६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

मर्दीमा ज्यान गुमाएका गाइडको शव पोखरा ल्याइयो

.

मर्दी हिमाल आरोहणका क्रममा लडेर ज्यान गुमाएका एकजना पदयात्रा गाइडको शव हेलिकप्टबार उद्धार गरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका गाइड लालबहादुर तामाङको केहीदिन अघि नै शव फेला परेको थियो।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले तामाङको शव बिहीबार पोखरा ल्याएर परिवारलाई बुझाएको जानकारी दिए। ‘आरोहणका क्रममा लडेर खोंचमा खसेर ज्यान गुमाएका थिए। तर, उनको शव फेला पारेपनि ल्याउन कठिन भएको थियो। बिहीबार बिहान हेलिकप्टरबाट शव ल्याएर परिवारलाई बुझाइएको छ,’ उनले भने।  

मर्दी आरोहणका लागि काठमाडौंबाट एकजना विदेशी सहित सहयोगीका रुपमा गएका चारजना नेपाली कात्तिक २३ गते मर्दी आधार शिविरबाट हिँडेका थिए। सोही क्रममा नुवाकोट तामाङ लडेर सम्पर्कविहीन भएका थिए। खोजीका लागि हेलिकप्टरमा गएको उद्धार टोलीले मर्दीको झन्डै ५ हजार ३ सय मिटर उचाइमा तामाङको शव फेला पारेका थिए।

शव फेला पारेपनि अप्ठेरो ठाउँमा रहेकोले तत्कालै शव ल्याउन कठिन भएको थियो। पहिचान भएको शव उद्धारकर्ताले खोँचबाट निकालेर दुइसय मिटर माथि समथर ठाउँमा राखेपछि बिहीबार बिहान हेलिकप्टर गएर शव ल्याएको प्रहरीले बताएको छ।  

तामाङको शव ल्याउन सिम्रिक एयरको हेलिकप्टर गएको थियो। सिम्रिकका पश्चिमाञ्चल प्रमुख  कमल गौतमले तीनदिन अघि सर्च गर्दा शव भेटिएपनि तत्कालै ल्याउन सक्ने अवस्था नभएको बताए। ‘तीनदिन अघि नै शव त फेला परेको थियो। तर, अप्ठेरो खोँचमा रहेको शव उद्धारकर्ताको सहयोगमा सजिलो ठाउँमा ल्याएपछि मात्र बिहीबार हेलिकप्टर गएर पोखरा झारेको हो,’ उनले भने। 

प्रकाशित: २९ कार्तिक २०८१ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App