१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सिसी क्यामेराबाट निगरानी गरिंदै छ धार्चेको माछिखोला बजार

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालिएको छ। गाँउपालिकाको केन्द्र रहेको माछिखोला बजारमा शुक्रबारदेखि सिसी क्यामेरा जडान गरी निगरानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए।

‘‘माछिखोलामा बजार क्षेत्र विस्तारसँगै सुरक्षाको चुनौती बढेकाले बजारमा सिसी क्यामेरा  जडान गरिएको छ,” उनले भने, ‘‘थोरै सुरक्षाकर्मी रहेकाले बजार सुरक्षित राख्न माछिखोला बजारसहित आसपासका सात ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ।” 

अहिले जडान गरिएका क्षेत्रबाहेक आवश्यकता अनुसार अझै बजार क्षेत्रमा क्यामेरा थप गर्दै लैजाने अध्यक्ष गुरुङले बताए।

अहिले बसपार्क क्षेत्रमा दुई वटा, रेसेखोला क्षेत्र, जनजागृति स्कुल तथा सो क्षेत्रमा रहेको बजार समेटिने गरी तीनवटा क्यामेरा जडान गरिएको छ।

त्यस्तै गाउँपालिका भवन क्षेत्रको उत्तर दक्षिण बजार समेट्ने गरी दुई र तल्लो बजार क्षेत्रमा एउटाका साथै पालिका कार्यालयभित्र थप  चार वटा क्यामेरा जडान गरिएको छ।

जडान गरिएका सिसी क्यामेरा रातको समयमा समेत स्पस्ट देख्न सकिने क्षमताको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए।

“माछिखोला बजार क्षेत्रको सुरक्षाका लागि जडान गरिएको क्यामेरा चौविसै घण्टा सञ्चालनमा आउनेछन्”, उनले भने, ‘‘रातदिन सञ्चालन गर्न विद्युतको समस्या नहोस् भनेर सोलारसहित क्यामेरा जडान गरिएको छ। जडान भएका सातवटा क्यामेराले बजार क्षेत्रको सहजै अनुमगन गर्न सकिन्छ।”

क्यामेरा जडानका लागि करिब पाँच लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ३ पुस २०८० ०७:३६ मंगलबार

धार्चेको माछिखोला सिसी क्यामेराबाट निगरानी