१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मदिराको कारोबारसम्बन्धी कार्यविधि निर्माण

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले कानुन मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ।

नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानुन उल्लङघन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिस गर्ने कानुनी व्यवस्था गरेको छ। भीमदत्त नगरपालिकाले मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि– २०७४ मा कारबाही सम्बन्धी यस्तो व्यवस्था गरेको हो।

कार्य विधिमा मदिरा सेवन गरी अशान्ति फैलाउने कार्यमा संलग्न व्यक्तिलाई पनि जरिवानाको व्यवस्था गरिएको छ। पहिलो पटक १ हजार, दोस्रो पटक २ हजार, तेस्रो पटक ५ हजार र त्यसभन्दा माथि १० हजार जरिवाना तोकिएको छ। नगर कार्यपालिकाबाट पारित भएर कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मदिरा कारोबारलाई व्यवस्थित गर्नका लागि कायविधि बनाएर लागू गरिएको बताए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत स्थानीय तहले पाएको अधिकारका आधारमा मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्यविधि बनाइएको उनले बताए।

कार्यविधिको दफा १२ को उप दफा ३ मा जरिवाना तिर्न आनाकानी गरिए वडा र नगरपालिका कार्यालयबाट प्रदान हुने सेवा सुविधा रोक्का गरी कारबाही गर्ने प्रावधान राखिएको छ। नगरपालिकाले मदिरा कारोबारलाई व्यवस्थित गर्न नगर प्रमुखको संयोजकत्वमा मदिरा बिक्री वितरण व्यवस्थापन तथा नियमन मूलसमिति गठन गरिने व्यवस्था कार्यविधिमा छ।

मदिरा कारोबारका लागि समय अवधि पनि तोकिएको छ। थोक बिक्रेताले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म, खु्द्रा बिक्रेताले ९ बजेदेखि साँझ ८ बजेसम्म, बिर्को खोली बिक्री गर्ने व्यवसायीले दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कारोबार गर्न पाउने व्यवस्था गरिएको छ। भीमदत्त नगरपालिकाको बजार क्षेत्र बाहेक सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य संस्था, मन्दिर लगायतका धार्मिक स्थानबाट दुई सय मिटर टाढा मात्रै कारोबार गर्न पाउने नियम बनाइएको छ।

कार्यविधिले किराना, खाद्यान्न, तरकारी, औषधि, मासु, कपडा, फलफूल पसलमा मदिरा कारोबार गर्न नपाइने प्रावधान कार्य विधिमा छ। यसैगरी, होटल रेस्टुरेन्टमा बाहिर प्रदर्शन नहुने गरी मदिरा राख्न समेत नपाइने नियम बनाइएको छ। १८ वर्ष मुनिका व्यक्तिलाई मदिरा कारोबारमा लगाउन नपाइने र अनुमति लिएका होटलमा खाना र बास क्षेत्र बाहेक छुट्टै मदिरा रेस्टुरेन्ट राख्नुपर्ने नियम बनाइएको छ।    (रासस)

प्रकाशित: १५ चैत्र २०७४ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App