१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

गोरखा–चितवन पुल निर्माण अलपत्र पारेपछि पप्पुको धरौटी जफत

गोरखा - पप्पु कन्सट्रक्सनले जिम्मा लिएर सिध्याउनुपर्ने त्रिसुली नदी माथीको पुल अलपत्र छाडेपछि सडक आयोजनाले धरौटी जफत गर्ने भएको छ। गत माघमा सिध्याउनुपर्ने त्रिसुली नदी माथिको पक्की पुलको अहिले सम्म १६ प्रतिशत मात्रै काम भएको छ।

‘काम नहुने संकेत देखिएपछि धरौटी रकम जफत गरेका हौँ।’ ११ किलो छेवेटार भालुस्वाँरा, बारपाक सडक आयोजनाका प्रमुख बलिराज मल्लले भने। चितनवको इच्छाकामना गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिका जोड्ने गरी पृथ्वीराजमार्गको छेवैमा पुल निर्माण हुन लागेको थियो। १७ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको पुल म्याद सकिँदा समेत सन्तोषजनक काम नभएपछि बैङ्क ग्यारेन्टी राखिएको एक करोड ४९ लाख रुपैयाँ जफत गर्न लागिएको हो।

आयोजनाको लेखा शाखाका अनुसार बैङ्कलाई उक्त रकम जफत गर्न पत्राचार गरिसकिएको र त्यो रोक्का भईसकेको छ। समयमै काम नगर्ने, अलपत्र छाड्ने, सम्झौता अनुसार समय पालनामा ध्यान नदिने लगायतका कारणमा निर्माण कम्पनीको ठेक्का स्विकृत हुँदाको धरौटी रकम जफत गर्न कार्यालयले सक्छ। सोही प्रावधानमा रहेको आयोजनाले पप्पु कन्सट्रक्सनकाे धरौटी जफत गरेको हो।

म्याद सकिएको झण्डै एक वर्ष बितिसक्दा पनि काम भएको छैन। अहिले पनि पुल निर्माणको गती सुस्त छ। गत असोजमा ठेकेदारले पुल निर्माण गर्न गोरखा तर्फ निर्माण सामग्री ढुवानीमा समस्या भएको कारण देखाए। ठेकेदारको सजिलाेका लागि सडक बिभागले सामाग्री लैजान सडकको छुट्टै खर्चमा ‘बेलिब्रिज’ बनाईदिने निर्णय भयो। उक्त निर्णय भएको तीन  महिना पुरा हुँदा पनि प्रक्रिया सुरु भने भएको छैन। काम नगर्ने पप्पुलाई सघाउन बेलिब्रिज सडक कार्यालयले निर्माण गरिदिने सम्झौताको चौतर्फी बिरोध र आलोचना भएको थियो। बेलिब्रिज बनाएपछि पुल निर्माण गर्न चाहिने सामग्री गोरखा तर्फ लैजान र काम गर्न सहज हुने तर्क ठेकेदारको छ। तर स्थानीयले भने बेलिब्रिज बनेपछि त्यहाँबाट आउजाउ गर्न मिल्ने भएपछि झनै ठेकेदारले काम नगर्ने हो कि भन्ने चिन्ता गरेका छन्।

बेलिब्रिज राखेको खण्डमा एक वर्ष भित्र पुल निर्माण सिध्याउने घोषणा ठेकेदारले गरेका थिए। अहिले पुलको दुवै तर्फ वाल उठाउने काम भएको छ। केही टेवा पर्खाल लगायतका काम बाहेक अन्य केही पनि नभएको आयोजनाका इन्जिनियर राजकुमार यादवले बताए। ‘सन्तोष मान्ने खालको प्रगती छैन’ उनले भने ‘सम्झौता भएको बेला भन्दा अहिले डिजाईन परिवर्तन गरेका हौँ, तर पनि काम भएको छैन।’ पुल निर्माण गर्ने ठाउँमा जग खन्ने क्रममा चट्टान आएपछि छुट्टै मेसिन लैजान समस्या भएकाले ढिलाई भएको तर्क ठेकेदारको छ। त्यहाँ सम्म मेसिन लैजान बेनिघाट वा गोरखा सदरमुकाम, बुङ्कोट हुँदै कच्ची सडक पनि प्रयोग गर्न सकिन्छ। ठेकेदारले निर्माण औजार ढुवानीको कारण देखाउँदै चेपाङ गाउँ जोड्ने उक्त पुल पुरा नगर्दा गोरखाको गण्डकी गाउँपालिकाका स्थानीयलाइ आउजाउ गर्न समस्या भएको छ। त्यहाँका स्थानीय दैनिक डोकोमा तरकारी बोकेर झोलुङ्गे पुल आउजाउ गर्नुपर्ने बाध्यतामा छन्। 

 

प्रकाशित: ९ पुस २०७५ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App