३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

धरहराका ठेकेदारमाथि महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप

सहरी विकास मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका दुई जना महिला कर्मचारीहरूले आफूहरूमाथि दुर्व्यवहार भएको बताएका छन्।

रमन कन्स्ट्रक्सन सञ्चालक पवन महतोले आफूमाथि दुर्व्यवहार गरेको भन्दै ती कर्मचारीले सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मच्च काजी महर्जन समक्ष निवेदन दिएका हुन्। निवेदनमा व्यवसायी महतोलाई कारबाही गर्न माग गरिएको छ।

विभागका महानिर्देशक महर्जनले आयोजना कार्यान्वयन इकाईमा कार्यरत प्रमुख लेखा नियन्त्रक मिठु थापा र लेखा नियन्त्रक रमा पोखरेलले आफूमाथि दुर्व्यवहार भएको भन्दै निवेदन दिएको जानकारी दिए।

‘हामीले उक्त निवेदनमाथि अध्ययन तथा छलफल गरिरहेका छौँ। केही कानुनी प्रक्रिया पनि अघि बढाइरहेका छौँ’, महर्जनले भने, ‘दोषी देखिएपछि कारबाहीको थप प्रक्रिया अघि बढ्छ।’

विभागका अनुसार महतोको कम्पनी रमण कन्स्ट्रक्सन धरहराको निर्माणको काम गरिरहेको छ। उक्त कम्पनीलाई केही रकम भुक्तानी दिन बाँकी छ। भेरिएसन अर्डर (भजिओ) को विषय  र बैंक खाता परिवर्तनका लागि सिफारिस  लेख्न  माग गर्दै महतो कात्तिक ६ गते बबरमहलस्थित केन्द्रीय आयोजना कार्यान्वयन इकाईको कार्यालयमा पुगेका थिए। त्यही क्रममा आफूमाथि दुर्व्यवहार गरेको सम्बन्धित कर्मचारीले बताइन्।

‘हामीले उहाँको कम्पनीले हामीसँग गरेको सम्झौताको म्याद सकिसकेको छ। त्यसैले हामीले बैंक खाता परिवर्तन गर्न सिफारिस गर्दै चिठी लेख्न सक्दैनौँ भन्यौँ,’ दुर्व्यवहारको आरोप लगाउने महिला कर्मचारी लेखा नियन्त्रक पोखरेलले भनिन्, ‘तर उहाँले हाम्रो कुरा सुन्नु भएन। हामीमाथि दुर्व्यवहारमा उत्रिनुभयो।’ त्यसपछि आफूले महानिर्देशकको कार्यकक्षमा गई दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्दै निवेदन दिएको उनले बताइन्। ‘यही विषयमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगी सरसल्लाह पनि गरेका छौँ,’ उनले भनिन्।

त्यस दिन महतो एकदमै असहज रूपमा प्रस्तुत भएर रिसाएको पोखरेलले बताइन्। उनले यसअघि पनि महतोले कार्यालयका अन्य कर्मचारीमाथि यस्तै व्यवहार गर्ने गरेको सुनाइन्।  उनले भनिन्, ‘अब हामी सहँदैनौँ, सधैँ सहँदा अति भयो।’ यस विषयमा महतोसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन।

सहरी विकास मन्त्रालय स्रोतका अनुसार ठेकेदार कम्पनीले स्थायी रूपमै लिफ्टलाई पुग्ने गरी बिजुलीको पावर पुग्ने प्यानल जडान गर्न मन्त्रालयसँग थप ६५ लाख रुपैयाँ मागेको छ। उक्त रकम नथपेका कारण महतोको कम्पनीले प्यानल खरिद गरेको छैन। बिजुलीको पावर नपुग्ने कारण देखाई धरहराको एउटा लिफ्ट स्थायी रूपमै बिग्रिएको छ। अर्को लिफ्ट पनि बेला–बेलामा बिग्रने गरेको छ। यही विषयमा ठेकेदार कम्पनी र कार्यालयका कर्मचारीहरूबिच विवाद उठ्ने गरेको छ।  

प्रकाशित: ११ कार्तिक २०८१ १७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App