धुलो रोक्न बाटो छेकेको ! (तस्बिर र भिडियोसहित)
काठमाडौं– एकातिर कलंकी चोकमा अण्डर पासको निर्माण, अर्कोतिर कलंकी त्रिपुरेश्वर सडक विस्तार । कलंकी माई मन्दिर क्षेत्रका बासिन्दाले सडक विस्तारको हैरानी व्योहोरेको पनि महिनौ भइसक्यो । पानी परे हिलो र घाम लागे धुलो हुने यो क्षेत्र व्यवस्थित बन्न अझै कति लाग्ने निश्चित छैन । अहिले धुलोले अत्याए पछि कलंकी माई मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारिहरुले जुक्ती निकाले । सडक विस्तार र ढल खन्दा भाँचिएको झन्डै एक लेन सडकमा ढुंगाको छेको लगाएर बाटो बन्द गरिदिए । ‘धुलो रोक्न बाटो छेकेको’ माछा राख्न प्रयोग हुने बक्समा सूचना लेखे र सडकमा राखे।
कलंकी माई मन्दिर क्षेत्रदेखि सोल्टी मोडसम्म अहिले विस्तारित सडकको सिमा बाँध्न ढुंगाको पर्खाल लगाउने र ढल ओछ्याउने काम भइरहेको छ। तर भत्काइएको सडकमा कालोपत्रे कहिले हुने हो टुंगो छैन। धुलो सँधै बुङ्ग, गाडी गुड्दा मात्र नभई साइकल गुडाउदा पनि । थानकोटसम्मकै सडकको अवस्था यस्तै देखिन्छ ।
सडक विस्तारका नाममा यो क्षेत्रमा सडक साँगुरो भइरहेको छ । सवारी चाप धेरै हुने यो क्षेत्रमा ट्राफिक प्रहरीलाई सँधैं सास्ती छ । स्थानीयले राखेको अवरोध हटाउँदै गर्दा झोंकिएका ट्राफिक प्रहरी भन्दै थिए, ‘सडक विस्तारको गुनासो गर्ने हो भने सडक विभाग जानुस्, बाटो छेक्न मिल्दैन।’