रक्तदान, श्रमदान लगायत विभिन्न माध्यमबाट सामाजिक काममा सहयोग पुराउँदै आएका धोविघाटका महिला समूहले धार्मिक कामको माध्यमबाट समेत उक्त कार्यलाई प्रभावकारी बनाउँदै छन्। सामाजिक विकाशमा सहयोग पुराउन उदेश्यकासाथ इकुहिटी महिला समूह तथा इकुहिटी ढुंगेधारा संरक्षण समितिको आयोजनामा १९ गतेबाट आयोजना भएको सप्ताह महापुराण सोमबार सम्पन्न भएको छ।
‘धर्मको माध्यमबाट पनि समाजमा केही गरौँ भन्ने हाम्रो चाहना हो,’ सप्ताह महापुराणकी संयोजक गीता केसीले भनिन्, ‘समाजबाट सहयोग मिलेका कारण हामी थप उत्साही भएका छौ।’ धार्मिक कार्यबाट भएको आम्दानी पारदर्शिढंगबाट समाजकै लागि खर्चिने उनले सुनाइन्।
कथा वाचनमा रहेका पण्डित दिनबन्धु पोखरेलले पवित्र उदेश्यका लागि यहाँका महिलाले आयोजना गरेको सप्ताहमा वाचन गर्न पाउँदा खुसी मिलेको बताए। धर्मको माध्यमबाट सामाजिक परिवर्तनको भूमिका निभाउँदै आएका पोखरेलले यस्ता कार्यले समाज जोड्ने बताए। ‘धर्मसँगै विकाशका काम हुने गरेको छ,’ उनले भने, ‘यसले धर्म र समाज दुवैको भलो हुने छ।’
पुराण सुन्न स्थानीय बृद्धबृद्धा तथा बालबालिकाको बाक्लो उपस्थिति थियो। स्वास्थ्य उपचारको समेत व्यवस्था भएको उक्त पुराणमा धेरै भक्तालुले सहयोग गरेका थिए। ‘जम्मा भएको रकम आवश्यकता अनुसार खर्चिने छ,’ केसीले भनिन्, ‘यसबाट सबैको भलो हुने छ।’
२०६६ सालमा स्थापित उक्त संस्थाले विभिन्न सामाजिक काममा योगदान पुराएको छ। वडा नम्बर ४ मा स्थापित यो समूहले वडामा रहेका अन्य १८ समूहमा चार पटक उत्कृष्ट बनेको संयोजक केसीले जानकारी दिइन्। ‘महिला समूह मिटिङ मात्र बस्छ भन्ने मान्यता तोड्न पनि हामी अगाडी बढेका हौ,’ उनले भनिन्, ‘राज्यले नदेखेका व्यक्ति र समस्यालाई थोरै भएपनि सहयोग गर्ने हाम्रो चाहना हो।’
प्रकाशित: २५ मंसिर २०८० ०८:०६ सोमबार