७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सँघारमा तिहार तर निराश छन् कोहार

मुखैमा आएको तिहारले पनि माटोका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कोहार र कसघड समुदायका मानिसको मुहारमा चमक ल्याउन सकेको छैन। तिहारमा समेत आफूहरूले बनाएका दियोलगायत सामग्री बिक्न छाडेपछि उनीहरूको मुहारमा चमक आउन नसकेको हो।  

पाँच/सात वर्षअघिसम्म तिहारका बेला माटोका सामग्री बेच्न भ्याइनभ्याइ हुन्थ्यो। तर अहिले त्यो अनुपातमा माटोका सामग्री बिक्री नभएकाले उनीहरूलाई घर चलाउन मुस्किल परेको छ। कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारले माटोका सामग्री बनाउन थालेको चार दशक नाघिसकेको छ। पहिला तिहारका बेला राम्रै बिक्री हुने माटोको सामग्री पाँच/सात वर्षयता बिक्न छाडेकाले घर परिवार चलाउन समस्या हुन थालेको उनले बताए।  

१५ वर्षको उमेरबाटै माटोका भाँडा बनाउँदै आएको बताउने उनले भने, ‘व्यापार दिनानुदिन खस्कँदो छ। चुलोचोको चलाउनै समस्या हुन थालेको छ। माटोका भाडा बनाउने कोहार समुदायको पुर्ख्यौली पेसा संकटमा परको छ।’ कपिलवस्तुमा हिन्दु धर्मका अनुयायी कोहार समुदाय र इस्लाम समुदायका कसघड समुदायले माटोका भाडा बनाएर बिक्री गर्दै आएका छन्। माटाका भाँडा बेचेर हुने आम्दानीले घर चलाउँदै आएका उनीहरूले केही वर्षयता आफूले बनाएका सामग्री बिक्री हुन छाडेकाले घर चलाउन समस्या भएको गुनासो गर्दै आएका छन्।  

‘विगतमा माटोका सामग्री बढी बिक्री हुन्थे तर अहिले त्यस्तो अवस्था छैन’, भोलाले भने, ‘माटोका सामग्रीको सट्टा प्लास्टिका सामान बिक्री हुन थालेपछि हाम्रो पेसा संकटमा परेको हो। यसबाट घरपरिवारका सदस्यको गुजारा चलाउन मुस्किल भएको छ।’ उनका अनुसार अरू बेला कम बिक्री हुने माटोका सामग्री तिहारलगायत चाडपर्वमा निकै खपत हुन्थे। 

उनले भने, ‘तर अहिले व्यापार छैन। पुख्र्यौली पेसा जोगाइराख्न सकस भएको छ। अहिलेसम्म त जेनतेन सातजनाको परिवार यसै पेसाले पालेको छु तर अब जवानी बिताएको यो पेसामा टिकिराख्न गाह्रो देखेको छु।’  

सामग्री बनाउन काँचो माटो जोहो गर्न पनि समस्या हुन थालेको उनले बताए। ‘पहिला नजिकैको पोखरीमा काँचो माटो पाइन्थ्यो, अहिले टाढाटाढा जानुपर्छ’, उनले भने। काँचो माटोबाट बनाएका भाडालाई घाममा सुकाएपछि आगोमा पोलेर बिक्रीका लागि तयार पारिन्छ। यसरी पसिना बगाएर तयार पारिएका माटोका सामग्री बिक्री हुन छाडेपछि पेसा नै मासिने हो कि भनेर चिन्ता लागेको उनले बताए। पाँच÷सात वर्षअघिसम्म तिहारका बेला माटोका भाँडा बेचेर ४० देखि ५० हजार रूपैयाँसम्म कमाइ हुने गरेको तर यस वर्ष वर्ष नौ हजारको पनि ब्यापार नभएको उनले सुनाए। उनी माटोबाट पाला, खुत्रुके, चुल्हो, गमला, हाँडी, गिलास, सुराइ, घैंटालगायत बनाउँछन्।  

महुवाका रामकिशोर कोहारलाई पनि पहिला जस्तो अहिले माटोका सामग्री बिक्री हुन छाडेपछि परिवार पाल्न धौ धौ हुन थालेको छ। ‘पहिला जस्तो बिक्री नभए पनि माटोका भाँडाकुँडा बनाउँदै छु’, उनले भने, ‘राम्रो व्यापार नहुँदा घर खर्च जुटाउन पनि गाह्रो हुन थालेको छ। पुर्ख्यौली पेसा कसरी जोगाइराख्ने भन्ने चिन्ता पनि लाग्न थालेको छ।  

केही वर्षयता प्लास्टिक र कृत्रिम सामग्रीको प्रयोग ह्वात्तै बढेको छ। यसले परम्परागत उत्पादनको खपतमा असर परेको छ। ‘प्लास्टिकका सामान राम्रा र चिटिक्क देखिन्छन्, सस्ता हुन्छन्’, तौलिहवाका अनिल कोहारले भने, ‘पसलैपिच्छे किन्न पनि पाइन्छ’, उनले भने। प्लास्टिकका सामग्री प्रयोग गर्दा हुने हानि–नोक्सानीतिर कसैले ध्यान नगएको उनले बताए। ‘अब माटोका भाँडाकुँडा बिक्री गरेर गुजारा चलाउन, बाच्न सकिन्नँ। लालाबालालाई कसरी पढाउने रु पढेको छैन, अब के गर्ने, कसो गर्ने चिन्तामा छु’, तीन दशकदेखि माटोका भाँडाकुँडा बनाएर बिक्री गर्दै आएका उनले भने।

पहिलापहिला विषेशगरी दसैं र तिहारका बेला माटोका भाँडाकुँडाको माग ह्वात्तै बढ्थ्यो। गाउँ सहरका घरघरमा दसैंतिहारमा माटोका पालमा बत्ती (दियो) बालिन्थ्यो। तर अहिले माटोका पालामा दियो बाल्ने निकै कम छन्। ‘पहिलापहिला दसैं र तिहारमा दुईतीन साता माटोका भाँडा बजार बालबालिकाले नै भरिन्थ्यो’, रामदेव कोहरले भने, ‘अहिले प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढ्दा माटोका समान किन्न आउने मानिस कम भए।’  

सात वर्षअघिसम्म माटोको दियो बेचेर ६ जनाको परिवार चलाउँदै आएका महुवाका पुन्नवासी कोहारले अब यो पेसाले चुलोचौको थेग्न नसक्ने बताए। ‘प्लास्टिकका झिलीमीली बत्ती, मैनबत्ती गाउँगाउँसम्म पुगेका छन्’, उनले भने, ‘माटोका भाँडाकुँडा बिक्नै छाडे।’  

६ वर्षअघिसम्म दसैं तिहारका बेला माटोका भाँडा बेचेर ३५/४० हजार रूपैयाँ कमाएको स्मरण गर्दै कपिलवस्तु नगरपालिका–३ कुदानका चिनकु कोहारले भने, ‘तर यो वर्ष १० हजारको पनि व्यापार गर्न गाह्रो होला जस्तो छ। स्वास्थ्यका हिसाबले पनि माटोका भाँडाकुडा प्रयोग गर्नु राम्रो हो। यस्तो जान्दाजान्दै पनि उपभोक्ता प्लास्टिकका सामानतर्फ नै आर्कषित भएका छन्।’ 

प्रकाशित: १२ कार्तिक २०८१ ०७:१४ सोमबार

#tihar