प्रतिनिधि सभाको बैठकमा ‘हिंसा’ शब्द प्रयोग भएपछि सत्तापक्ष र प्रतिपक्ष सांसदबिच भनाभन हुँदा सभामुखलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको छ। बुधबार प्रतिनिधि सभाको बैठक निरन्तर चलिरहेको बेला भएको आरोपप्रत्यारोपले उल्टै हिंसाकै रूप पो लिने हो कि भनेर सभामुखलाई हम्मे हम्मे परेको हो। दिउँसो १ बजेदेखि सुरु बैठकमा आकस्मिक समय र शून्य समय सकेर विशेष समय सुरु भएको थियो । विशेष समयमा बोल्ने क्रमका दोस्रो वक्ता एमाले सांसद योगेश भट्टराई थिए।
उनले प्रयोग गरेको १० वर्षे सशस्त्र द्वन्द्वको ठाउँमा १० वर्षे हिंसा शब्द प्रयोग गर्दा माओवादी केन्द्रले आपत्ति जनाएको थियो। साथै यही कारण संसद्मा केही समय तनावको स्थिति पैदा भएको थियो। बल्ततल्ल सभामुखले नियन्त्रणमा लिएपछि बैठक पुनः चलेको थियो। एमाले सांसद भट्टराईले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने क्रममा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले १६ अर्ब छुट दिएको विषयमा जवाफ दिनुपर्ने बताएका थिए।
‘नेपालमा १० वर्षे माओवादी सशस्त्र हिंसा नभएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य भइसक्थ्यो,’ उनले भने, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेसन पड्कायो। विद्युत् उत्पादन गर्न गएका कति व्यवसायीलाई चन्दा मागेर भगायो,’ उनले प्रश्न गरे।२०६० सालदेखि सुरु लोडसेडिङ २०७५ साल वैशाख ३१ गते अन्त्य भएको थियो। तर उनले आफ्नो भनाइ राख्ने क्रममा प्रयोग भएको हिंसा शब्दले विषयलाई विषयान्तर गरेको थियो। त्यसपछि भट्टराईले आफ्नो पूरा भनाइ राम्ररी राख्न पाएनन्। उनी झन् आक्रामक रूपमा प्रस्तुत हुँदै भनाइ सकेका थिए।
सो क्रममा सशस्त्र द्वन्द्व नभनेर हिंसा भनेको विषयमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति गरेका थिए। उनले संविधानविपरीत माओवादी सशस्त्र द्वन्द्वलाई हिंसा भनिएकाले यो गैरसंसदीय शब्द रेकर्डबाट हटाउन माग गरेपछि माओवादी केन्द्रका अन्य सांसदले पनि उठेर आपत्ति जनाएका थिए। सभामुखले विचारको आधारमा छलफल हुने भएकाले यस्ता साना विषयमा अल्झेर नबसी बैठक अघि बढाउनुपर्ने भन्दै सांसदहरूलाई बस्न आग्रह गरेका थिए । यसै क्रममा माओवादी केन्द्रका सांसदले हिंसा शब्द रेडर्कबाट नहटाएसम्म बैठक अघि बढाउन दिएनन्।
संसद्मा भएको भनाभनको क्रममा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद्मा अपमान गरियो भन्दै औँलो ठड्याउँदै आपत्ति जनाएका थिए। प्रत्युत्तरमा सांसद भट्टराईले ‘कसैको धम्कीले कोही डराउँदैन भन्दै जवाफ दिएका थिए। माओवादी केन्द्रका अर्का सांसद देवेन्द्र पौडेलले बोल्न खोज्दा भने सभामुखले बोल्न अनुमति दिएका थिएनन्। एमालेका योगेश भट्टराईले भने, ‘हिंसा नगर्नुस् माननीय बस्नुस्।’ त्यसपछि सभामुखले माओवादी सांसद देवेन्द्र पौडेललाई समय दिएका थिए। उनी बोल्दा एमालेका सांसदहरूले उठेर होहल्ला गरेका थिए। सांसद पौडेलले भने, ‘हामीले विभिन्न आन्दोलनको समीक्षा गरेका छौं, कसैलाई हिंसा भनिएको छैन, तपाईंलाई तलमाथि गरेर व्याख्या गर्ने अधिकार संविधानले दिएको छैन, हामी शान्ति प्रक्रियालाई अघि बढाउन चाहन्छौं ।’ त्यसपछि सभामुखले ‘हिंसा’ शब्द कसरी प्रयोग भएको छ भनेर अध्ययन गरी निर्णय गरिने बताए।
त्यसपछि फेरि योगेश भट्टराईलाई बोल्न समय दिइएको थियो । उनले अनावश्यक समयमा जान चाहन्न भन्दा पनि माओवादी केन्द्रका सांसद यथास्थानमा बसेकै थिएनन्। यसै क्रममा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो धारणा राखेका थिए। उनले संसद्मा विषय उठाउँदा नियमको उल्लंघन भइरहेको र भाषा नियमावलीबमोजिम प्रयोग नभएको हुँदा रेकर्डबाट हटाउन माग गरेका थिए।
त्यसपछि सभामुखले ‘हिंसा’ भन्ने शब्दबारे छानबिन गरेर निर्णय गर्ने बताउँदै सांसदहरूलाई बस्न आग्रह गर्दा योगेश भट्टराईले प्रतिक्रिया दिएका थिए। उनले भने, ‘यो हिंसा भन्ने कुरा राजनीतिक प्रतिबद्धता हो, हाम्रो सिद्धान्त हो, यसमा छानबिन गर्ने को हो ?’ उनले ‘विद्युत् ट्रान्समिसन लाइनमा बम पड्काउनु, आर्मीलाई हान्नु, मान्छे मार्नु, पुलिस चौकी हान्नु, सर्वसाधारणलाई हान्नु, हिँडेकालाई आतंकित पार्नु, चन्दा उठाउनु, लुटपाट गर्नु सबै हिंसा हो’ अन्तिम भनाइ राखेका थिए।
यसैबिच कांग्रेसका वीरबहादुर बलायरले पनि माओवादी केन्द्रले उठाएको विषयमा आपत्ति जनाएका थिए। एमालेका अन्य सांसदले माओवादी सांसद माधव सापकोटाले एक पटक संसद्मा अहिलेको सत्तापक्षलाई भ्रष्टाचारले डुङडुङ्ती गन्हाएको भन्दा कसैले असंसदीय नभनेको भन्दै प्रतिवाद गरेका थिए। त्यसपछि सभामुखले एमालेका रघुजी पन्तलाई बोल्न समय दिएका थिए।
उनी बोल्दा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएपछि रघुजी पन्तले ‘म तपाईंहरूसँग दोहोरी खेल्न खोजेको होइन’ भन्दा सभामुखले आफूतिर फर्केर बोल्न आग्रह गरेका थिए। सांसद पन्तले भने, ‘नियमापत्ति गर्न पाइन्छ, हिंसा असंसदीय हो भनेर सावित गर्न सक्नुपर्छ नत्र हिंसा रेकर्डबाट हटाउन मिल्दैन। माओवादी द्वन्द्वमा हिंसा भएको हो, हिंसा भएको कुरा जायज हो, यो रेकर्डबाट हटाउन मिल्दैन।’
उनले बोल्दै गर्दा संसद्को दर्शकदीर्घामा संसद् बैठक प्रत्यक्ष अवलोकन गर्न आएका सयौं विद्यार्थी बाहिरिएका थिए । एमाले र माओवादी केन्द्रका सांसद्ले बोल्न समय माग गरेपछि सभामुखले नियमापत्ति विषयमा बोल्ने कि अन्य विषयमा भनेर सोधेका थिए। उनले नियमापत्तिबाहेकका अन्य विषयमा बोल्न आग्रह गरेका थिए।
त्यसलगत्तै सभामुखले माओवादी केन्द्रका रणेन्द्र बरालीलाई बोल्न समय दिए पनि माओवादी केन्द्रका सांसदले बोल्न चाहेनन्। त्यसपछि सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। उनको पुनः नियमापत्ति भएपछि सभामुखले दिने निर्देशन अन्तिम हुने र निर्देशन पालना नभई नियमानुसार सदन चलेन भन्दै नियमअनुसार चल्न आग्रह गरेका थिए।
त्यसपछि विशेष समयमा बोल्ने क्रम जारी रहेको थियो। विशेष समयमा १४ जनाले भनाइ राखेका थिए। जसमा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले भनिन्, ‘एमाले र माओवादीको बाझाबाझ हेर्न नसकेर विद्यार्थी उठेर हिँडेका छन्। उनीहरूको मनोविज्ञानमा संसद्प्रति नकारात्मक भावना पैदा भएको छ । आजको दृश्यबारे उहाँहरूले स्कुलमा सारांश लेखेर बुझाउनुहुन्छ होला ‘सदन भनेको यस्तै हो सरकार भनेको यस्तै हो हाम्रा आमाबुवाले भोट दिएर जिताएका हाम्रा माननीयहरू गरिमामय संसद्मा गएर यस्तै गर्दा रहेछन्।’
उनले संसद्मा सभ्यता नभएको, गालीगलोज, कठोर भाषा र बोलाउने नामलाई ‘असंसदीय’ भनिएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘संसद्मा सभ्य भाषा प्रयोग गर्ने अभ्यास लोप हुँदै गएको र त्यस्ता शब्दहरू प्रयोग हुँदा पनि यसलाई कायम राख्ने वा हटाउने विशेषाधिकार प्राप्त सभामुखले तत्काल निर्णय गर्न सकेको देखिँदैन।’
प्रकाशित: १३ भाद्र २०८१ ०६:१९ बिहीबार