२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

सन्तमाथि आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं– सन्तगुरु तथा गौ रक्षक श्री निवासाचार्यमाथि शनिबार राती भएको आक्रमणको विरोधमा सोमबार राजधानीमा प्रदर्शन भएको छ। 

विभिन्न हिन्दूवादी संघ संगठनको सामूहिक आयोजनामा माइतीघरमा घटनाका दोषीमाथि कारवाहीको माग गर्दै सोमबार दिउँसो प्रदर्शन गरिएको हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले बताए। ‘धर्मनिरपेक्षता, गौ हत्या र सनातन धर्म संस्कृति माथि हुने प्रहारको विरोधमा हामी प्रदर्शनमा उत्रिएका हौं’, उनले भने- ‘यसअघि बिभिन्न समयहरुमा हिन्दु धर्मालम्बी सन्त महन्थहरु माथि आक्रमण गर्ने, हत्या गर्ने, नियोजित रुपमा फसाउने काम हिन्दु बिरोधी शक्तिहरुले गर्दै आएका छन्। अब हिन्दु धर्मालम्बीहरु जाग्नु जरुरी छ।’

उनका अनुसार सनातन धर्मावलम्बीको ओमकार परिवार छाताभित्र रहेका ३८ वटा संस्थाका प्रतिनिधी नाराबाजी गर्दै माइतीघर पुगेका थिए। उनीहरुले धर्मनिरपेक्षताका कारण हिन्दू संस्कृतिमाथि प्रहार भएको भन्दै विरोधमा उत्रिन बाध्य भएको प्रतिक्रिया दिएका छन्।  

विरोध कार्यक्रममा सहभागीहरुले ‘विदेशी शक्तिको चलखेल बन्द गर, युरोपियन युनियन फिर्ता जाउ, गौहत्या बन्द गर, हिन्दू राष्ट्र कायम गर, विदेशी दलाललाई कारवाही गर, गृहमन्त्री राजीनामा देउ, केपी ओली सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए। 

कार्यक्रममा सहभागी वरिष्ठ अभिवक्ता विष्णु भट्टराईले सनातन धर्ममाथिको प्रहार सैह्य नहुने बताए। हिन्दू धर्मको रक्षा गर्न अब हरेक नागरिक जागरुक हुनुपर्ने बेला आएको उनको भनाई थियो। 

३ सयभन्दा बढीको संख्यामा रहेका सहभागीहरुले ‘ओम’ भनेर अज्ञात समूहको गोली लागेर घाइते सन्तगुरु तथा गौ रक्षक श्री निवासाचार्यको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

शुक्रवार राती २ बजे राम मन्दिरमा अज्ञात व्यक्तिले गोली प्रहारबाट घाइते श्री निवासाचार्यको विराटनगरमा उपचार भईरहेको छ।

सन्तमाथि आक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन फोटो फिचर