१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हात्तीपाईले विरुद्धको औषधी खुवाइने

हात्तीपाइले रोग निवारण विरुद्धको जिल्लास्तरीय समन्वय समितिको बैठकमा अन्र्तक्रिया गर्दै समितिका पदाधिकारीहरु । तस्वीर : किसान संगीत ।

लमजुङ –  आउँदो फागुन १२ देखि १४ गतेसम्म यहाँका साँढे एक लाख नागरिकलाई हात्तीपाइले अर्थात् फाइलेरिया रोग विरुद्धको औषधी खुवाइने भएको छ । भर्खरै जन्मेका देखि २ वर्ष माथिकालाई हात्तीपाइले रोग विरुद्धको डाईथाइलकार्बामाजिन (डीइसी) र जुकाको औषधी अल्वेन्डाजोल खुवाउने तयारी भईरहेको छ ।

सो कार्यका लागि ४ सय १६ जना स्वास्थ्यकर्मी र १ हजार १ सय ५५ जना स्वयंसेवक खटिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत वर्ष १ लाख २० हजार ८ सय ६ जनालाई औषधी खुवाइएकोमा अहिले १ लाख ५८ हजार ८ सय ८४ जनालाई खुवाउने लक्ष्य लिईएको वरिष्ठ जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईं बताउँछन् । औषधी खुवाउने कार्यलाई प्रभावकारी बनाउन विभिन्न कार्यको तालिका समेत निर्माण गरिएको जनाईएको छ । फागुन १२ गते प्रत्येक टोल र पायक पर्ने स्थानमा औषधी खुवाइने अनि १३ र १४ गते घरदैलो गरी औषधी खुवाउने कार्यक्रम तय गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

दुईवर्ष मुनिका केटाकेटी, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो, मृगौला, फोक्सोका दीर्घबिमारी, छारे रोग, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका बालवालिकालाई सो औषधी नखुवाईने जनाईएको छ । यस्तै, ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई राम्रोसंग स्वास्थ्य जा“च गरेरमात्रै खुवाउनुपर्ने उनीहरुको भनाई छ । हात्तीपाइले रोग विरुद्धको औषधी पूर्णरुपमा सुरक्षित भएकाले सामान्य रिंगटा लागेमा आत्तिहाल्न नहुने स्वास्थ्यकर्मी बताउँछन् । हात्तीपाइले रोगको लक्षण देखिन लागेका व्यक्तिमा सामान्य रिंगटा लाग्ने समस्या देखिने र केही नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।

क्यूलेक्स जातिको लामखुट्टेले हात्तीपाइले रोग लागेका मान्छेलाई  टोकेपछि उक्त लामखुट्टेले निरोगी मान्छेलाई टोकेमा हात्तीपाइले रोग लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । हात्तीपाइले रोग लागेका ब्यक्तिमा ज्वरो आउने, लिम्फ नलीहरु सुन्निने, पुरुषमा अण्डकोष वरपरका नसाहरु फूल्ने, दुख्ने, महिलामा यौनअंग सुन्निने, खुट्टा सुन्निएर हात्तीपाइले÷फाइलेरिया हुने, पिसाव धमिलो दूधदही जस्तो वाक्लो हुने लक्षण देखा पर्ने स्वास्थ्यकर्मीको भनाई छ । यसवाट बच्न लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्नुपर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयले यसबारे कार्यक्रम तय गरी केहीदिन अघि भएको हात्तीपाइले रोग निवारण विरुद्धको जिल्लास्तरीय समन्वय समितिको बैठकमा पेश गरेको थियो । कार्यक्रम अन्तर्गत माघ २५ गते जिल्लास्तरीय योजना तर्जुमा तथा समीक्षा गोष्ठी, २६ गते स्वास्थ्यकर्मीका लागि गोष्ठी, माघ २७ देखि फागुन १ गतेसम्म स्वास्थ्यकर्मीका लागि अभिमूखिकरण, ३ गते जिल्लास्तरीय जनचेतना अभिबृद्धि अन्तरक्रिया कार्यक्रम, ४ गते पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम, ४ गते नै नगरपालिकास्तरीय जनचेतना अभिबृद्धि कार्यक्रम, ४ देखि १४ गतेसम्म पत्रपत्रिका, एफएम रेडियो तथा टिभीबाट सूचना प्रसारण, ५ देखि ७ गतेसम्म वडास्तरीय जनचेतना अभिबृद्धि कार्यक्रम, फागुन ७  देखि ९ गतेसम्म १ स्वयंसेवकका लागि १ दिन अभिमूखिकरण कार्यक्रम, ९ गतेदेखि १३ गतेसम्म माइकिङ, फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधी खुवाई फागुन २० गतेसम्म प्रतिवेदन संकलन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज मैनालीको अध्यक्षतामा भएको जिल्लास्तरीय समन्वय समितिको बैठकमा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल, जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद क“डेल, महिला तथा बालबालिका अधिकृत विष्णुमाया पौडेल, प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्ट, जिल्ला जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाइ“, लमजुङ जिल्ला सामुदायिक अस्पतालका डाक्टर हिक्मत भण्डारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति नारायणप्रसाद घिमिरे, एमाले प्रतिनिधि सुभाष पौडेल, कांग्रेस प्रतिनिधि नाराइनबहादुर सुयेल, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक मनोजसिंह बोहोराले गरेका थिए ।
 
 

प्रकाशित: २५ माघ २०७४ ०४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App