२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साढे दुई महिनासम्म नभेटिएका पत्रकार खड्काको पुनः खोजी सुरु

बाजुरा - बुढीनन्दा यात्राबाट कोल्टी फर्कने क्रममा सम्पर्क विहीन बनेका पत्रकार तेजबहादुर खड्का तेजुको खोजी कार्य पुन: सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट बुढीनन्दा र आसपास क्षेत्रमा खोजी कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।

खड्का जनैपूर्णिमाको मेला भरेर फर्कने क्रममा गत भदौ १० गतेदेखि सम्पर्क विहीन भएका हुन्। स्थानीय प्रशासनले बुधबारबाट फेरि बेपत्ता पत्रकार खड्काको खोजीका लागि पहल सुरु गरेको छ। स्थानीय प्रशासनले नेपाल पत्रकार महासंघको आग्रहमा खड्काको खोजीका लागि बुढीनन्दा क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर खटाएको छ।

सेनाको हेलिकप्टरले हवाई मार्गबाट वेपत्ता पत्रकार खड्काको खोजी गर्नुका साथै २० जनालाई उनी वेपत्ता भएको स्थान छेउछाउको क्षेत्रमा उतारेको छ। खड्का बुढीनन्दा रेडियोमा कार्यरत थिए। आफन्तको आग्रहमा सेनाले विभिन्न ठाउँमा हेलिकप्टरमार्फत् खोजी गरिरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।

सरकारले गत भदौमा सम्पर्क विहीन भएका पत्रकार खड्काको खोजीका लागि सेना र प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा खटाएको थियो। सरकारले सुरक्षा निकायलाई वेपत्ता पत्रकार खड्काको खोजी तथा उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएपनि मौसम अनुकूल नभएका कारण भदौमा हेलिकप्टर बुढीनन्दा क्षेत्रमा जान सकेको थिएन।

बुढीनन्दा क्षेत्रमा यतिबेला हिमपात भईसकेको छ। चिसोका कारण पनि खोजी गर्न समस्या देखिएको बताइएको छ।खड्काले रेडियो नेपालको दिपायल क्षेत्रीय प्रशारण केन्द्र हुँदै केन्द्रीय प्रशारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका छन्। उनी प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष समेत हुन्। 

प्रकाशित: २८ कार्तिक २०७५ ०९:१० बुधबार

पत्रकार_तेजबहादुर_खड्का बाजुरा