६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

एनसिसीप्रति विद्यार्थीको आकर्षण

चितवनको भरतपुर–१६ स्थित नारायणी विद्या मन्दिर सकेन्डरी स्कुलमा गठित राष्ट्रिय सेवा दलमा सहभागी विद्यार्थी।    तस्बिरः सविता/नागरिक

चितवन – भरतपुर महानगरपालिका–५, आनन्दपुरकी १६ वर्षीया श्रेया सापकोटा कक्षा १० मा पढ्छिन्। तर उनको परिचय विद्यार्थीमा मात्र सीमित छैन। उनी राष्ट्रिय सेवा दल (एनसिसी) की सदस्य भनेर पनि चिनिन्छिन्। ब्याच नम्बर ४४ को उनी कम्पनी जुनियर अन्डर अफिसर हुन्। उत्कृष्ट प्रस्तुति दिन सक्दा उनले आठ दिन श्रीलंका भ्रमण गर्ने अवसरसमेत पाइन्।

उनी अध्ययनरत भरतपुर–१६ स्थित नारायणी विद्या मन्दिर सेकेन्डरी स्कुलमा एनसिसी गठन भएको तीन वर्ष भयो। जसअन्तर्गत ४३, ४४ र ४५ ब्याचमा गरी १ सय ८ विद्यार्थी प्रशिक्षित भइसकेका छन्। १२ वर्ष उमेर माथिका विद्यार्थीले दलमा सहभागिता जनाउन सक्ने ४३ नम्बर ब्याचका प्लाटुन जुनियर अन्डर अफिसर अभिशेष बरमले बताए। वर्ष १८ का उनी कक्षा ११ का विद्यार्थी हुन्।

उनका अनुसार दलको सदस्य बन्न चाहने विद्यार्थीको शारीरिक अवस्था र स्वास्थ्य जाँचका साथै विभिन्न परीक्षा लिइन्छ। यसबाट छनौटमा परेका विद्यार्थीलाई नेपाली सेनाले तालिम दिन्छ। ‘आर्मीको जसरी नै तालिम हुन्छ,’ उनले भने, ‘दौड, खुकुरी ड्रिल, पिटी, परेड लगायतका तालिम गराइन्छ।’ यसले विद्यार्थीलाई अनुशासित बनाउने, स्वयंसेवा गर्न प्रेरित गर्ने, देशप्रेमको भावना जगाउने उनको अनुभव छ।

सरकारले नेपाली सेनामार्फत सेवा दलको व्यवस्थापन गर्दै आएको छ। सेवा दलको तालिम लिने चलन २०२२ सालमा सुरु भएको नारायणी विद्या मन्दिर सेकेन्डरी स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक अमर पराजुलीले बताए। स्वच्छ किसिमको स्वयंसेवक दस्ता तयार गर्ने सरकारी नीतिअनुसार क्याम्पस तथा विद्यालयमा गठन गरिने राष्ट्रिय सेवा दलप्रति विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App