गण्डकी प्रदेशमा डेंगी संक्रमणले तिब्र गति लिएको छ। प्रदेशका ११ मध्ये हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ। तनहुँ र कास्कीमा संक्रमण झनै तिब्र रहेको मन्त्रालयको भनाई छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।
मन्त्रालयका सूचना अधिकारी डा. मधुरजी ढकालका अनुसार प्रदेशमा सबैगरि १४ सय ३९ जना बिरामी परेका छन्। ती मध्ये सबैभन्दा बढी तनहुँमा ५ सय ५२ जना संक्रमित भएका छन्। कास्कीमा संक्रमितको संख्या ४ सय ८० पुगेको छ। गोरखामा डेंगी संक्रमितको संख्या १ सय ११, बागलुङमा ८६, पर्वतमा ६६, लम्जुङमा ५५, म्याग्दीमा ४१, स्याङजामा ३६, नवलपुरमा ११ र मनाङमा १ जना संक्रमित भएका छन्। यो वर्ष तनहुँको आँबुखैरेनी गाउँपालिका डेंगीको ‘हटस्पट’ बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। आँबुखैरेनीमा संक्रमण बढेपछि विद्यालय नै बन्द गरिएका छन्।
ढकालका अनुसार कास्कीमा भने पोखरा महानगरपालिका–५ र ८ नम्बर वडामा संक्रमण तिब्र छ। किनकी ती क्षेत्र आसपासमा बसपार्क, वर्कसप धेरै संख्यामा संचालित छन्। पोखरा आउजाउको मुख्य केन्द्रबिन्दु भएकोले सवारीको भीडभाड पनि त्यही क्षेत्रमा छ। ‘तनहुँको आँबुखैरेनी र पोखरा–८ र ५ बढी प्रभावित क्षेत्र हो,’ ढकालले भने। उनका अनुसार तनहुँको आँबुखैरेनीमा संक्रमित बिरामीको भीडभाड बढेको छ। ‘घरमै आराम गरेर बसेका बिरामी पनि बल्ल अस्पताल आउन थालेका छन्। संक्रमणले निकै नै गति लिएको छ,’ उनले भने।
आँबुखैरेनीमा संक्रमित बढेपछि संघीय सरकार र प्रदेश सरकारले बिरामीको उपचारका लागि चाहिने किट उपलब्ध गराउने तयारी गरेको पनि उनले बताए। त्यसबाहेक सदरमुकाम दमौलीबाट चिकित्सक सहितका स्वास्थ्यकर्मी पनि परिचालन गर्ने तयारी भएको उनले जानकारी दिए। ‘आवश्यक परेमा थप चिकित्सक पनि परिचालन हुनेछन्। त्यसबाहेक उपचारका लागि चाहिने किट पनि उपलब्ध गराउने प्रयास भईरहेको छ,’ ढकालले भने।
संक्रमण कम गर्न प्रदेश सरकारले सबै जिल्लामा लामखुट्टेको ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान चलाउने पनि तयारी भएको उनले जानकारी दिए। लामाखुट्टे खोज र नष्ट अभियान चलाएपनि आजको भोलि नै संक्रमण कमजोर नहुने र अभियानको प्रभाव देखिन कम्तिमा १० दिन लाग्ने उनले सुनाए।
‘अभियानले तत्कालै प्रभाव पार्ने होइन। संक्रमण कम हुनका लागि केही समय लाग्छ,’ ढकालले भने। प्रदेशका सबैजसो जिल्लामा डेंगी संक्रमण बढेपछि त्यसलाई रोक्नका लागि प्रभावकारी अभियान चलाउनेगरि प्रदेशले योजना बनाउने पनि उनले बताए।
तनहुँको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. धनबहादुर क्षेत्रीका अनुसार पछिल्लो समय डेंगी संक्रमण निकै नै डरलाग्दो गरि फैलिएको छ। ‘अब त जटिल अवस्थाका बिरामी पनि थपिन थालेका छन्। अहिलेकै अवस्था केहीदिन रहिरहने हो भने अवस्था धान्नै नसक्ने हुन्छ,’ क्षेत्रीले भने, ‘अवस्था जटिल बन्दै गएपछि हामीले प्रदेश सरकारसँग सहयोग मागेका छौ। जनशक्ति र केही किट उपलब्ध गराउने आश्वासन पाएका छौं। एकजना चिकित्सक तत्कालै आउँदै हुनुहुन्छ।’
आँबुखैरेनीमा योवर्ष पहिलोपटक गत जेठ ३१ गते डेंगीका पहिलो बिरामी पहिचान भएका थिए। त्यसपछि असार महिनाभर खासै संक्रमणले गति लिएको थिएन। तर, साउन लागेपछि दैनिक रुपमा संक्रमण बढ्दै जाँदा अहिले दिनमा ४० जनाको हाराहारीमा बिरामी थपिने गरेका छन्। सरकारी अस्पताल देखि निजी क्लिनिकमा उपचार गराउने र घरमै आराम गर्ने बसेका समेत गरि धेरै संख्यामा बिरामी भएको उनले बताए।
‘अहिले आँबुखैरेनी नै हटस्पट बनेको छ। १५ शैयाको अस्पतालमा बिरामीको भीडभाड छ। उनका अनुसार स्थानीय अस्पतालमा भीडभाड बढेपछि बिरामीहरु थप उपचारका लागि करिब ४५ किलोमिटर परेको चितवनका विभिन्न अस्पतालमा गएका छन्। अहिलेसम्म जटिल अवस्थाका १५ जनाजति बिरामी चितवन रेफर भईसकेको उनले बताए।
गतवर्ष गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी ६ हजार ९ सय ३० जना डेंगीबाट संक्रमित भएका थिए। पोहोर डेंगीबाट तनहुँमा पाँच र स्याङजामा दुइ गरि ७ जनाले ज्यान गुमाएका थिए। अघिल्लो वर्ष तनहुँपछि कास्कीमा २ हजार ८ सय ७५ जना संक्रमित बनेका थिए।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।
चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।
पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।
चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।
प्रकाशित: २७ श्रावण २०८१ १७:३० आइतबार