१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

रुद्राक्ष बेचेर मासिक ४० हजार कमाउँछन् सन्तोष

धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन्। उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिरमा रुद्राक्षको व्यापार गर्दै आएका छन्।

विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रुद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेको बताए। विदेशमा दुःख गर्नुभन्दा यही रुद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ।

उनले विगत छ वर्षदेखि पिण्डेश्वरी मन्दिरको अगाडि रुद्राक्षको व्यापार गर्दै आएका छन्। अहिले उनका लागि यो ठाउँ रुद्राक्षको व्यापार गर्ने थलो नै बनेको छ।

रुद्राक्ष धनकुटालगायत पहाडी भेगहरुबाट खरिद गरेर ल्याउने गरेको उनी बताँउछन्। माला, झोला र ढाकीलगायत सामग्री बनाएर बिक्री गर्दै आएको र रुद्राक्षको व्यापारबाट मासिक ३० देखि ४० हजारसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए।

आफूले रद्राक्षबाट बनाएका सामान धरानमा मात्र नभई झापा, काठमाडौँ, काँकडभिट्टा र विशेष गरी विदेशी पर्यटक झोला धेरै मन पराएर लैजाने गरेको विश्वकर्माले बताए। माग अनुसार नै कतिपय सामान बनाउने गरेको उनको भनाइ छ।

‘गत चैत २७ गतेदेखि लागेको महाकुम्भ मेलाले राम्रो व्यापार भएर निकै फाइदा भयो’, विश्वकर्माले भने, ‘कुम्भमेलामा विदेशी पर्यटक धेरै आउनुभयो, उहाँहरुले धेरैजसो रुद्राक्षको झोला खरिद गर्नुभयो।’

एउटा झोला एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्ने गरेको बताउँदै उनले दैनिक रूपमा झोलामात्र तीनदेखि पाँच वटासम्म बिक्री हुने गरेको जानकारी दिए।

कुम्भमेलाको एक महिनाको अवधिमा सोचेभन्दा बढी व्यापार भएको उनले सुनाए।

‘रुद्राक्ष विशेषगरी हरियो केशरलामा–लामा हाँगाहरुमा सेता फूल हुने स्याउले एक सुरिलो ठूलो जातका रुखमा ओखर जस्तै फल्ने गर्छ। यो विशेषगरी २७ मुखीसम्म हुन्छ भन्ने छ तर खोजअनुसार संसारभरि अहिले ३८ मुखीसम्म रुद्राक्ष पाइएको सुनेको छु’, विश्वकर्माले भने, ‘सामान्यत एकदेखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छ। एकमुखी र नौ मुखीदेखि १४ मुखीसम्मको रुद्राक्ष निकै दुलर्भ मानिन्छ।’

धार्मिकरुपमा महादेवको प्रिय वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा रहँदै आएको छ। रुद्राक्षलाई पहाडी भेगका गाउँघरमा (दाना) भनेर चिनिन्छ।

प्रकाशित: २९ वैशाख २०८१ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App