जुम्ला – जुम्लाबाट प्रतिनिधी सभा सदस्य निर्वाचित गजेन्द्रबहादुर महत ईन्जीनियर ल्याएर यहाँका नदिनालामा विद्युतको सर्भे गर्न व्यस्त छन्। उनलाई पानीको स्पिड र विद्युत गृह निर्माण गर्ने स्थान हेर्दै ठिक्क छ। विद्युतलाई आखाँको ज्योति सरह हेर्दै आएका छन्।
सांसद नहुँदै समग्र जिल्लाको अन्धकार हटाउने योजना बुनेका उनले गतिलो अवसर पाउन सकेका थिएनन। पटक पटक बृहत विद्युत निर्माणका लागि बुनेका योजना पुरा हुन सकेका थिएनन। उनले भने, ‘यो पटक विकास निर्माणकै लागि मतदाता कहाँ पुगेर भोट मागेको छु, पहिलोपटक विद्युत निर्माण कार्यलाई अघि बढाउदै लगेको छु।’
प्रतिनिधी सभा सदस्य निर्वाचित भइसकेपछि उनको सपना भनेकै जुम्लालाई विद्युतमय बनाउने छ। समग्र जिल्लाको विकास विद्युत र सडक विस्तारमै अड्कीएको उनी बताउँछन। उनले भने, ‘पहिलो प्राथमिकता विद्युत हो, सडक विस्तारको कार्यलाई संगसंगै लिएर अघि बढ्छु।’
‘जिल्लाका १८ हजार घरधुरीमध्ये अधिकांश घरमा विजुली आउदैन। जंगलबाट ल्याएको दियालोको भरमा जीवन गुजारीरहेका छन,’ उनले अगाडि भने, ‘अबको दुई वर्षमै प्रत्येक घरमा पुग्ने गरि वत्ती निकाल्ने प्रक्रिया शुरु भइसकेको छ।’
डेढ हप्ताअघि काठमाडौंबाट ईन्जिनियर पठाएर गिडिखोलाको खोलामा वत्तीको सर्भे भएको थियो। यो समयमा उनी आफैले विद्युतको ईन्जीनियर ल्याएर विद्युतको सर्भे गराउँदैछन।
‘तत्काल १ मेगावाट विद्युत उत्पादनमा जोड दिइएको छ,’ उनले भने, त्यहाँबाट उत्पादित विजुली जुम्लावासीलाई वितरण गरेर छिमेकी जिल्ला पुर्याउने पहल भइरहेको छ ।’
सर्भेको लागि तिला गाउँपालिकाले सहयोग गरेको छ। सांसद महतले निर्वाचन पुर्वाधार विकास कार्यक्रमको सबै रकम विद्युतमै खर्चिने बताए।
उनले गाउँमा मर्मत गर्न सकिने विद्युत गृहको मर्मत गरेर तत्कालको आवश्यकता पुरा गर्न सकिनेमा जोड दिए। उनले क्रण निकालेर भएपनि विद्युत निर्माणको काम सम्पन्न गरेरै छाड्ने बताए ।
अहिले अस्पतालमा विद्युत नहुदा ठुलठुला शल्याक्रिया गर्न जेनरेटर चलाउनु परेको छ। वत्ती अभावकै कारण स्याउ प्रशोधन उद्योगले समयमै आफ्नो उत्पादन बजारसम्म पुर्याउन सकेका छैनन्। विद्युत आपूर्तिको अवस्था कमजोर हुँदा बैकिङ सेवा प्रभावकारी बन्न सकेका छैनन। यहाँस्थित विद्युतीय तथा छापा सञ्चार माध्यम समयमै प्रकाशित हुन सकेका छैनन। फोटोकपी, फयाक्स र ईन्टरनेट चलाउन महंगो महशुल तिर्नु परेको छ।
विद्युत निर्माणका विषयमा प्रदेश सांसद र प्रत्येक स्थानीय तहसंग परामर्श गरेर अघि वढ्ने सांसद महतले बताए। तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी सांसदको उज्यालो सपना साकार पार्न गाउँपालिकाले पनि सहयोग गरेको बताए।
प्रकाशित: १७ माघ २०७४ १५:०४ बुधबार