१७ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

विकलको मुद्दामा विशेषज्ञको बकपत्र मगाइयो

विशेष अदालत काठमाडौंले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलको भ्रष्टाचार मुद्दामा विशेषज्ञहरुलाई बुझ्ने आदेश गरेको छ ।

न्यायाधीशहरु रामबहादुर थापा, रितेन्द्र थापा र विदुर कोइरालाको सोमबारको इजलासले प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्यावको परीक्षण प्रतिवेदन पेश गर्ने विशेषज्ञहरुको वकपत्र र बहस नोट पेश गर्न आदेश गरेको हो । ल्याव परीक्षण प्रतिवेदन पेश गर्ने तीनजना र अख्तियारको तर्फबाट दुई गरी पाँचजना रहेका छन् । उनीहरूको अदालतमा वकपत्र पेश हुनेछ । साथसाथै अदालतले बहस नोट पेश गर्न आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध गत जेठ ९ गते विशेष अदालतमा ६२ करोड १९ लाख रुपैयाँ दाबीसहित मुद्दा दर्ता गरेको थियो । उनको घरकोठाबाट बरामद भएका विद्युतीय उपकरणहरुबाट प्राप्त प्रमाणका आधारा पौडेल कार्यकारी पदमा रहँदा दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख थियो ।

विभिन्न निकायमा आपूर्ति हुने सामग्री खरिदवापत स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीहरुबाट कमिशन रकम प्राप्त गरी सिंगापुरस्थित युनाईटेड ओभरसिज बैंक र संयुक्त राज्य अमेरिका स्थित बैंक अफ अमेरिकामा रकम जम्मा गर्ने गरेको अख्तियारको दाबी छ।

प्रकाशित: १४ माघ २०८१ १६:३२ सोमबार

#विकल पौडेल #Bikal Poudel