१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

संघर्षले बनेको अन्तर्धार्मिक जोडी

नेपालगन्ज- नेपालगन्ज सल्यानी बाग निवासी पिंकी शाह र घोसिटोलका मोहम्मद सफिक बेहनाबीच २१ वर्षअघि मंगल प्रसाद माध्यामिक विद्यालयको चउरमा सामान्य चिनजान भयो। मुस्लिम समुदायका बेहना स्थानीय गौसिया माध्यामिक विद्यालयको कक्षा ८ मा पढ्थे, भने पिंकी मंगलप्रसाद माध्यामिक विद्यालयको कक्षा ८ मै पढ्थिन्। पिंकीका छिमेकमा बस्ने एक मुस्लिम समुदायका युवक बेहनाका साथी थिए। तिनै साथीले मंगलप्रसाद माध्यामिक विद्यालयको चउरमा बेहना र पिंकीबीच चिनजान गराईदिएका थिए।

 पहिलो भेटमै बेहना पिंकीसँग प्रभावित भए। ‘पिंकीसँग चिनजान भईसकेपछि मलाई उनीप्रति माया जाग्यो, तर मैले व्यक्त गर्न सकिन, किनकी माया व्यक्त गर्ने माध्यम नै केही थिएन,’ बेहना सम्झिन्छन्। बेहना दोस्रो पटक पुनः एमपी स्कुलमै पुगे। त्यतिबेला पिंकीले एउटा प्रश्न गरिन् । ‘तपाईलाई सबैभन्दा मन पर्ने हिरो कुन हो ?’ बेहनाले आफुलाई मन पर्ने हिरो बलिउडका सुनिल सेठ्ठीको नाम लिए। पिंकीले सुनिल सेठ्ठीलाई मन पर्ने भए, उनको जस्तो ज्यान बनाउनुपर्ने सुझाव दिईन्। त्यसपछि बेहना पिंकीकै सुझाव अनुसार जिम क्लबमा धाउन थाले। ‘त्यतिबेला उहाँसँग मेरो भेटघाट हुनथ्यो, तर सामान्य बोलचाल मात्रै गरिन्थ्यो, हामीबीच प्रेम सम्बन्ध बसिसकेको थिएन,’ पिंकी सम्झिन्छिन्। जब पिंकी एमपी स्कुलको कक्षा ८ मा फेल भईन्। त्यहाँ पढ्न अप्ठ्यारो मानिन्।

दुबैबीच माया यति बढीसकेको थियो कि उनीहरु छुट्टिन सम्झव थिएन। बेहना सम्झिन्छन्, ‘परिवार र समाजमा हाम्रो सम्बन्धको चर्चा चलेपछि पिंकीलाई घरबाट निस्कन दिदैनथे, तरपनि उनले आफ्नो हात काटेर उपचार गर्न अस्पताल जाने बहाना गरेर पनि मलाई भेट्ने गर्थिन् ।’

बेहनासँगै गौसिया माविमा कक्षा ९ मा पढ्ने ईच्छा व्यक्त गरिन्। बेहनालाई ‘ढुंगा खोज्दा देउता मिलेझै’ भयो। पिंकीलाई आफुले पढ्ने विद्यालयका प्रधानाध्यापकलाई भनसुन गरेर नाम लेखाईदिन सहयोग गरे। त्यसपछि दुबैले गौसियाको एउटै कक्षामा पढ्न थाले। उनीहरुबीच विस्तारै माया बढ्दै गयो। तर, दुबैले एक अर्काबीच माया गर्ने कुरा व्यक्त गर्न सकेका थिएनन् । कक्षा १० पुगिसकेपछि भने बेहनाले पिंकीलाई माया गर्ने कुरा चिठ्ठीमार्फत व्यक्त गरे। बेहनाले हातमै चिठ्ठी थमाउँदा पिंकीले कुनै प्रतिक्रिया दिईनन्।

‘एसएलसी परीक्षा चल्दै गरेको अवस्थामा मैले साथीलाई चिठ्ठी लेख्न लगाई अटो डायरीमा राखेर पिंकीलाई दिएँ, त्यसपछि एक हप्ताजति उनको नजिक जान सकेन,’ बेहनाले सम्झिदै भने ‘म फरक समुदायको भएको हुनाले मलाई डर लागेको थियो, तर मैले अनुमान गरेको भन्दा फरक परिस्थिती आयो, पिंकीले मेरो प्रस्तावलाई स्वीकार गरिन्।’ दुबैबीच बसेको माया प्रेम यति चुलियो कि परिवार र टोल छिमेकमा समेत थाहा भईसकेको थियो । ‘हामीले माया प्रेम गरेपनि स्वच्छ मनले गरेका थियौं, भेटघाट भएपछि कुराकानी हुन्थ्यो अनि छुटिन्थ्यौं,’ पिंकीले भनिन्।

दुबैबीच माया यति बढीसकेको थियो कि उनीहरु छुट्टिन सम्झव थिएन। बेहना सम्झिन्छन्, ‘परिवार र समाजमा हाम्रो सम्बन्धको चर्चा चलेपछि पिंकीलाई घरबाट निस्कन दिदैनथे, तरपनि उनले आफ्नो हात काटेर उपचार गर्न अस्पताल जाने बहाना गरेर पनि मलाई भेट्ने गर्थिन् ।’ करिव पाँच वर्षसम्म चलेको प्रेम सम्बन्धलाई उनीहरुले बिबाहमा परिणत गरे । तर, बिबाह गर्दा धेरै जटिल परिस्थिती आयो । बेहनाले पिंकीलाई बिबाहका लागी भगाएर भारत पुर्‍याए ।

भारतको मिहिपुर्वामा एक हप्ताजति राखे । त्यहाँ उनीहरु रहेको कुरा थाहा पाएर माईती पक्षले पछ्याउन थाले। ‘एकातिर माईतीले पछ्याईरहेका थिए, अर्कोतिर भारतका गुण्डाले हामीसँग पैसा असुल्न खोजे,’ बेहनाले भने ‘गुण्डाले घेरिरहेको अवस्थामा मैले चार जना गुण्डासँग एक्लै भिड्ने आँट गरे र त्यहाँबाट उम्किन सफल भयौं, त्यतिबेला जंगलमा एक हप्तासम्म खाना र पानी नखाएरै बसेका थियौं ।’ त्यहाँबाट पिंकीलाई लिएर बहराईचस्थित साथीको घरमा ल्याए र बहराईचमै मुस्लिम परम्परा र अदालती प्रक्रिया अनुसार बेहनाले बिबाह गरे। बेहनाले घर छाडेपनि माईती पक्षले उनका बुवा आमालाई प्रहरीकहाँ पुर्‍याए।

डेढ महिनापछि नेपालगन्ज आएका बेहना र पिंकीबीचको बैबाहिक सम्बन्धलाई माईती पक्षले स्वीकारे । तर, एक वर्षपछि पुनः माईती पक्षले पिंकीलाई भारतको दिल्लीस्थित आफन्त कहाँ पुर्‍याए । ‘त्यसपछि पिंकी र मेरो भेटघाट तीनवर्ष सम्म हुन पाएन, तीन वर्षसम्म पनि मैले उनी बाहेक अरुसँग बिबाह गर्ने सोच बनाइन, तीन वर्षपछि पिंकी नेपालगन्ज आएको थाहा पाएँ र भेट गरेर फेरी उनलाई भगाएँ,’ बेहना सम्झिन्छन्। पिंकीलाई भगाएर उनले दिल्लीमै एक वर्षजति राखे। त्यतै मजदुरी गरेर उनीहरु बसे। ‘मजदुरी गरेर पनि नपुग्ने भएपछि म पैसा लिन घरमा आएँ, तर दिल्लीमा रहेका पिंकीका आफन्तले उनलाई फकाएर लगिहालेछन्,’ उनी भन्छन्, ‘मैले पनि पिंकीको आफन्तको घर पत्ता लगाएर उनलाई त्यहाँबाट भगाएँ र करिव २० दिनजति बहराईचमा राखेर नेपालगन्ज ल्याएर आएँ।’

नेपालगन्ज आईसकेपछि बेहनाले आफ्नै घरमा लगेर पिंकीलाई राखे । माईतीले पटक–पटक सम्बन्ध छुटाउन प्रयास गरेपनि दुबैले एकअर्कालाई बिर्सन नसक्ने भएका कारण घरमा आएपछि भने माईती पक्षबाट कुनै समस्या भएन। त्यसपछि दुबैले ढुक्कसँग बैबाहिक जीवन अगाडी बढाए । पिंकीको कोखबाट छोरा सन्तान भएपछि भने माईतीसँगको सम्बन्ध विस्तारै सहज बन्दै गयो । करिव १० वर्षपछि माईती पक्ष कहाँ आवत–जाजत चल्न सुरु भयो । अहिले उनीहरुका जेठा छोरा समिर नद्धाब भारतको बैंगलोरमा सफ्टवेयर इन्जिनियरिङ विषय पढिरहेका छन् भने कान्छो छोरा साहिल नद्धाब पनि बैंगलोरमै कक्षा १० मा पढ्छन् । बेहनाले व्यापार व्यवसाय र राजनीतिमा आफुलाई स्थापित गराएका छन्, भने पिंकीले छोराको शिक्षादिक्षा र घरको सम्पूर्ण व्यवस्थापन गर्छिन्।

बेहना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ को वडाअध्यक्ष हुन् । पिंकीले बेहनाको हरेक काममा सहयोग गर्छिन्, भने बेहनाले उनलाई पनि पूर्णरुपले साथ दिएका छन्। ‘जीवनमा धेरै संघर्ष गरियो, अहिले व्यापार र राजनीतिलाई सँगसँगै लगेको छु, यो सबै कुरा पिंकीको साथ र सहयोगले मात्र यो सम्भव भएको हो,’ बेहना भन्छन्। आत्मैदेखी वास्तविक मायाप्रेम बसेका कारण बेहनासँगको सम्बन्ध सफल भएको पिंकी बताउँछिन्। बेहनालाई अहिले आफ्नो परिवारभन्दा बढी साथ माईती पक्षले दिन्छन्। पिंकी भन्छिन्, ‘हामी जतिबेला जंगलमा केही पनि नखाएर ७ दिनसम्म बसेका थियौं, त्यो क्षण अहिले पनि सम्झिन्छु, त्यो हो साँचो माया।’

 

प्रकाशित: २ फाल्गुन २०७४ ०८:२६ बुधबार

संघर्षले बनेको अन्तर्धार्मिक जोडी