४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा ४ जनाको शव फेला

उदयपुर – उदयपुरमा बिभिन्न कारणले एकैदिन ४ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान २ जना मृत फेला परेका छन् भने १ जनाको कंकाल जंगलबीच भेटिएको छ। त्यस्तै १ जनाको ढिस्कोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ३ र ९ को सीमास्थल त्रियुगा खोला बगरमा ४५ वर्षीय वकिल मिया बिहान मृत फेला परेका छन्। उनी त्रियुगा नगरपालिका ९ गहिरुनका स्थानीय भएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। त्यसैगरी रौतामाई गाउँपालिका ६ रौतानिकासस्थित माटोको ढिस्कोले पुरेर १ वृद्धाको मृत्यु भएको छ। घर लिप्ने माटो खन्दै गरेका बेला माथिबाट ढिस्को झरेर पुर्दा ५९ वर्षीय मधुमाया रायमाझीको मृत्यु भएको हो।

बिहान ९ः३० बजे गाउँका माटो खन्न गएका एकै गाउँका ४ जनालाई ढिस्कोले पुर्दा रायमाझीको केहीबेरमै मृत्यु भएको र २ बालकसहित ३ जना घाइते भएको मृतकका आफन्त भुपध्वज रायमाझीले बताए। रायमाझीका अनुसार १४ वर्षीय तिलकबहादुर कार्की, १५ वर्षीया बिनिसा बस्नेत र २३ वर्षीय सुबास विक घाइते भएका छन्। उनीहरूलाई उपचारार्थ सदरमुकाम गाईघाट ल्याइदै गरेको छ।

स्थानीय शिवध्जवकी मृतक श्रीमतिको लास पोष्टमार्टमका लागि शुक्रबारै सदरमुकामस्थित जिल्ला अस्पताल झिकाइएको पनि एसपी राईले बताएका छन्। उता उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित पौवा खोलामा १ बेवारिसे लास शुक्रबारै फेला परेको छ। बिहान बाटो हिँड्ने स्थानीयहरुले खोला किनारमा घोप्टो परेर लडिरहेको लास देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी टोली त्यसतर्फ खटाइएको छ। अहिलेसम्म शव कसको भन्ने नखुलेको एसपी राईले बताएका छन्।

उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले शव भेटिएको विषयमा स्थानीयले जानकारी दिएपछि प्रहरीलाई खबर गरेको बताए। उता त्रियुगा नगरपालिकाकै वडा नं. १६ बेलदोभानमा मक्किसकेको नरकंकाल फेला परेको स्थानीयले बताएका छन्। वडाध्यक्ष मानबहादुर राईका अनुसार बिहान घाँस दाउरा गर्न गएका स्थानीयले बेलदोभान माथिको जंगलमा पुरुषको नरकंकाल फेला परेको खबर गरेपछि प्रहरीलाई जानकारी गराइएको थियो। जिल्ला प्रहरीबाट गएको टोलीले कंकाल उठाएर ल्याउदै गरेको तर, अहिलेसम्म कसको भन्ने पत्तो नलागेको अध्यक्ष राईले बताए।    

 

प्रकाशित: १२ आश्विन २०७५ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App