१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘ऋण काडेर श्रीमानको किरिया गर्‍याैं, खै क्षतिपूर्ति कहिले पाईएला ?’

पिडित पक्षकाे बसाेबास रहेकाे घर।

सर्लाही - ‘घर चलाउने मुख्य मान्छेको मृत्यु भएपछि हाम्रो बिजोग भएको छ, १३ दिने काजकिरिया पनि ऋणमा पैसा खोजेर जसोतसो गर्‍याैं, क्षतिपूर्ति पो कहिल्य पाईएला?’ हाईभोल्टेजका कारण विद्युत करेन्टबाट मृत्यु भएका जिल्लाको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकाका नरेन्द्र चौधरीकी पत्नी किशुनदेवीको गुनासो हो यो। 

हरिपूर्वा नगरपालिका–९, बसन्तपुरको बगेबा गाउँ निवासी ३६ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता खत्वे मण्डलको साउन ७ गते सोमबार हाईभोल्टेजका कारण करेन्ट लागेर मृत्यु भएको थियो। त्यस्तै स्थानीय २० वर्षीया फूलोदेवी महतो लगायत आधा दर्जन गाउँले घाईते भएका थिए। 

मृतक चौधरीकी पत्नी किशुनदेवीले क्षतिपूर्ति रकममा ढिलाई हुँदा आफूहरुलाई निकै समस्या भएको गुनासो गरिन्। ‘घर चलाउने मुख्य मान्छे वितिहाल्नु भो, परिवार धान्न छोराले दैनिक मजदुरी गर्न थालेको छ’, नागरिकसँग चौधरीले गुनासो गरिन्, ‘क्षतिपूर्ति पाए स–सानो व्यवसाय वा अन्य केही उपाय गर्नुहुन्थ्यो तर खै प्रहरीले बोलाउने र सहीछाप गराउने बाहेक केही भएको छैन ।’ श्रीमानको मृत्यु पछि १ छोरा तथा २ साना छोरी सहितको परिवार धान्न निकै कठिन भईरहेको उनले बताईन्।

जेठो दाजुको मृत्यु पश्चात भाउजु लगायत छोराछोरीको व्यवहार चलाउन निकै समस्या आईपरेको साँईला भाई बिमलेस चौधरीले बताए । ५ दाजुभाई छुट्टिएपनि एउटै घरमा कोठा बेरेर बस्दै आएका छन्। गाउँले तथा आफन्त सहितले मृतकका परिवारलाई कम्तिमा १५ लाख रुपैंयाको दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा परिवारका एकजनालाई रोजगारी उपलब्ध गराउनुपर्ने माग राखेर शव पोष्टमार्टम नै गर्न नदिई जिल्ला अस्पतालमा राखिएको ३ दिनपछि मात्रै शव बुझेका थिए। घटनाको तेस्रो दिन मृतकका परिवारलाई कानून बमोजिम पाउने क्षतिपूर्ति विद्युत प्राधिकरणले तत्काल उपलब्ध गराउने र मलंगवा शाखाले थप राहतका लागि पीडितको निवेदन सम्बन्धित निकायमा पठाउने र पहल गर्ने, मृतक परिवारका एक सदस्यलाई स्थानीय स्तरमा रोजगारी उपलब्ध गराउन सबै पक्षहरुले सहयोग पुर्‍याउने, घाइतेहरुको उपचारमा लागेको नियम बमोजिमको खर्च विद्युत प्राधिकरण मलंगवा शाखाले सम्बन्धित निकायमा लेखि पठाउने लगायत ६ बुँदे सहमति पश्चात आफन्तले शव बुझेका थिए। 

सहमति पत्रमा पीडित परिवारको तर्फबाट मृतक चौधरीकी पत्नी किसुनिया देवी चौधरी र खत्वेकी आमा दौलतिया देवी खत्वेले हस्ताक्षर गरेका छन् भने प्राधिकरणको तर्फबाट मलंगवा शाखा प्रमुख माघवप्रसाद यादव, ईन्जिनियर विजयकुमार सिंह, सहायक लेखा अधिकृत हरिनारायण प्रसाद र वरिष्ठ सहायक विश्वनारायण मिश्र लगायतले हस्ताक्षर गरेका छन। 

मोबाईल चार्जका लागि घरमा रहेको स्वीच अन गर्ने क्रममा उनीहरुलाई करेन्ट लागेको स्थानीयले बताएका छन् । ११ हजार भोल्टेजको हाईटेन्सन लाईनको तार खसेर घरमा वितरण गर्ने २४० भोल्टेजको तारमा छोएका कारण हाई भोल्टेज आउँदा स्वीच अन गर्ने क्रममै उनीहरुलाई करेन्ट लागेको थियो। 

नेपाल विद्युत प्राधिकरण मलंगवाका निमित्त प्रमुख विजयकुमार सिंहले प्राधिकरणको नियमानुसार अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने गरी क्षेत्रीय कार्यालयमा कागजात सिफारिस गरिसकिएको जानकारी दिए। ‘हामीले क्षेत्रीय कार्यालय जनकपुरमा कागजात पठाईसक्यौं’, उनले भने, ‘क्षेत्रको सिफारिस पुगेपछि केन्द्रले छानविन समिति गठन गर्छ र स्थलगत रुपमा बुझेपछि मात्र क्षतिपूर्ति बारेमा निर्णय हुन्छ।’ विद्युत प्राधिकरणको नियमानुसार प्रति मृतक परिवारलाई अधिकतम ५ लाख रुपैंयासम्म उपलब्ध गराउन सकिने व्यवस्था रहेको र थप क्षतिपूर्तिकालागि सबै पक्षले पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले जानकारी दिए।

प्राधिकरणको लापरबाहीका कारण मृत्यु भएकाले पीडित परिवारलाई यथाशिघ्र अधिकतम क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग स्थानीयको छ । तर प्राधिकरणका निमित्त प्रमुख सिंहको भनाई अनुसार पीडित परिवारले बढीमा ५ लाख क्षतिपूर्ति पाउने र त्यो पनि महिनौं कुर्नुपर्ने देखिन्छ। 

 

प्रकाशित: २७ श्रावण २०७५ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App