१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

खानेपानीको हाहाकार, शौच गर्न समेत समस्या

खानेपानीको मुहान सुके पछि थोपा थोपा झर्ने पानी भर्न लाइन लगाइएका भाँडाहरु। तस्वीर : सुमन मल्ल, मुगु

वैशाख – जिल्लाको पूर्वी करान क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ कार्ति गाउँमा खानेपानीको चरम समस्या देखिएको छ।

गाउँ नजिकै रहेको पानीको मुहान सुकेको र अन्य स्रोत नजिक नरहेकाले खानेपानीको हाहाकार भएको स्थानीयले बताएका छन्। पानीको मुहान सुकेपछि दश लिटर पानी भर्न घण्टौंसम्म लाईन बस्नु पर्ने बाध्यता रहेको राष्ट्रिय प्राथामिक विद्यालय कार्तिका प्रधानाध्यापक असलबहादुर मल्लले जानकारी दिए। खाना पकाउन र पिउन न त के पानी अभावका कारण शौच गर्न नै समस्या भई रहेको प्रधानाध्यापक मल्लले बताए। पानी नभए पछि चर्पीमा शौच गर्न नमिल्ने तथा शौच गर्नकै लागि जंगल तिर जानु पर्ने अवस्था सिर्जना भएको उनले बताए।

कार्ति गाउँमा देखिएको खानेपानी समस्या समाधान गर्न क्रमागत योजना सुरु गरिएको जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयले जनाएको छ। यो आर्थिक वर्षका लागि दुई लाख असी हजार बजेट व्यवस्था गरी काम सुरु गरिएको कार्यालयले जनाएको छ।

क्रमागत योजना भएकाले तीन वर्षमा गाउँमा खानेपानी आपुर्ति गर्न सकिने कार्यालयका खरिदार चक्र भण्डारीले बताए। खानेपानी कार्यालयको क्रमागत योजना पनि दुई तीन वर्ष पछि मात्र सम्पन्न हुने भएकाले गाउँमा पर्याप्त खानेपानी आपुर्तिका लागि अरु विकल्प समेत खोज्नु पर्ने देखिएको छ। अहिले थोपा चुहिने पानीको मुहान सुकेमा दुई घण्टा तल झरेर डोल्फु कर्णालीको पानी ल्याउनु पर्ने अवस्था आउने स्थानीयको भनाई छ।

प्रकाशित: २३ वैशाख २०७५ ०६:३० आइतबार

खानेपानीको हाहाकार शौच गर्न समेत समस्या