गाउँपालिका ४ का देउराम रानाले भने, ‘सडक साघँुरो छ, त्यसैमा स्तरउन्नति गर्ने भन्दै झन जोखिमपूर्ण बनाइएको छ। यो सडक आन्तरिक तथा बाह्य पर्यटक तथा  र स्थानीयका लागि काल बन्दै छ।’

 यो वर्ष परेको हिमपातले लामो समयसम्म सडक बन्द छ। विभिन्न ठाउँमा हिलो  र खाल्डै खाल्डा भएका छन्। यात्रा निकै जोखिमपूर्ण छ।  ‘जोखिमपूर्ण यात्रा गर्नु पर्दाको पीडा कसले देख्छ?’ स्थानीय रतिमान नेपालीले दुखेसो गरे, ‘तत्काल राज्यको ध्यान जावोस्। जनप्रतिनिधिको नजर परोस्। स्थानीय नागरिकले सहजै यात्रा गर्ने माहोल बनोस्। हामी यो चाहान्छौं।’ 

ग्राभेलका लागि नाग्म–बड्कीसम्म १३ किमि सडक हिम्दुङ थोक हीरा नमिता जेभीले सात करोड ९० लाख ९५ हजारमा र १३.१ किमिदेखि १७.५ किमि सडक थोदुङ निर्माण प्रालिले दुई करोड ३० लाख ३४ हजारमा ठेक्का पाएका छन्। 

९१ किलोमिटर दूरीको नाग्म–गमगढी सडकको करिब १८ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा लिएको हिम्दुङ थोक हीरा नमिता जेभीले ३५ महिनाभित्र काम सक्ने भनेर विसं ०७२ माघ १० गते र थोदुङले २२ महिनामा सक्ने भनी ०७३ जेठ २७ गते सम्झौता गरेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App