२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बर्षाले जलविद्युत आयोजनाको संरचना बगाउँदा करोडौको क्षति

तेह्रथुम– वर्षा संगै आएको बाढीले निर्माणधिन माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको संरचना बगाए पछि करिब डेढ करोड रुपैयाको क्षति पुर्याएको छ। 

बर्षा सगै आएको बाढीले तेह्रथुममा निर्माणाधीन ७.५ मेगावाटको आयोजनाको ‘अन्डर स्लुइस गेट’ र ‘ग्रावेल ट्राप’ बगाए पछि करिब डेढ करोडको क्षति भएको  हो। बाढीले मेन्छ्यायेम गापा साबिक मोराहाङको ईवाखोलामा निर्माणाधीन बाँधको संरचना बगाएको तेह्रथुम पावर कम्पनीका प्रबन्ध निर्देशक मोहन डाँगीले बताए। उनका अनुसार संरचना बगाउँदा डेढ करोड रुपैयाँ बराबरको क्षति भएको छ। 

बाढीले आयोजनाको संरचनामा क्षति पुर्याए पनि विद्युत उत्पादन गर्ने तालिका प्रभावित नहुने तेह्रथुम पावर कम्पनीका अध्यक्ष भुपति श्रेष्ठले  बताए। उनका अनुसार आयोजनाबाट २०७६ असार १ गतेबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) मा २०७६ पुस १ गतेबाट व्यवसायिक उत्पादन सुरु गर्ने तालिका भए पनि ६ महिना अघि निर्माण सम्पन्न हुने कम्पनीको दाबी छ। 

सबै संरचनाको निर्माण अघि बढेको आयोजनाको सिभिलतर्फ ४० प्रतिशत काम सकिएको छ। बाँध, पाइप लाइन तथा विद्युतगृह निर्माणको काम अघि बढेको छ। ३० प्रतिशत पाइप बिछ्याउने काम समेत पूरा भएकोले विद्युतगृहमा पनि जग खन्न सुरु गरिएको कम्पनीले जनाएको छ। खोरुङ्गा खोलाको पानी इवाखोलाको बाँधमा झारेर विद्युत गृहसम्म पठाई विद्युत उत्पादन गर्ने गरी आयोजना डिजाइन गरिएको छ। आयोजना अन्तर्गत खोरुङ्गा र इवाखोलामा छुट्टा छुट्टै बाँध निर्माण गरिंदैछ। 

१ अर्ब ३७ करोड रुपैयाँ लागतमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ। आयोजनामा अधिकांश स्थानीयले पुँजी लगानी गरेका छन्। आयोजनाबाट उत्पादित विद्युत ४.७ किलोमिटर दुरीको जिरीखिम्ती प्रसारण लाइन मार्फत ३३ केभी जिरीखिम्ती सबस्टेसनमा जोडिनेछ।

आयोजना निर्माणका लागि  माछापुछ्रे बैक, एनबि बैक र जनता बैकले १ अरब  लगानी गर्ने  भए पछि काम सुरु भएको कम्पनीका अध्यक्ष श्रेष्ठले बताए। आयोजनाका  लागी चाहिने अन्य ३७ करोडमा स्थानीयले १० प्रतिशत, सर्बसाधारणले २० प्रतिशत र प्रमोटरले ७० प्रतिशत लगानी गर्ने भएको आयोजनाका अध्यक्ष  श्रेष्ठले बताए। 

जिल्लाकै पानीको श्रोत भएको खोरुङवाखोलाबाट बिजुली निस्कीने भए पछि स्थानीयबासी खुसी भएका छन्। जिल्लाका अन्य खोला भन्दा गहिरो सतहबाट बगेर खेरगई रहेको पानी अब मात्र सदुपयोग हुन लागेको  स्थानीयले बताएका छन्। यसैबीच आयोजना सुरु भए यता आयोजना क्षेत्रमा  चहलपहल समेत बढेको छ। आयोजना निर्माणका लागि आयोजना स्थलमा १ सय बढी मजदुरहरु बस्न थाले पछि चहलपहल मात्र हैन आर्थिक कारोबार समेत बढेको स्थानीय रामचन्द्र भट्टराईले बताए।

प्रकाशित: १५ असार २०७५ १६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App