दमक - राजधानी काठमाडौंमा बिम्स्टेक सम्मेलन जारी छ। भारत, भुटानसहितका मुलुकका सरकारप्रमुख सम्मेलनमा सहभागी छन्। सुदूर पूर्वको झापामा शरणार्थी जीवन बताइरहेका भुटानी नागरिक अब भारत र भुटानसहित नेपालले आफूहरुलाई स्वदेश फर्काउन सहमति गर्लान् भन्ने आशमा छन्। यसअघि शरणार्थीले आफूहरुलाई स्वदेश फर्काइदिन भन्दै पटकपटक मागपत्र प्रस्तुत गरे तर समस्या उस्तै छ। ‘हामी पटकपटक माग राख्छौं, समस्याको दीर्घकालीन समाधान गरिदिन भन्छौं’, शरणार्थी सन्तविर घलेले भने, ‘तर समस्या समाधान भएन। नेपाल, भारत र भुटानमा नयाँ प्रधानमन्त्री चुनिँदा होस् वा भुटान तथा भारतका शासकबाट नेपालको भ्रमण हुँदा होस्, उनले हरेक पटक मागपत्र पठाउने गरेका छन् । उमेरले पनि वृद्ध भइसकेका उनी भुटानी शरणार्थी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समितिका संयोजक हुन् । उनको गुनासो छ, ‘तर खै अहिलेसम्म हामीलाई स्वदेश फर्काउने दिशामा कामै अघि बढेको छैन।’
पटकपटक शरणार्थी समस्या समाधान गर्न आग्रह गरे पनि सुनुवाइ नभएको बेलडाँगी शरणार्थी शिविरका पूर्वसचिव डिबी सुब्बाले बताए । ‘तर अहिलेसम्म दिगो समाधानका लागि प्रयास नै भएन’, उनले भने। सुब्बाका पत्रमार्फत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि समस्या समाधानका लागि आग्रह गरिएको छ। ‘तर नेपाल एक्लैले यो समस्या समाधन गर्न सक्दैन’, उनले भने, ‘त्यसका लागि नेपालसहित भारत र भुटान पनि सहमत हुनुपर्छ ।’ भारतको सहयोग नभई स्वदेश फिर्ती हुन नसक्ने शरणार्थीको बुझाइ छ।
बिम्स्टेक सम्मेलनका क्रममा यति बेला नेपाल, भारत र भुटानका सरकार प्रमुख यति बेला एउटै मञ्चमा जम्मा भएका छन्। यो जमघटले आफूहरुको समस्या समाधानका लागि ठोस उपाय खोज्ने आशा शरणार्थीको छ।
शरणार्थी समस्या सुरु भएको अढाइ दशक बित्यो, अझै समाधान हुन सकेको छैन। शरणार्थीको संख्या घटे पनि समस्या उस्तै छ । अहिले शरणार्थीका लागि सबै खाले विकल्प बन्द छ । नेपाल सरकारले पनि कहिलेसम्म शरण देला भन्ने पीर छ । तेस्रो मुलुक पुनर्वासपछि बाँकी रहेका ७ हजार शरणार्थी अहिले अन्योलमा छन् । ‘तेस्रो मुलुक जाने विकल्प बन्द भइसक्यो, शिविरमा रासनसमेत आउन छाडेको अवस्था छ’, बेलडाँगी शरणार्थी शिविरका सचिव टीकाराम रसाइलीले भने, ‘अब घर फर्कनेबाहेक अरु विकल्प छैन।’
भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई अब शरणार्थी समस्याको दिगो समाधानका लागि घर फिर्तीबाहेक विकल्प नभएको बताउँछन्। ‘नेपालले शरण दिएको २५ वर्षभन्दा बढी भइसक्यो’, उनले भने, ‘अब सरकारले भुटानसम्म पुग्ने व्यवस्था गरिदिनुपर्छ।’ त्यसका लागि भारतीय भूमिका प्रभावकारी हुने उनको बुझाइ छ।
भारतीय भूमिका
नेपाल र भुटानबीच शरणार्थी समस्यालाई लिएर धेरैपटक वार्ता भयो तर परिणाम निस्केन। भुटानी राजा र प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा शरणार्थीले आवाज उठाए तर सुनिएन। उनीहरुले भुटान जानका लागि मेची पुलमा आन्दोलन गरे तर भारतले बाटो दिएन।
भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक डाक्टर भम्पा राई दीर्घकालीन समस्या समाधानका लागि अब भारतबिनाको वार्ताको औचित्य नभएको देख्छन्। ‘नेपाल र भुटानबीच धेरैपटक वार्ता भयो तर समस्या समाधान भएन’, उनले भने, ‘अब भारत, भुटान र नेपालसहितको बहुपक्षीय वार्ता आवश्यक छ।’
शरणार्थी अगुवाहरुको बुझाइमा भुटानका हरेक जसो मामिलामा भारतको गहिरो प्रभाव छ। ‘भारतले भुटानको परराष्ट्र मामिलामा प्रभाव राख्ने भएकाले पनि उसको सहभागितासहितको वार्ता आवश्यक छ,’ राईले भने, ‘अब भारतविनाको वार्ताको कुनै औचित्य छैन।’ यसअघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणमा आउँदा नेपालका सबैजसो नेतालाई भुटानीले भेटे। तर उनीहरुको कुरा भ्रमण क्रममा उठाइएन। ‘नेपाली भाषीलाई जहिले पनि भुटानको चुनौतीका रुपमा हेर्ने गरिएको छ’, राईले भने, ‘विगतमा यही कारण हामी त्यहाँबाट लखेटियौं। भुटानका नेपाली भाषीको भुटानप्रतिको राष्ट्रप्रेमप्रति शंका गर्ने सोच नहटेसम्म भारतले बाटो खुलाउला भन्नेमा खासै भर छैन।’ बिम्स्टेक सम्मेलनका क्रममा यति बेला नेपाल, भारत र भुटानका सरकार प्रमुख यति बेला एउटै मञ्चमा जम्मा भएका छन्। यो जमघटले आफूहरुको समस्या समाधानका लागि ठोस उपाय खोज्ने आशा शरणार्थीले गरिहेको राईले बताए।
प्रकाशित: १५ भाद्र २०७५ ०२:१९ शुक्रबार