बैतडीका विद्यालयहरूमा अध्ययनरत छात्राहरूमा स्वास्थ्य सम्बन्धी समस्या देखिन थालेको छ। सिगास गाउँपालिका–५ स्थित भुवनेश्वरी माध्यामिक विद्यालय खैरकोटमा छात्राहरूमा काँप्ने, मुर्छा पर्ने जस्ता समस्या देखिन थालेको हो। जसका कारण विद्यालयको नियमित पठनपाठनमा समस्या भइरहेको छ।
‘विद्यालयमा अध्ययनरत छात्राहरू दिउँसोको समयमा एकाएक काप्न थाल्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्नेजस्ता समस्या देखिने गरेको छ,’ विद्यालयका सूचना अधिकारी समेत रहेका शिक्षक अम्मरसिंह धामीले भने, ‘यो समस्या नयाँ होइन, १२ वर्षदेखि विद्यालयमा अध्ययनरत छात्राहरूमा यस्तै समस्या देखिँदै आएको छ।’
उनले यो समस्या देखिएको केही समयमा आफैँ हराउने गरेको भन्दै यसवर्ष भने गत जेठ २९ गतेबाट फेरि उक्त समस्या बल्झिन थालेको बताए।
जेठ २९ देखि हालसम्म ९ जना छात्राहरूमा यो समस्या देखिएको पनि उनले बताए।
उनले भने, ‘प्रायः १० बजे पछिको समयमा छात्राहरू उक्त समस्या देखिने भएकाले बिहानको १० बजे अघि नै विद्यालयको पठनपाठनको गतिविधि सुचारु गर्ने गरेका छौं।’
छात्राहरूमा यस्तो समस्या देखिन थालेपछि अभिभावकहरूले शिक्षकको कुटाईका कारण यस्तो समस्या देखिएको आरोप लगाउँदै आएका छन्।
‘कुटपिटको आरोप लगाएपनि कुनै सत्यता छैन। यस्तो समस्या देखिन थालेपछि हामीले भिडिओ नै बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छौं,’ शिक्षक धामीले भने। छात्राहरूमा यो समस्या देखिन थालेपछि विद्यालयका गतिविधि नै प्रभावित भइरहेको उनकाे भनाइ छ।
उनले भने, ‘एकजना छात्रामा समस्या देखिँदा अर्को छात्रालाई पनि हुने गर्छ। सबै कक्षा नै प्रभावित हुन्छ। कोठामा एक्लै थुनेर राखे अलि कम भए जस्तो गर्ने र धेरै भिड भएको ठाउँमा राखे बढी समस्या हुने गरेको छ। यसो हुँदा अन्य विद्यार्थीको ध्यान नै कक्षामा जाँदैन।’
भिरालो स्थानमा विद्यालय रहेकाले यस्तो समस्या आउँदा विद्यार्थीको जिउज्यानमै खतरा समेत पैदा भइरहेको उनको भनाइ छ।
उता सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले छात्राहरूमा देखिने गरेको यस्ता समस्या अन्य विद्यालयमा पनि रहेको बताए।
‘गत वर्ष पनि शारदा माविका छात्राहरूमा यस्तै समस्या देखिएको थियो। त्यहाँ चिकित्सकीय परामर्श चलाएका थियौं। अहिले त्यहाँ शान्त छ,’ उनले भने, ‘अन्य विद्यालयमा पनि यस्तो समस्या देखिन थालेको छ। छिट्टै रोकथामका लागि मनोपरामर्शका कार्यक्रम चलाउँछौं।’
कुटपिटको विषयमा भने झुटो हल्ला फैलाएको अध्यक्ष धामीको बताए। ‘अनुमगन नै गएर हेर्यौं। समस्या हेर्दा बाहिर भनेजस्तो कुटपिट भएको देखिएन। अझै पनि यसबारे अन्य निकायले बुझिरहेका छन्,’ उनले भने। सिगास गाउँपालिककाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले यस विषयमा प्रशानिक निकायबाट पनि चासो भएको बताए।
प्रकाशित: ७ असार २०८१ १२:४५ शुक्रबार