२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

एमबिबिएस भर्नामा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीद्वारा विरोध

काठमाडौँ (रासस)- एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन्।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका निजी मेडिकल कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा थप शुल्क लिएको विरोधमा आज माइतीघर मण्डलामा विद्यार्थीले विरोध र्‍याली निकालेका छन्।

विद्यार्थीले ‘हाम्रा राम्रा दिन फर्कन दिनुहोस्, हामी विद्यार्थी हौँ, बैंक होइनौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका थिए। आइओएम क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा सो विरोध र्‍याली निकालिएको थियो।

सो अवसरमा विद्यार्थीले वार्षिक शुल्क, सुरक्षा शुल्क, इन्टरनसीप शुल्कलगायतका शीर्षकमा अतिरिक्त शुल्क असुली गरी विद्यार्थीलाई मनि बैंकका रुपमा प्रयोग गरिरहेको आरोप लगाएका थिए।

आइओएमका स्ववियु सभापति डा मिलन गैरेले सरकारले निर्धारण गरेकै शुल्कमा नै अन्य शीर्षकका शुल्क समेटिए पनि निजी कलेजले विद्यार्थीसँग विभिन्न शीर्षक थप गरी रकम लिइरहेको आरोप लगाए।

कलेजले अतिरिक्त शुल्क लिइरहेको गुनासो आएपछि आइतबार (आइओएम) ले सूचना जारी गर्दै बढी शुल्क नलिन कलेजलाई ध्यानाकर्षण गराएको छ। आइओएमद्वारा जारी सूचनामा बढी शुल्क नतिर्न अभिभावक, विद्यार्थीलाई समेत आग्रह गरिएको छ।

सूचना जारी गर्दै आइओएमको डीन कार्यालयले निजी कलेजले अतिरिक्त शुल्क लिन पाउने शीर्षक तोक्दै परीक्षा शुल्क, छात्राबास शुल्क र खाना शुल्कमा मात्र थप शुल्क लिन पाउने स्पष्ट पारेको छ। अहिले आइओएमअन्तर्गतका मेडिकल कलेजमा एमबिबिएस भर्ना चलिरहेकाले कलेजले तोकिएकोभन्दा बढी शुल्क लिइ भर्ना लिइरहेको गुनासो बढेको छ।

सरकारले विद्यार्थीसँग उपत्यकाभित्रका मेडिकल कलेजमा रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार लिन पाउने व्यवस्था गरेको छ। आइओएमले सरकारले तोकेको रकममा माथि उल्लेखित तीन शीर्षकबाहेक अन्य शीर्षकमा थप रकम नतिर्न विद्यार्थी र अभिभावकलाई सचेत गराएको हो।

यसैबीच सोलिडारिटी फर डा केसी अलाइन्सले पनि विज्ञप्ति जारी गर्दै ठगी गर्ने मेडिकल कलेजलाई कालोबजारी तथा ठगी मुद्दामा तत्काल कारबाही अघि बढाउन हामी सम्बन्धित निकायसँग माग गरेको जनाएको छ।
 

 

प्रकाशित: १५ माघ २०७४ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App