१४ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

प्लास्टिकका मालाले ढाकियो तौलिहवा बजार

तौलिहवा बजारमा बिक्रीकालागि राखिएको प्लाष्टिकको माला तस्बिर: किरणमान बज्राचार्य/नागरिक

तिहारको बेला मखमली, सयपत्री, गोदावरी फूलको प्रयोग गर्ने चलन विस्तारै हराउँदै गएको छ। विगत केही वर्ष यता तिहारमा कृत्रिम फूल र मालाको प्रयोग गर्ने चलन बढेको छ।

सदरमुकाम तौलिहवा बजार अहिले पुरै कृत्रिम फूल र मालाले ढाकिएको छ। ब्यापारीहरुले तिहारलाई लक्षित गरी थरीथरीका कृत्रिम फूल माला आफनो पसलमा सजाएर बिक्रीका लागि राखेका छन्।

कपिलवस्तुको बाणगंगा र शिवपुर नगरपालिकाका केही युवाहरुले केही वर्षदेखि ब्यवसायिक फूलखेती गदै आएका छन्। तर जिल्लाको दक्षिणी क्षेत्रमा भने उपभोक्ताहरु कृत्रिम फूल तर्फ आकर्षित भएका छन। मखमली र सयपत्री फूल पाइन छाडे पछि यहाँका बजारमा प्लास्टिकका मालाको ब्यापार बढेको ब्यापारीहरु बताउँछन। केही वर्षयता देखि मखमली र सयपत्री फूलको अभाव भए पछि प्लास्टिकको मालाको मागमा भारी वृद्धि भएको हो। तिहारलाई लक्षीत गरी ब्यापारीहरुले रंगीचंगी प्लास्टीकका माला भारतबाट ल्याएका छन्। तौहिलवा, चार नम्बर कृष्णनगर, चन्द्रौटा लगायतका बजार तथा जिल्लाका विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजारमा रंगीचंगी प्लाटिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन्। पुरै बजार मालाले सिंगारिएका छन्। ब्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा मालाहरु सजाएर राखेका छन्।

तौहिलवा हाट बजारका ब्यापारी लल्लु गूप्ताले बजारमा मखमली र सयपत्री फूल आउनै छाडे पछि केही वर्ष यतादेखि प्लास्टिकका मालाहरु प्रति ग्राहक आकर्षित भएको बताए। रक्षा बन्धन पछि तिहारमा माला सबै भन्दा बढी बिक्री हुने भएकाले आफूले भारतबाट माल ल्याएको गुप्ताले बताए। पाँच रुपैयाँदेखि साढे ४ सय सम्मका माला बिक्रीका लागि राखेको भन्दै उनले  तिहारमा एक लाख बढीको माला बिक्री हुने बताए। तौहिलवाका ब्यापारी बृजेश भटराले मखमली फूल नपाए पनि सयपत्री भारतबाट आयात गरी ल्याएको बताए। उनले बजारमा मखमली र सयपत्री फूल पाउन छाडे पछि केही वर्ष यता ग्राहकहरुले प्लाष्टिककै माला किन्ने गरेको बताए। प्रत्येक माला ब्यापारीले न्युनतम ५० हजारदेखि एक लाखसम्म कारोवार हुने बताएका छन्।

कपिलवस्तु नगरपाकिला– १ की मोनिका गुप्ताले मखमली फूल पाउन छाडे पछि बाध्य भएर प्लास्टिकको माला किनेको बताइन्। ‘पहिला घर, टोल छिमेकी जताततै फुल पाइन्थ्यो तर अहिले फुलहरु देखिनै छाड्यो’ उनले भनिन। तौलिहवा बजारमा सयपत्रीको फुल पाउनै मुस्लिम रहेको उनले बताइन्। जिल्लामा सामान्य रुपमा एक दुई जना बाहेक अरुले ब्यवसायिक फूलखेती नगरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। भारतबाट आयातित यी फूलका कारण वार्षिक रुपमा लाखौ रुपैया विदेशीने गरेको उद्योग बाणिज्य संघका सचिव अर्जुन चापागाइले बताए।  जिल्लामा ब्यवसायिक फूल खेती र  प्लास्टिकको माला बनाउने उद्योग स्वादेश मै खोलिनु पर्ने उनी बताउँछन्।  

प्रकाशित: २८ कार्तिक २०८० ०८:३८ मंगलबार

प्लास्टिकका माला