डोटी–जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महिन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ। चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए।
सिटक्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि आफूहरूले यहाँका जिपमा जोडिएका पछाडिका सिटहरू हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रूपसिंह थापाले बताए।
‘सामान बोक्ने ठाउँमा यात्रु बोक्ने सिट जडान गरेर यात्रुको यात्रा जोखिम बनाउने तथा बढी दुर्घटना निम्त्याउने सम्भावना भएकाले हामीले सिट हटाउन थालेका छाँै, नहटाउनेलाई कारवाही हुनेछ,’ उनले भने। गाउँका कच्ची सडकमा चल्ने यहाँका जिपमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको अनुमान छ।
जिपका पछाडि जोडिएका सिटहरू हटाउन थालेपछि स्थानीयवासी पनि खुशी भएका छन्। अब यहाँका जिप चालकले चालकसहित पाँच जना मात्रै यात्रु बोक्न पाउने नियम कायम भएको ट्राफिक प्रहरी जवान महेन्द्र विष्टले बताए। रासस
प्रकाशित: ६ मंसिर २०७५ ०७:४६ बिहीबार