६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सोतीपुलले रोक्यो उत्तरी गोरखाको सडक सपना

गोरखा – आरुघाट गाउँपालिकाको सोती खोला माथिको निर्माणधिन पुल ६ वर्ष पुग्दा समेत बन्न सकेको छैन। रायमाजी इसान जेभी निर्माण कम्पनिसँग २ करोड २४ लाखमा २०६८ साल असार २९ गते २०७० असार २८ मा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकोमा अहिलेसम्म कुनै काम हुन सकेको छैन।

ठेकेदारले एक करोड ८३ लाख रकम भुक्तानी लिइसकेको भएपनि त्यहाँ पुलको कुनै नाम निसाना नै छैन। कम्पनिले सम्झौता भएको निकै निकै लामो समयपछि २०७० सालमा पुलको दुबैतर्फ ‘फाउन्डेसन’ तयार गरेको थियो। तर सोही समयमा खोलामा बाडी आउँदा पुलको फाउन्डेसनको भाग पुरीयो। फाउन्डेसनको भाग पुरेपछि ठेकेदारले काम भएभन्दा धेरै बिल बनाएर कार्यालयका तत्कालीन प्रमुख सँगको मिलेमतोमा भुक्तानी लिएको सडक डिभिजन गोरखाका प्रमुख अमृतमणी रिमाल बताउँछन्।

पुल निर्माणका ५० प्रतिशत काम सम्पन्न नहुँदै ठेक्काको ८० प्रतिशत भन्दाबढी रकम लगेर काम अलपत्र छाडेका छन्। उता आयोजनाले भने ठेकेदारले निर्माण गर्दैगर्दा पुल खोलाले पुरेपछि निर्माण छाडेको जनाएको छ।

‘२०६८ देखि पुलको काम थालेर ७० मा सक्नुपर्ने थियो, तर ७० सम्म काम नै भएन’, पूर्व सांसद एवं उत्तरी गोरखाका छमबहादुर गुरुङले भने, ‘अहिले निर्माण सामग्री तीन चार वर्षदेखि अलपत्र छ, खिया लागेर प्रयोग गर्न नमिल्ने भईसक्यो।’ ठेकेदारले पुल पुरेपछि काम भएको भन्दा धेरै भुक्ताली लिएर निर्माण सामग्रीको पनि बेवास्था गरेर बसेको स्थानीयको आरोप छ। पुलमा प्रयोग हुने फलाम, रडकहरु यत्रतत्र खिया लागेको अवस्थामा खुल्ला चउरमा छ।

निर्माण कम्पनीलाई सडक आयोजनाले काम लगाउन नसकेको पूर्व सांसद गुरुङ बताउँछन्। ‘सडकमा तीन जना डिई (प्रमुख जिल्ला इन्जिनिय) फेरिइसके, तर कसैलेपनि पुल निर्माण गर्न ठेकेदारलाई ताकेता गर्न सकेनन्’ उनले भने । पुलको बन्दै गरेको जग खोलाले पुरेपछि बाहना बनाएर ठेकेदारले भुक्तानी धेरै लिएको स्थानीयको गुनासो छ।

गणेश कंडेल प्रमुख जिल्ला इन्जिनियर हुँदा उक्त पुलको काम भएको हो। पुलको डिजाइन पनि उनैले गरेका थिए। एक पटक सोती खोलामा बाढी आएपछि सोही कारण देखाएर र त्यसपछि भूकम्पलाई देखाउँदै ठेकेदार भागिरहेका छन्। काम नगरी पैला लिएकाले आयोजना स्थलमा भएको निर्माण सामग्रीको पनि ठेकेदारले वेवास्था गरेको भन्दै स्थानीय आक्रोशित छन्। उत्तरी गोरखा जोड्ने सडकको उक्त पुल निर्माण नहुँदा नेपाली सेनाले निर्माण गरेको झण्डै १५ किलोमिटर सडक प्रयोबिहिन हुने अवस्थामा पुगेको पूर्व आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहाल बताउँछन्।

उक्त पुल मनास्लु पदमार्गमा पर्छ। अहिले उत्तरी गोरखामा नेपाली सेनाले झण्डै १६ किलोमिटर सडकको ट्रयाक खोलेको छ। लापुबेसीसम्म सहजै सवारी साधान पुग्न सक्छ भने केहीदिनमा माछाखोलासम्म पु-याउने सेनाले जनाएको छ। तर सोती खोलामाथिको पक्की पुल नहुँदा बर्षातलागेसँगै खोला तरेर सवारी साधन चल्न सक्ने अवस्था छैन।

एघार किलो मिटर छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजनाले ठेकेदारलाई पुल निर्माण गर्न ताकेता लगाउन सकेको छैन। निर्माण कम्पनी पुल निर्माणनै नगरी छोड्ने दाउमा छ। आयोजनाका प्राविधिकले भौगोलिक बनोट कमजोर भएको, खोलामाथिको भागबाट पहिरो खस्न सक्ने, भलबाढी आउँदा पुल बनेपनि बागाउने, पुरिने खतरा हुने भन्दै नयाँ ‘डिजाईन’ गर्नुपर्ने बताएका छन्।

नयाँ डिजाइन गर्दा नयाँ ठेक्का लगाउन पाइने, पहिलेको काम र भएको भुक्तानीमा यसै सफाई मिल्ने दाउमा निर्माण कम्पनी र प्राविधीक छन्। सडक आयोजनाका प्रमुख अमृतमणी रिमाल उक्त ठाउँमा बेलिब्रजि हाल्नुपर्ने तर्क गर्छन्। ‘ठेकेदारलाई म आएपछि पनि काम गर्न बोलाएँ, तर गराउन सकिएन’ उनले भने, ‘त्यहाँ पुल बनाउन प्राविधिक दृष्टिकोणले जोखिम त छ, तर पहिल्यै बनाएको भए राम्रो हुन्थ्यो, अब बेलिब्रिज उपयुक्त हुन सक्छ।’

सोती खोलामा पक्की पुल नहुँदा नेपाली सेनाले उत्तरी गोरखामा निर्माण गर्दै गरेको सडकको कामका लागि चाहिने बिस्पोष्ट पदार्थ र निर्माण सामग्रीहरु, औजारहरु ढुवानी गर्न, समेत समस्या हुने देखिएको छ।

प्रकाशित: २६ चैत्र २०७४ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App