१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिएनएन हिरोले बनाइन १२ करोडमा विद्यालय

विद्यालय उद्घाटनपछि सामाजिक विकासमन्त्री दल रावल, सिएनएन हिरो म्यागी डोयन, समाजका अध्यक्ष टोपबहादुर मल्ललगायत।नोटिक रोगबाट बच्न सकिने मण्डलले बताए। तस्बिर : कोपिला भ्याली विद्यालय

सुर्खेत - सिएनएन हिरो अमेरिकी नागरिक म्यागी डोयनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न विद्यालय निर्माण गरेकी छन्। कोपिला भ्याली सेवा समाजमार्फत १२ करोड ५० लाख रुपैयाँको लागतमा विद्यालय भवन निर्माण गरिएको हो। भवनमा कोपिला भ्याली विद्यालय, कोपिला भ्याली बालगृह र कोपिला भ्याली महिला सेवा केन्द्र सञ्चालन हुनेछन्। म्यागीले सिएनएन हिरो हुँदा प्राप्त गरेको एक करोड रुपैयाँसहित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विलिंकनाउ फाउन्डेसन र विभिन्न विदेशी दाताले उपलब्ध गराएको सहयोगबापत वीरेन्द्रनगर नगरपालिका–१ मा नयाँ भवन निर्माण गरिएको हो। समाजका अध्यक्ष टोपबहादुर मल्लले तीन वर्ष लगाएर भवन निर्माण सम्पन्न भएको बताए। करिब तीन बिघा क्षेत्रफलमा भवन निर्माण गरिएको छ।

२०६४ सालमा स्थापित कोपिला भ्याली समाजले कक्षा १२ सम्म विद्यालय सञ्चालन गरिरहेको छ। चार सय ५० भन्दा बढी विद्यार्थी विद्यालयमा निःशुल्क अध्ययन गर्छन्। ‘दिगो रूपमा विद्यालय सञ्चालन गर्दै यस क्षेत्रका गरिब, अनाथ, असहाय तथा पिछडिएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले वातावरणमैत्री भवन निर्माण गरेका हौं,’ अध्यक्ष मल्लले भने, ‘भवन वातावरणमैत्री, भूकम्पप्रतिरोधी, सौर्य ऊर्जा, बायोग्याँसलगायत प्रविधियुक्त छ।’ अध्यक्ष मल्लका अनुसार नवनिर्मित भवनमा २५.२ किलोवाट पावर क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ। सन फार्मर संस्थाको सहयोगमा स्थापना गरिएको सौर्य ऊर्जामार्फत दैनिक एक सय ५० किलोवाट विद्युत् उत्पादन हुनेछ। उत्पादित विद्युत्मध्ये २ प्रतिशत मात्र विद्युत् विद्यालयमा प्रयोग हुने र ९८ प्रतिशत विद्युत् नेपाल सरकारलाई बिक्री गर्ने योजना रहेको उनले जनाएको छ। यस्तै खाना पकाउन पनि सौर्य ऊर्जा प्रयोग गरिएको छ।

भवनसँगै वर्षाको पानी संकलन गर्न तीन लाख लिटरबराबरको ट्यांकी निर्माण गरिएको छ। ट्यांकीमा प्रशोधन प्रविधि जडान गरिएको छ। प्रशोधित पानी सिँचाइमा प्रयोग गरिनेछ। भवनमा नेपालमै पहिलोपटक ‘र्‍याम्ड’ प्रविधिसमेत जडान गरिएको छ। ‘शिशु कक्षा भवन चितवनको प्रशोधिक बाँसबाट निर्माण गरिएको हो,’ उनले भने, ‘प्रशोधित बाँसको आयु ६० वर्षसम्म हुन्छ।’ विद्यालयले खाना पकाउन सोलार शक्तिको प्रयोग गर्ने व्यवस्था मिलाएको छ। जसका लागि छतमा सोलार एकाइ जडान गरिएको छ। यो प्रविधिबाट घाम लागेको दिन करिब पाँच सयजनाका लागि खाना पकाउन सकिन्छ। ‘प्रोपेन एलपी ग्याँसको सट्टा हामीले सोलार कुकर प्रयोग गरेका छौं,’ उनले भने, ‘यहाँ वर्षमा औसत तीन सय दिन घाम लाग्ने भएकाले खाना पकाउन कुनै किसिमको समस्या हुँदैन।’ कोपिला भ्याली सेवा समाजले निर्माण गरेको विद्यालय भवनको आइतबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरे। उनले कोपिला भ्यालीले गुणस्तरीय शिक्षा मात्र नभएर साना नानीबाबुलाई न्यानो माया पनि प्रदान गरेको बताए। उनले गुणस्तरीय शिक्षा विकासको आधार भएको बताउँदै कोपिला भ्यालीजस्ता विद्यालय अझै स्थापना हुनुपर्ने बताए।

प्रकाशित: १० फाल्गुन २०७५ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App