४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनथरालीमा अझै आएन चिलगाडी

गत फागुन १४ गते विमानस्थलको उद्घाटन कार्यक्रममा सहभागी। फाइल तस्बिर: नागरिक

कालिकोटको सुनथराली विमानस्थल निर्माण सम्पन्न हुनै ३८ वर्ष लाग्यो। ३८ वर्षको अवधिमा एकपटक परीक्षण उडान भयो भने गत फागुन १४ गते विमानस्थलको औपचारिक उद्घाटन गरियो।

नरहरिनाथ गाउँपालिकामा अवस्थित विमानस्थलको उद्घाटन कार्यक्रममा कालिकोट र छिमेकी जिल्लाका हजारौं मानिस सहभागी थिए। उद्घाटनमा सहभागी अब चिलगाडी (जहाज) चढेरै देशका ठुला सहरमा जान पाइने भयो भन्नेमा आशावादी देखिन्थे। तर विमानस्थल उद्घाटन भएको ६ महिना पूरा हुँदा पनि सुनथरालीमा चिलगाडी नआउँदा उनीहरू निरास बनेका छन्।

नरहरिनाथका दमन विष्टले आफूहरूको चिलगाडी चढ्ने वर्षौंदेखिको सपना अझै पूरा नभएको बताए। ‘चिलगाडी आउला र आँगनबाटै चढ्न पाइएला भन्ने आशा थियो,’ उनले भने, ‘औपचारिक उद्घाटन भएको आधा वर्ष हुँदा पनि त्यो सपना पूरा भएन, पूरा हुन अझै कति समय लाग्ने हो।’

कालिकोटवासी विमानस्थल निर्माणका क्रममा ज्यान गुमाएका मानिसको सम्मानका लागि पनि यो विमानस्थल सञ्चालनमा आउनुपर्ने र नियमित उडान हुनुपर्ने बताउँछन्।

विमानस्थल निर्माणमा खटिएका धादिङको जोगीमारासहितका ३२ जना कामदारलाई २०५८ सालमा तत्कालीन शाही नेपाली सेनाले माओवादी सुराकी आरोपमा मारेको थियो। विमानस्थल निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर चारजनाको ज्यान गएको थियो।

‘चिलगाडी आउने भएपछि यात्रुको कमी हुँदैन, सडक पूर्वाधार राम्रो नभएकाले पनि चिलगाडी चढ्ने धेरै हुन्छन्,’ विष्टले भने, ‘विमानस्थल बनाउँदा कामदारले बगाएको रगतलाई सम्झेर पनि नेताहरूले चिलगाडी उडानका लागि पहल गर्नुपर्छ।’

उद्घाटनका क्रममा नागरिक उड्डयन प्राधिकरणले सातामा एकपटक सुर्खेत र नेपालगन्जबाट सुनथराली विमानस्थलमा उडान भर्ने प्रतिबद्धता जनाएको थियो। तर प्राधिकरणले अहिलेसम्म सुनथराली विमानस्थलमा उडान भर्न अनुमति दिएको छैन।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग जहाज अभाव हुँदा उडान हुन नसकेको बताए।

 ‘नेपाल वायुसेवा निगमले सातामा एकपटक उडान गर्नेगरी सहमति भएको थियो’, उनले भने, ‘निगमसँग भएका दुईमध्ये एक जहाज ग्राउन्डेड भएपछि उडान हुन नसकेको हो।’

उनले निगमले तोकेको भाडादरमा निजी कम्पनीले उडान गर्न नमानेको बताए।

‘निजी क्षेत्रका सीता, तारा र अन्य एयरलाइन्ससँग कुरा भरहेको छ‘, उनले भने, ‘दसैंअघिसम्म सुनथराली विमानस्थलमा नियमित उडान हुने अपेक्षामा छौं।’

उनले सुनथराली विमानस्थल सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले पनि सेवा प्रदायकहरूलाई सहुलियत दिने निर्णय गरिसकेको बताए। उनले भने, ‘जसरी हुन्छ, हामी सुनथराली विमानस्थल नियमित सञ्चालनमा ल्याउँछौं।’

निगमनले सुर्खेत, नेपालगन्ज र धनगढीबाट सुनथराली विमानस्थलमा उडानका लागि भाडादर कायम गरिसकेको छ। नेपालगन्ज–कालीकोटका लागि प्रतिव्यक्ति पाँच हजार ५५१, सुर्खेत–कालीकोट तीन हजार ९०१ र धनगढी–कालीकोट पाँच हजार २४९ रूपैयाँ भाडा कायम गरिएको छ। निजी वायु सेवा कम्पनीले यो भाडामा उडान भर्न नमानेकाले समस्या भएको पालिका अध्यक्ष विष्टले बताए।

नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले सुनथराली विमानस्थल सञ्चालनका लागि पटकपटक विभागीय मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सरोकारवाला निकाय र व्यक्तिसँग भेटघाट/छलफल भइरहेको बताए। उनले निगमका जहाज कम भएको र निजी कम्पनीले निगमको भाडा दरमा उडान भर्न नमानेकाले उडान गर्न समय लागेको बताए।

प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सुनथराली विमानस्थल सञ्चालनका लागि आफूहरू गम्भीर भएको बताए। उनले नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज नहुँदा उडानमा समस्या भएको बताए।

‘सुनथराली विमानस्थलमा जहाज उडानका लागि हामी जुनसुकै कम्पनीलाई पनि अनुमति दिन तयार छौं’, उनले भने, ‘निजी कम्पनीसँग पनि छलफल गरिरहेका छौं।’

आठ वर्षअघि नै परीक्षण उडान

सरकारले २०७३ माघ २९ गते विमानस्थलमा परीक्षण उडान गर्‍यो। चिलगाडी अवतरण गर्दा नरहरिनाथका गोविन्द गिरीको खुशीको सीमा थिएन। द्वन्द्वकालमा उनी विमानस्थल नजिकै मेडिकल चलाउँथे। बिरामी जाँचिरहेका बेला सेनाले गिरीलाई ‘माओवादीलाई उपचार गर्ने’ भन्दै गोली हान्यो। गर्धन नजिकै गोली लागेका उनी ढले। सेनाले ‘मर्‍यो’ भनेर फालेका उनी ज्युँदै थिए।

‘आठ वर्षअघि नै परीक्षण उडान सफल भएको हो, ६ महिनाअघि विमानस्थल उद्घाटन भएको हो’, उनले भने, ‘फेरि पनि चिलगाडी नआउँदा निरास भएका छौं ।’

प्रकाशित: १३ भाद्र २०८१ ०७:१६ बिहीबार

# Sunthrali Airport #One test flight #Official opening of the airport