१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

एक वर्षदेखि एनआईसीयूमा बजगाईँ, अस्पतालले लापरबाही गरेको आफन्तको आरोप

पूर्वकै सबैभन्दा ठूलो अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक वर्षदेखि एक जना बिरामी एनआईसीयूमा कक्षमा उपचार गरी रहेका छन्। अस्पताल प्रशासनले बिरामी निकालेर लगिदिए हुने सोचमा भएता पनि बिरामीका परिवारले उपचार गर्दाको औषधीको पैसा तिर्न नसक्दा घर ल्याउन सकिरहेका छैनन्।

कहलिएका चिकित्सकहरूबाट उपचार पाइने र निजीभन्दा धेरै कम खर्चमा उपचार हुने विश्वासले भर्ना गरेका इटहरी वडा नं. १ का ४५ वर्षे सन्तोष बजगाईँको अवस्थामा कुनै सुधार आउन सकेको छैन। उनी अचेत अवस्थामै छन्।

चिकित्सक भने ‘पर्ख र हेर’ नीतिअनुसार अघि बढेको प्रतिक्रिया दिन्छन्। बजगाईँका परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले बिरामीको अवस्थामा सुधार नआएको दाबी गरेका छन्। बजगाईँलाई अघिल्लो २०८० साउन २७ गते अस्पताल भर्ना गरी तीन दिनपछि एपेन्डिसाइटिस्को अप्रेसन गरिएको थियो।

सुरुवातमा सामान्य अवस्थामै इटहरी मेडिकल हलमा चेकअप गर्न लैजाँदा त्यहाँबाट धरान र विराटनगर लान सुल्झाएपछि धरान लगिएको थियो। त्यसपछि धरानमा अप्रेसन भएको थियो।

‘अप्रेसनपछि चार घण्टा एनआइसियूमा राखियो, त्यसपछि निकालेर सामान्य बेडमा राखियो, हामी परिवारका सदस्यसँग १६ घण्टासम्म बोल्नु भएको थियो। त्यसपछि गाह्रो भएर एनआइसियूमा भर्ना गरियो,’ बिरामी सन्तोषकी श्रीमती अञ्जु बजगाईले आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै भनिन्, ‘अस्पतालले त्रुटि स्वीकारेको छ।’

अञ्जुका अनुसार अस्पतालले त्रृटी स्वीकार गरी एनआईसीयूको बेड शुल्क नलिने र वीपी प्रतिष्ठान भित्रको फार्मेसीमा औषधी खरिद गर्दाको रकम पनि फिर्ता गर्ने अस्पताल प्रशासनले मौखिक वचन दिएको छ। तर, बाहिर फार्मेसीबाट औषधी खरिद गरेको रकम तिर्न सक्ने अवस्था नहुँदा बिरामी अस्पतालबाट निकालेर ल्याउन नसकेको उनले बताइन्। अस्पताल प्रशासनले सन्तोषको परिवारका एक जना सदस्यलाई योग्यताअनुसारको जागिर पनि लगाई दिने वचन दिएको थियो।

‘मुख्य कुरा कृत्रिम रुपमा श्वासप्रश्वासका लागि ट्युब परिवर्तन गर्दा त्रुटि भएकाले गर्दा बिरामीलाई थप समस्या भएको अस्पतालले नै स्वीकारेको छ,’ अञ्जुले भनिन, ‘ट्युब परिवर्तन गरेर समस्या भएको कुरा तत्काल आफन्तलाई अस्पतालबाट केही जानकारी भएन।’ अञ्जु इटहरी वडा नं. ४ को सङ्गीत चोकमा सामान्य चिया पसल गर्छिन्। सन्तोष सिटी सफारी चलाउने गर्थे। इटहरी वडा नं. १ का परिवारको संगोलमा एउटा सानो घर र घडेरी छ। तर, संगोलमा रहेकाले गर्दा घर जग्गा विक्री गरेर पैसा तिर्ने अवस्था पनि छैन। 

‘आफन्तसँग लिएको ऋणले समस्या हुन थालेको छ, अब श्रीमानलाई घरमै ल्याउन पनि फार्मेसीको पैसा तिर्ने कुनै अवस्था छैन,’ उनले भनिन, ‘डाक्टरले आशा देखाएकै कारण यत्रो समय एनआईसीयूमा राखे। अब त संसारको कुनै पनि ठाउँमा लादा पनि पर्ख र हेर नै हो भनेर डाक्टहरुले भनेपछि के गर्ने कुनै निर्णय लिन सकेको छैन।’ उनले अस्पतालले लापरबाही गरेकैले त्यस्तो भएको दाबी गर्दै फार्मेसीमा औषधी खरिद गरेको पैसा अस्पतालले तिरी दिनुपर्ने माग गरेकी छन्।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डाक्टर अञ्जु प्रधानले भने चिकित्सकहरूले मेडिकल गाइडलाइन अनुसार नै काम गरेको बताइन्। ‘यसअघि पनि बिरामीका आफन्तले अस्पतालको लापरबाही भनेर अनलाइनका पत्रकारलाई भनेकाले गर्दा हामीले सम्बन्धित निकायमा उजुरी गर्न भनेका थियौ, अहिले पनि त्यस्तो लापरबाही गरेको जस्तो लाग्छ भने सम्बन्धित निकायमा उजुरी गर्दा हुन्छ,’ प्रधानले भनिन्, ‘बरु त्यसका लागि हामीले पनि सहयोग गछौं।’

प्रकाशित: १३ श्रावण २०८१ १७:२१ आइतबार

#BP Koirala Institute of Health Sciences #Santosh Bajgai