१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बढी कर नतिर्दा ठेकेदारले भत्काईदिए पसल

सर्लाही - मागेजति कर नदिएको भन्दै ठेकेदारले लालबन्दीस्थित तरकारी बजारमा फलफूल व्यापारीको टहरा भत्काई दिएका छन्। ठेकेदारले बढी कर मागेको र त्यसको विरोध गर्दा आफूहरुको पसल नै भत्काई दिएको फलफूल व्यापारीले गुनासो गरेका छन्।

नगरपालिकाले दैनिक प्रति ठेला १२ रुपैंया तोकेपनि ठेकेदारले आफूहरुसँग ४० रुपैंयासम्म लिने गरेको ठेलामा फलफूल व्यापार गरिरहेका अशोक साहले गुनासो गरे। ‘धम्क्याएर ३० देखि ४० रुपैंयासम्म लिने गरिएको छ’, उनले शनिबार नागरिकसँगभने, ‘नगरपालिकाले तोकेभन्दा बढी तिर्दैनौं भन्दै विरोध गर्दा हिजो दिउँसो हाँमीहरुको टहरा भत्काईदिए अनि ४ वटा ठेला सिक्रीले बाँधेर राखेका छन्।’

२० वर्षदेखि ठेलामा फलफूल पसल गर्दै आएका विनोद कापरले बजारमा कर उठाउन ठेक्का लिएका ठेकेदारले यस वर्ष निकै दुःखदिएको गुनासो गरे। ‘२० वर्ष भयो मैले फलफूल पसल गरेको, अघिल्लो वर्ष १० रुपैंया तिरेका थियौं’, उनले भने, ‘तर यसवर्ष ५० लाखको ठेक्का कसरी उठाउने भन्दै जबर्जस्ती ४० रुपैंयासम्म माग्ने गरेका छन्, नदिँदापसलमा बस्ने आईमाई केटाकेटीलाई गालीगलौज एवं कुटपिटसम्मको दुव्र्यवहार सहनु परिरहेको छ।’

४० रुपैंया लिने भए रसिद माग्दा नदिने र उल्टै धम्क्याउने गरेको फलफूल व्यापारिहरुको गुनासो छ । ‘नगरपालिकाले तोकेभन्दा बढी मागिएपछि हाँमीले रसिद माग्यौं तर उल्टै धम्किखाईरहेका छौं’, अर्का फलपूmलव्यापारी रामबाबु महतोले भने, ‘बढी कर मागेको र धम्क्याएको विषयमा ईलाका प्रहरी कार्यालय लालबन्दी तथा नगरपालिकाका मेयरलाई गुनासो गर्दा कुनै सुनुवाई भएको छैन।’

भत्काईएको एवं सिक्रीले बाँधेर राखेको ठेलाको फोटो खिचेको भन्दै शनिबार बिहान ठेकेदारहरुको समूहले पत्रकारहरुलाई समेत दुव्र्यवहारप्रयास गरेका थिए । बजार छेउमै बसेको ठेकेदारको समूहले ‘तपाईहरुले त्यहाँको फोटो खिच्नुभयो, अबहाँमीतपाईहरुको फोटो खिच्छौं’ भन्दै मोबाईलबाट पत्रकारको फोटो खिचेर त्रास देखाउने प्रयास गरेका थिए ।

४–५ जनामिलेर तरकारी बजारको ठेक्का ४८ लाख ५० हजार रुपैंयामा लिएको ठेकेदार समूहका ज्ञानु योञ्जनले बताए । ‘त्यत्रो बढी रकममा ठेक्का सकारेका छौं’, उनले भने, ‘अनि ३० रुपैंया पनि नलिए कसरी हाम्रो लगानी उठ्छ ?’ परिवारका ३÷४ जनाले पसल राख्ने र सबै एउटैको हो भन्दै व्यापारिले प्रति ठेलाको हिसाबले पैसासमेत नदिने गरेको उनले बताए । ‘यहाँ ३÷४ जना व्यापारीले हाँमी सँग निउ खोजिरहेका छन्’, योञ्जनले भने, ‘कर नतिर्ने तर निउमात्र खोज्नेहरुको ठेला नियन्त्रणमा लिएका हौ, अरु पनि थुप्रै पसल छन नि, सहर्ष तिर्नेहरुको केही पनि गरेका छैनौं ।’

लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले ठेकेदारले बढी लिन खोज्ने र फलफूल व्यापारीले कम दिन खोज्ने गरेकाले विवाद निम्तिएको बताए। ‘ठेकेदारले बढी लिन खोज्ने र व्यापारीले तिर्न नखोज्ने गर्दा विवाद आएको छ’, मेयर खड्काले भने, ‘व्यापारीहरुले ठेकेदारले कर बढी लिएको गुनासो गरेका छन्, पट्टामा तोकिएभन्दा बढी लिएको प्रमाण ल्याओ, कारबाही गर्छु भनेको छु ।’

प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले तोकिएभन्दा बढि कसैले कर लिन नपाइने बताए । ‘तोकिएभन्दा बढी कर कुनै पनि हालतमा लिन पाईदैन’, प्रजिअ पोखरेले भने, ‘म मेयरसँग कुरा गर्छु र बढी कर लिने ठेकेदारलाई नियन्त्रणमा लिन प्रहरीलाई भन्छु।’

 

प्रकाशित: ३० भाद्र २०७५ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App