२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

हुम्लामा ‘चाइनिज रक्सी’ छ्यापछ्याप्ती

अवैध रुपमा हुम्लाको सिमकोटमा ल्याइएको चाइनिज रक्सी। तस्बिर : गोविन्द केसी/नागरिक

हिल्सा र टाँके नाका हुँदै अवैध रुपमा ल्याइएका ‘चाइनिज रक्सी’ हुम्ला सदरमुकाम लगायत विभिन्न पालिकामा छ्यापछ्याप्ती पाइने गरेको छ।

स्थानीय व्यवसायीहरूले खुलेआम चाइनिज रक्सी बिक्री गर्ने गरेका छन्। एक बोतलको नेपाली २ सय ५० देखि माथि पर्ने चाइनिज रक्सी हिमाली भेकतिर पसलपिच्छे बिक्री हुने गरेकाे छ।

‘नाकाबाट खुलेआम रक्सी आउँछ।’ सिमकोटका एक व्यवसायीले भने, हामीलाई यो रक्सीको माग भएकाले बिक्रीका लागि राख्ने गर्दछौँ।’

नेपाली रक्सीभन्दा सस्तो पर्ने भएकाले पनि हुम्लामा अवैध चाइनिज रक्सी बढी बिक्री हुने गर्दछ। भ्याट तिरेर जहाज मार्फत ल्याइएका रक्सी महँगो हुने भएकाले स्थानीयहरुले चाइनिज रक्सी बढी प्रयोग गर्ने गर्दछन्।

हिल्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बस्ने भएपनि अर्को टाँके नाकामा प्रहरी बस्दैनन्। हिल्सा र टाँके दुवै नाकाबाट मदिरा नेपाल ल्याउने गरेको पाइएको छ।

‘राजश्व नतिरेको प्रयोगमा आएकोले चाइनिज रक्सीहरु नियन्त्रण लिएका छौं।’ जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी रवीन्द्र खनालले भने, ‘गोप्य रुपमा भइरहेको किनबेच रोक्न प्रहरी लागेको छ। अहिले ८ सय कार्टुन रक्सी नियन्त्रणमा लिएको छौं।’

अहिले हिउँ पर्ने सिजन भएकाले दुवै नाका बन्द छ। हिउँ पर्नु अघि नै नाकाबाट अवैध रक्सीहरु ओसारपोसार गर्ने गिरोहले हुम्लाका बजारहरुमा रक्सी बिक्री वितरण गर्ने गरेको समेत जनाइएको छ।

प्रकाशित: २९ पुस २०८० ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App