कानुन पालना गराउने प्रहरी र सुरक्षा तथा कानुनका सञ्चारकर्मीका लागि २०७४ माघ २ सरप्राइज बोकेर आयो । यो सरप्राइज काठमाडौंका चल्तीका दुई गुण्डा नाइकेका लागि समेत सरप्राइज नै थियो । एक थिए– दीपक मनाङे, अर्का चक्रे मिलन ।
सरप्राइजकर्ता बन्यो सर्वोच्च अदालत । जसको सरप्राइजले प्रदेश सांसद दीपक गुरुङ उर्फ मनाङे एकाएक गुण्डा नाइकेकै हैसियतमा फर्किए । जसको प्रभाव तत्काल देखियो । प्रदेश नम्बर ४ को संसद् भवन जाने उनको बाटो बीचैमा मोडियो । प्रदेश सांसदको परिचय अपराधीमा बदलियो । प्रदेशका सबै सांसद सपथ खाएर कार्यभार सम्हाल्ने तयारी गरिरहँदा उनी भने भूमिगत हुनुपरेको छ ।
राजनीतिक यात्रा
- ०४७ देखि ०६८: कहिले राप्रपा कहिले कांग्रेस
- ०६८: संघीय समाजवादी पार्टी प्रवेश
- ०७३ पुस २८: राप्रपा प्रवेश
- ०७४ असोज : एमालेमा प्रवेश
- ०७४ कात्तिक: स्वतन्त्र उम्मेदवार
- ०७४ मंसिर: एमालेको साथले प्रदेश सभा निर्वाचित
उनको बाटो मोड्ने घटना घटेको थियो, २०६१ मा । त्यसबेला उनी काठमाडौंमा प्रभाव जमाउँदै थिए । चक्रपथमा रहेर प्रभाव विस्तारमा लागेका चक्रे मिलनसँगको दुस्मनी भिडन्तमा बद्लिँदा उनी हत्या प्रयासको अभियुक्त बन्न पुगे ।
बिहीवार नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा संवाददाताको प्रश्नको जवाफ दिंदै अध्यक्ष केपी अोलीले अाफूले दिपक मनाङेलाई नचिन्ने बताएका थिए । उनले दिपक मनाङे अाफ्नो पार्टीको नभइ स्वतन्त्र उम्मेदवार रहेको बताए ।
उनले तात्कालीन प्रतिस्पर्धी मिलन गुरुङ उर्फ चक्रे मिलनलाई खुँडा प्रहार गरेका थिए । उनले गरेको हत्या प्रयासलाई १० वर्षअघि नै अदालतले दोषी प्रमाणित गरिसकेको थियो । तर प्रहरी–प्रशासनसँग सेटिङ गर्दै उनी निर्दोषझैँ खुल्लमखुल्ला हिँडिरहेका थिए । त्यही पुरानो फैसला सर्वोच्चले माघ २ मा सतहमा ल्याइदियो ।
बाटो मोडाउने त्यो घटना
२०७४ माघमा जुन सजायको पोल खुल्यो, त्यो रोपिएको थियो २०६१ वैशाख ३१ मा । पछिल्लो समय चक्रे मिलन र दीपक मनाङेले एकै प्रहरी हिरासतमा बास बसे पनि त्यो यी दुवै एकअर्काको कट्टर दुस्मन थिए ।
जहाँ भेट भयो त्यहीँ एकअर्काको हत्या गर्नसमेत उनीहरु पछि नपर्ने अवस्था थियो । पानीपोखरीकोे चुफाङ रेस्टुरेन्टमा साथीहरुसँग बसेको मौका छोपेर होटल छिरेका हेलमेटधारी एक हुल केटाहरुको आक्रमणमा पर्दा चक्रे गम्भीर घाइते भए । उनको देब्रे हात नै छिनालियो । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि उनको हात जोडियो ।
मनाङेसँगै तात्कालीन टोलेगुण्डा रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाविरुद्ध उजुरी पर्यो र २०६१ चैत १८ मा मनाङे पक्राउ परे । उनी दोषी ठहर पनि भए तर हत्या प्रयासमा नभई कुटपिटमा । काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार उनी २ वर्ष कैद बसेर २०६३ माघ २८ मा मुक्त भए । त्यसयता उनी यो मुद्दामा जोडिएनन् । उनले मुद्दा सकिएको बताइरहे र सरोकारवाला निकायले पत्याइरहे ।
आपराधिक यात्रा
- ०५९ भदौ: धनमाल डाका मुद्दा
- ०६० पुस : सार्वजनिक अपराध
- ०६० चैत : सार्वजनिक अपराध
- २०६१ वैशाख : खुकुरी हानेर हत्या प्रयास
- ०६३ फागुन : गोली हानेर हत्या प्रयास
- ०६५ माघ : कुटपिटमा एक वर्ष कैद
- ०६८ जेठ : कुटपिट
- ०६९ चैत: ठगी
- ०७० जेठ ५: अवैध सम्पत्ति
- ०७३ असार : संगठित अपराध
- ०७४ वैशाख: सार्वजनिक अपराध
तर, यो सब भ्रम रहेको त्यतिबेला खुल्यो जब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालतमा तात्कालीन जिल्ला सरकारी वकिलको कार्यालयले हालेको पुनरावेदन निवेदनका आधारमा जिल्लाको फैसला उल्टिएर २०६४ मा मनाङेविरुद्ध हत्या प्रयासमा ५ वर्ष कैद सजाय सुनाइएको थियो । उनका सहयोगीले सफाइ पाएको सो मुद्दामा उनी दोषी ठहर भएको तथ्य गुपचुप रह्यो । उनी यस विषयमा मौन बसे भने अदालत र प्रहरीसमेत गुपचुप रहे ।
उनका सहयोगीलाई सफाइ दिने पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्चमा पुगेको निवेदनमाथि फैसला गर्दै जिल्लाकै फैसला सदर गर्ने माघ ४ मा आएको सर्वोच्चको फैसलाले उनको पोल खुलाएको हो ।
अचम्म के भने, सर्वोच्चले मनाङेबारे केही बोलेको थिएन । गणेश लामासहित चार जनाबारे मात्र बोलेको थियो । सो मुद्दामा मनाङेसमेत जोडिएको गाइगुइँसँगै खोज्दा उनी सोही मुद्दामा तीन वर्ष अझै जेल बस्नुपर्ने दोषी रहेको खुल्यो ।
छक्क पार्ने सेटिङ
मनाङे दोषी ठहर भए पनि उनको खोजी भने माघ ७ बाट मात्रै सुरु भयो । सर्वोच्चको फैसलासँगै मनाङेको पोल खुलेपछि मात्रै काठमाडौं जिल्ला अदालतले तात्कालीन पुनरावेदन अदालतको फैसला अनुसारको लगत माघ ७ मा कसेपछि प्रहरी उनको खोजीमा जुटेको थियो । यसपछि मात्र मनाङे कानुनी रुपमा फरार दोषीमा दर्ज भए ।
अदालतको प्रशासन र प्रहरीको पोल खुलेपछि बल्ल केन्द्रदेखि जिल्ला तहका प्रहरी मनाङेको खोजीमा खटियो । मनाङेलाई पहिला कसले पक्राउ गर्ने अहिले प्रतिस्पर्धा चलेको छ, प्रहरीमाझ ।
‘मनाङेबारे बुझ्दा उनी हत्या प्रयासको मुद्दामा कैद सजाय काट्न बाँकी दोषी रहेको अदालतबाट जानकारी पाएपछि खोजी सुरु गरेका छौं,’ मनाङेको खोजीमा खटिएको सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले भने ।
१० वर्षसम्म मनाङेको वास्तविकता लुक्नु संयोग देखिदैन । पुनरावेदनमा फैसलाबारे जानकारी दिन जिल्लाको नाममा पत्र काटेको देखिनु तर जिल्लामा त्यसको लगत नचढ्नु अनि प्रहरीले मनाङेको मुद्दाबारे चासो नराख्नु संयोग हैन, सेटिङ हो भन्ने घटनाक्रमले नै देखाउँछ ।
चार सरप्राइज जो काम लागेनन्
२०७४ को उनको पहिलो सरप्राइज थियो, सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा कालो भनिएको उनको १३ करोड सम्पत्ति विशेषको फैसलाबाट सेतो हुनु ।
विभाग र ब्युरोले चक्रे मिलन, गणेश लामा, अभिषेक गिरी, पर्शुराम बस्नेतसँगै मनाङेको सम्पत्तिको स्रोतको अनुसन्धान गरेर खुलेको १३ करोडको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो । अन्यको मुद्दा विचाराधीन नै हुँदा उनले सफाइ पाएका थिए ।
विशेषको सफाइसँगै दोस्रो सरप्राइज आयो, उनको एमाले यात्रा । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र थरुहटहुँदै राप्रपामै फर्किएका उनलाई एमालेले एकाएक स्वागत गर्यो प्रदेश सभा निर्वाचन अगाडि ।
राप्रपाबाट मनाङ जिल्ला अध्यक्ष भएका उनी दलबलसहित एमाले प्रवेश गरे । एमालेले उनलाई सदस्यमा मात्रै खुम्च्याउन चाहेन । प्रदेश सांसद बनाउने तयारी गर्यो । एमालेले तेस्रो सरप्राइज दियोे मनाङ प्रदेश (ख) बाट उम्मेदवार सिफारिस गरेर ।
गुण्डाको न्यानो स्वागत भन्दै आलोचना बढेपछि टिकट खण्डा लामाको हातमा पुगे पनि अन्त्यमा एमालेले आधिकारिक उम्मेदवारको उम्मेदवारी फिर्ता गराएर स्वतन्त्र उम्मेदवार बनेका मनाङेलाई साथ दियो । मनाङका मतदाताले जिताइदिएर माननीय बनाइदिए ।
तर जीवन एकै रेखामा मात्र कहाँ हिड्छ र ? माननीयको प्रमाणपत्र पाएसँगै मनाङेको यात्राले वक्र रेखा समात्यो । सर्वोच्चको सरप्राइजले माननीयबाट पुरानै पहिचानमा फर्कायो–गुण्डा नाइके ।
प्रकाशित: १२ माघ २०७४ ०७:११ शुक्रबार