सुनसरीको चतरामा आजदेखि महाकुम्भ मेला सुरु हुँदै छ। चैत महिनाको शुक्ल प्रतिपदा (चैत २७ गते) देखि वैशाख शुक्ल अक्षय तृतीयासम्म एक महिना चल्ने पूर्ण महाकुम्भ मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्दै छन्।
महाकुम्भ मेलाको उद्घाटनको पूर्वसन्ध्यामा सोमबार कलशयात्रा गरिएको छ। चतराबाट सुरु भएको कलशयात्रा धरानको पिण्डेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरी इटहरी, विराटचोक हुँदै विराटनगर पुगेर त्यहाँबाट दुहबी, इनरुवा हुँदै प्रकाशपुरबाट रामधुनी भएर चतरामै आएर टुंगिएको थियो।
कलशयात्रा कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको अगुवाइमा भएको थियो। जसमा स्थानीय पालिकाका प्रमुख, राजनीतिक दलका नेता, धार्मिक अगुवालगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
महाकुम्भमा आउने भक्तजनका लागि पाँचवटा स्थानमा स्नानस्थल निर्माणसँगै सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था गरिएको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सहसंयोजक बराह क्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए।
उनका अनुसार भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचारको व्यवस्था गरिएको छ। कुनै आपत्ति पर्दा २४ सै घण्टा दमकल र दुईवटा एम्बुलेन्सको व्यवस्था पनि गरिएको छ।
कुम्भमेलाका परिकल्पनाकार नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायत देशबाट धार्मिक अगुवाको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।
नेपालसहित विश्वका अन्य मुलुकका गरी करिब दुई करोड हाराहारीमा भक्तजन आउने दाबी गरिएको छ। कुम्भ मेला सरकारको धरोहर भएकाले सफल पार्न तीनै तहका सरकार अहोरात्र खटिरहेको जगद्गुरुले बताए।
अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भस्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ कुम्भमेला लाग्ने गरेको छ। समुन्द्र मन्थनपछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यबीच भएको लुछातानीको क्रममा जहाँजहाँ अमृत खस्यो त्यहाँत्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ। नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भका लागि यो ठाउँ राजधानी नै रहेको छ।
नेपालमा पहिलो पटक २०५९ सालको चैत्रशुक्ल प्रतिपदा अर्थात् चैत ६ गतेदेखि वैशाख शुक्ल तृतीयासम्म एक महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो। जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो।
यस्तै, चतराधाममा २०६३/६४ सालमा दोस्रो कुम्भ, २०७०/७१ मातेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला लागेको थियो। कुम्भ मेलामा आएर स्नान गर्दा जीवनमा वरदान प्राप्ति हुने विश्वास रहेको छ। बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा महाकुम्भ मेला र ६/६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ।
प्रकाशित: २७ चैत्र २०८० ०७:२१ मंगलबार