११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

आँखाको ज्योतिले रोकेन सफल दाम्पत्यलाई

दृष्टिविहीन दम्पति (क्रमशः अगाडिबाट भक्त विश्वकर्मा र पछाडि राजन पुर्बेली) । तस्बिर : दमन राई

खोटाङ– खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ सोल्माका राजन पुर्बेली र उनकी पत्नी सिर्जना तामाङ दृष्टिविहीन हुन् । उनीहरु एकले अर्कालाई देख्न सक्दैनन्।

एकले अर्कालाई आवाज र स्पर्शबाट अनुभव गर्न मात्र सक्छन् । तर, उनीहरुको जोडी अरुको भन्दा कम प्रेममय र रहरलाग्दो छैन । ८ वर्षअघि प्रेमविवाह गरेका उनीहरुका ५ वर्षका छोरो छ । उनीहरुको जोडी देख्दा लाग्छ उनीहरु अहिलेका ‘मुनामदन’ हुन् । उनीहरु एक हातमा सेतो लट्ठी बोकेर हातेमालो गर्दै हिँडडुल गर्छन्।

जिल्लामा हुने विभिन्न सांगीतिक कार्यक्रममा गाउन र वाद्यवादनका लागि हातेमालो गरेरै पुग्छन् । आँखाले ‘नदेखे’ पनि डेढ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । ‘हामी एकले अर्कालाई देख्दैनौं, नदेख्दा पनि हामीबीच गहिरो प्रेम बस्यो,’ संगीत प्रशिक्षकका रुपमा कार्यरत पुर्बेलीले भने, ‘भावनात्मक माया पनि आँखाले देखिने दृश्यजस्तै हुँदो रहेछ, अहिलेसम्म जिन्दगी राम्रो चलिरहेको छ।’
 
इलाहाबादबाट शास्त्रीय संगीतमा स्नातक गरेका पुर्बेलीले विगत दुई वर्षदेखि सदरमुकाम दिक्तेलमा पुर्बेली सरगम संगीत विद्यालय सञ्चालन गरिरहेका छन्। 

हाल ३० वर्ष पुगेका राजन र सिर्जनाको केटाकेटी अवस्थामा बिरामीका कारण आँखाको ज्योति गुमेको हो। टाइफाइड बिग्रेपछि आफ्नो आँखाको ज्योति गुमेको राजन बताउँछन्। 

एक समय राजन काठमाडौं मैतीदेवीस्थित एनएबी सरगम संगीत विद्यालयमा संगीत सिक्न जान्थे । सिर्जना पनि सोही ठाउँमा व्यावसायिक तालिमका लागि जाने गर्थिन् । सोही समय नेत्रहीन संघको भवन निर्माणार्थ सांगीतिक कार्यक्रम गर्न हिँड्ने क्रममा राजन र सिर्जनाको चिनजान भएको हो । ‘त्यहींबाट हाम्रो प्रेम बस्यो, एकले अर्कालाई मन परायौं,’ पुर्बेलीले भने, ‘डेढ वर्षपछि घरपरिवारकै सल्लाहमा पारिवारिक बन्धनमा बाँधिएका हौं।’ 

आँखामा दृष्टि नभएपछि राजन खाना पकाउने, भाँडा माझ्ने, संगीतकक्षा सजावट, सरसफाइलगायतका काम आफैँ गर्न सक्छन् । स्नातकपछि दुई वर्षसम्म काठमाडौंमा श्रुति संगीत विद्यालयमा अध्यापन गराएका पुर्बेली २०७० सालमा परिवारसहित दिक्तेल आएका हुन्। 

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका भक्त विश्वकर्मा र उनकी पत्नी वेदना राई दुवै दृष्टिविहीन हुन् । एक छोरी र एक छोराको आमाबाबु बनिसकेका भक्त र वेदनाको जीवनी पनि अन्यको भन्दा कम छैन । एकले अर्काको हात समाएर गन्तव्यमा पुग्छन्, एकले अर्कालाई पलपलमा साथ दिन्छन् । शारिरीक रुपमा अपांगता भएको अनुभूति कमै देखिन्छ उनीहरुमा । बाँझेच्यानडाँडाकी वेदनासँग दिक्तेलमा सँगै अध्ययन गर्ने क्रममा सुरु भएको प्रेमलाई भक्तले घरजममा परिणत गरेका हुन् । भक्त पनि पुर्बेली सरगम संगीत विद्यालयमा वाद्यवादनको काम गर्छन् । सेतो छडी र एक अर्काको भरमा दृष्टिविहीन दम्पतिहरु आफ्नो र बालबच्चाको भविष्य खोजिरहेका छन्। 

प्रकाशित: २० फाल्गुन २०७४ ०३:४३ आइतबार

आँखाको ज्योतिले रोकेन सफल दाम्पत्यलाई