रौतहट - मनसुनकाे सक्रिय भएसँगै बाढीको उच्च जोखिममा रहेका राैतहटका दर्जनौँ गाउँका बासिन्दा त्रासमा रहेका छन्। गत वर्षको भीषण बाढीले दुई दर्जनभन्दा बढी स्थानमा बागमती र लालबकैयाको तटबन्ध भत्काएको र हालसम्म मर्मत हुन नसकेकोले बाढीको उच्च जोखिममा रहेका दर्जनौँ गाउँका स्थानीयबासी बाढी पसेर गत वर्षकै नियति दोहोरिने आशंकाले त्रासमा रहेका हुन्।
गत वर्षको साउन २७ का दिन आएको विनाशकारी बाढी पुनः यसपाली आउने त होइन भन्ने सम्भावित खतराबाट रौतहटबासी सशंकित भएका हुन। गत बर्ष बाढीबाट वागमती र लालबकैया नदीका बाँधहरुको संरचना ३१ स्थानमा भत्किएको थियो तर समयमा मर्मत सम्भार हुन सकेको छैन। स्थानीय बासिन्दाहरुको विरोधपछि जेठ महिनादेखि मर्मत कार्य संचालन गर्न थालिएपनि मनसुन सक्रिय हुँदा निर्माणकार्य अलपत्र परेका छन्।
दुई तिन दिनमा ठूलो पानी पर्ने र त्यसबाट बागमती नदी लगायत अन्य नदीहरुमा बाढीको उच्च जोखिम हुने मौसम विभागको रेड अलर्टका कारण यहाँका बासिन्दाहरु सम्भावित बाढीबाट हुने जनधनको क्षतिबाट त्रसित बनेका छन्।
गढीमाई नगरपालिकाको लक्ष्मिपुर गाउँ नजिकै वागमती नदीमा आएको बाढीले बाँध फुटाएपनि हालसम्म मर्मत सम्भार नहुँदा त्यस भेगका दर्जनौ गाउँसंगै गौर नगर समेत बाढीको उच्च जोखिममा रहेको स्थानीय बासिन्दाहरु बताउँछन्। 'बर्षा लागिसक्यो बाँधको मर्मत अझै सम्पन्न हुन सकेको छैन' स्थानीय समनपुरका रबीन्द्र सहनीले गुनासो गरे। भत्किएका बाँधमा माटो पुरेर मर्मत भएको तर अहिले भईरहेको आकासे झरीका कारण पुरिएको माटो बगेर ठूलो दुर्घटना निम्त्याउन सक्ने जोखिम बढेको सहनीको भनाइ छ।
गत बर्षको विनाशकारी बाढीमा परी १७ जनाको मृत्यु भएको थियो । बाढीमा डुबेको कैयौँ गाउँका स्थानीयबासीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए । बाढीले हजारौ घर भत्काएको थियो भने हजारौँ बिगाहामा लगाइएका बाली नष्ट गरेको थियो।
गौरनजिकै रहेको टिकुलियामा लाल बकैया नदीले भत्काएको बाँध मर्मत हुन नसक्दा फेरि पनि सदरमुकाम डुवानमा परेर गत वर्षकै नियति दोहोरिने आशंकाले गौरबासी त्रसित छन् ।
जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले गत असोज महिनामै ३१ स्थानमा भत्किएको बाँधको यथाशिघ्र मर्मत गर्न विभागमा पत्राचार गरिएको तर बजेट अभावको कारण समयमा मर्मत नभएको बताएका छन्। बजेट अन्तिम समयमा थोरबहुत आएकोमा मर्मत कार्य युद्धस्तरमा भईरहेको दाबी श्रीवास्तवले गरेका छन्।
जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भत्किएका बाँधहरुको तत्काल मर्मत गर्न जल उत्पन्न प्रकोप कार्यालयलाई निर्देशन दिदा उक्त मर्मत कार्य भईरहेको बताउदै खोला किनारका बासिन्दाहरुलाइ सचेत भएर बस्न उनले आग्रह गरे। बाढी आएमा विपद व्यवस्थापन समितिबाट जोखिममा परेका बासिन्दाहरुलाई उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालाई तैयारी अवस्थामा राखिएको प्रजिअ रिजालले स्पष्ट बताएका छन्।
प्रकाशित: १७ असार २०७५ १२:४० आइतबार