४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

काठमाडौं महानगरमा सेवाग्राहीलाई सित्तैमा चिया, कफी र पानी

आइतबार काठमाडौं महानगरपालिका पुग्दा शान्त थियो। अघिपछि झैं चहलपहल थिएन। कर्मचारी र सेवाग्राहीबिचको किचलो पनि देखिएन। बरु सेवाग्राहीहरू सहज रूपमा सेवा पाएर खुसी देखिन्थे। सेवाग्राहीका लागि व्यवस्था गरिएका तीनवटा फ्रन्ट डेस्कमा कामको प्रकृतिअनुसार सोधपुछ भइरहेको थियो।

कोही दर्ता त कोही भेटघाटका लागि टोकन लिएर आगन्तुक कक्षमा बसिरहेका थिए। आगन्तुक कक्षनजिकै चिया, कफी र पानीको व्यवस्थासमेत गरिएको थियो। यी सबै देख्दा लाग्छ, महानगर कुनै सरकारी कार्यालय नभएर पाहुना सत्कारका लागि बनाइएको अतिथि गृहजस्तो झझल्को भइरहेको थियो।

यति मात्र होइन, महानगरले व्यवस्था गरेको एकल सेवा केन्द्रले सेवाग्राहीको दर्ता, सोधपुछ, चलानी तथा भेटघाट सेवाहरूलाई सहज बनाउन केही कर्मचारी र विज्ञ नै खटाएको छ। यसले साक्षर र निरक्षर दुवैलाई सेवाका लागि सहज बनाइदिएको सेवाग्राहीको भनाइ छ। पूर्वतयारी र आवश्यक कागजात व्यवस्थापनको समेत तयारीबारे सम्पूर्ण जानकारीका लागि विज्ञहरू खटिएर कामकारबाही निकै सहज भइरहेको थियो।

सेवाग्राही श्यामसुन्दर श्रेष्ठले घर निर्माण सम्पन्नका लागि महानगर पुग्दा अनौठो अनुभव गरे। विगत झैं उनलाई झन्झट खेप्नुपरेन। महानगरअगाडि व्यवस्था गरिएको डेस्कबाटै काम भएको उनले सुनाए। ‘मैले फाइल महानगरको फ्रन्ट डेस्कमै दर्ता गराएँ’, श्रेष्ठले भने, ‘दर्ता गराएपछि केही बेर कफी पियर बसेको थिएँ। त्यतिबेला नै कागजात नमिलेको थाहा पाएँ। कागजात मिलाएर आउने छु।’

विगत झैं फाइल बोकेर कोठा–कोठा चाहर्नुनपरेको उनले बताए। उनले भने, ‘हाकिमको धाक पनि खेप्नुपरेन। निकै सहज भयो काम गराउन। हुन त चिया र कफी हामीले तिरेकै करको हो तर पनि चिया कफीको व्यवस्थाले मनमा सकारात्मक र अपनत्वको भाव जाग्यो।’

महानगरले सेवाग्राहीलाई अतिथि मानेर चिया कफीसहितको सत्कार गरी सहज र सरल रूपमा काम गराउन एकल सेवा केन्द्र स्थापना गरेको केन्द्रकी प्रमुख राजेश्वरी शाहीले बताइन्। केन्द्रले भदौ तेस्रो सातादेखि सेवाग्राहीलाई सोधपुछ, दर्ता, भेटघाट र चलानीको सेवा उपलब्ध गराउँदै आएको र दुई महिनाभित्र सकारात्मक प्रतिक्रिया आइरहेको उनले जनाइन्।

‘सोधपुर र दर्ताका लागि टोकन प्रणालीको व्यवस्था गरिएको छ भने कामका लागि कुरिरहेका सेवाग्राहीलाई सत्कारका लागि चियाकफीको व्यवस्था गरिएको हो’, प्रमुख शाही भन्छिन्, ‘एकल सेवा केन्द्रको एक मात्र उद्देश्य हो सेवाग्राहीले कामका लागि हाकिमका कोठा चाहर्नु नपरोस् र सहज सेवा मिलोस्। यसका लागि महानगरले १५ लाख बजेट व्यवस्था गरेको छ।’ उनले मनोसामाजिक परामर्स सेवासहितको प्राथमिक उपचार र स्तनपान कक्षको थप सुविधा व्यवस्था गरिएको बताइन्।

महानगरका सहप्रवक्ता धु्रवकुमार काफ्लेका अनुसार सेवाग्राहीले सानो कामका लागि पनि विभाग–विभाग चहारिरहने प्रवृत्तिको अन्त्य एकल सेवा केन्द्रले गरेको छ। ‘कानुन र प्रशासनसहितको विज्ञ भएको डेस्कले सेवाग्राहीको कामको प्रकृतिअनुसारको दर्ता गरी कर्मचारी आफैंले हार्ड कपीसमेत लिएर सम्बन्धित विभागमा पुगेर काम गराउने व्यवस्था गरिएको छ’, काफ्लेले नागरिकसँग भने, ‘काम भए/नभएको नोटिफिकेसन पनि सेवाग्राहीको मोबाइल फोनमा आउने व्यवस्था हुने छ।’

अहिले सेवाग्राहीको काम, प्रक्रिया, कागजात अपुग वा अन्य सबै जानकारी एकल सेवा केन्द्रले उपलब्ध गराउने उनको भनाइ छ।

महानगर सहरी योजना आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार सेवाग्राहीलाई सरकारी कार्यालयप्रति सकारात्मक सोचको भावना र अपनत्व जगाउन महानगरले सेवा सत्कारका लागि चियाकफीको व्यवस्था गरेको हो भने सेवाग्राहीको सहज सुविधाका लागि एकल सेवा केन्द्र व्यवस्था गरिएको हो। ‘कामकाजी व्यक्तिले आफ्नो कामको प्रक्रिया दर्ता गराएर आफ्नो काममा गए हुन्छ’, बास्तोलाले भने, ‘काम सकेर महानगरमा आएर आफ्नो काम भएनभएको जानकारी लिन पाइने भयो। यसले समयको पनि बचत हुने नै भयो। साथै चिया कफी पियर बस्दा बोर पनि भएन।’

सहरी योजना आयोगका विज्ञ शैलेन्द्र झाका अनुसार महानगर आफ्नो सेवालाई सर्वसुलभ बनाउन ३१ वटा स्वर्णिम योजना र ११ वटा गौरवका योजना सञ्चालन गरिरहेको छ। ३१ वटा स्वर्णिम योजनामध्ये एकल सेवा केन्द्र एउटा कार्यक्रम हो। ‘स्वर्णिम कार्यक्रम निरन्तर चलिरहन्छ। चिया कफी कार्यक्रम सेवाग्राहीको सत्कारका लागि हो। यो निरन्तर चलिरहन्छ’, झाले भने, ‘महानगरका सबै काम र विभाग–विभागमा पुर्‍याउने फाइलहरू पनि अब महानगरको कर्मचारीबाटै हुने तय गरिएको छ। सेवाग्राही दर्ता गराएर गए पनि भयो।’

अब पेपरलेस महानगर बनाउने तयारी भइरहेको उनको भनाइ छ। उनी भन्छन्, ‘सेवाग्राही र हाकिमको भेट पनि कम गरिन्छ र सेवाग्राहीका काम सहज रूपमा सम्पन्न हुन्छन्।’

प्रकाशित: ३ मंसिर २०८१ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App